१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीका बर्थिङ सेन्टरबाट धमाधम गर्भवती रेफर

एसबिए जनशक्ति कतै भरिभराउ कतै रित्तै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:o१:oo

सरकारले मातृशिशु मृत्युदरलाई न्यूनीकरण गर्न विभिन्न स्वास्थ्य संस्थाहरूमा लाखौँ खर्च गरेर सुरक्षित प्रसूति कक्ष अर्थात् बर्थिङ सेन्टर सञ्चालन गरिरहेको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै गुल्मीमा बर्थिङ सेन्टर छन् । जिल्लाका एक सय ३६ स्वास्थ्य संस्थामध्ये विभिन्न ६६ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर छन् । जसका लागि भौतिक संरचना र जनशक्तिमा थुप्रै खर्च हुने गर्दछ । पहाडी जिल्लामा कम्तीमा १५ प्रसूति हुनुपर्छ । तर, जिल्लाका १९ स्वास्थ्य सस्थाका बर्थिङ सेन्टरले १५ जना पुर्‍याउँदैनन् । 

गुल्मी जिल्लाका बर्थिङ सेन्टरबाट गर्भवती महिला प्रसूतिका लागि धमाधम रेफर हुने गरेको तथ्यांक स्वास्थ्य कार्यालय गुल्मीले सार्वजनिक गरेको छ। स्वास्थ्य कार्यालय गुल्मीका अनुसार गत वर्ष ६ हप्तामा खोप लगाउन स्वास्थ्य संस्था आउने बच्चाको संख्या चार हजार ९६ रहेको छ । तर, बर्थिङ सेन्टरबाट प्रसूति गराएकाहरूको संख्या एक हजार सात सय ५८ मात्रै छ । यो तथ्यांक हेर्दा दुई हजार तीन सय ३८ जना गर्भवती महिला प्रसूतिका लागि बर्थिङ सेन्टरबाट बाहिर रेफर हुने गरेका छन् । 

एसबिए व्यवस्थापनमा कमजोरी
यो आर्थिक वर्षमा सबैभन्दा बढी इस्मा गाउँपालिका– ३ को दर्लामचौर स्वास्थ्यचौकी बर्थिङ सेन्टरबाट सातवटा प्रसूति हुँदा २७ जना गर्भवती रेफर भएका छन् । अहिले दर्लामचौर स्वास्थ्यचौकीमा एसबिए तालिमप्राप्त दक्ष प्रसूतिकर्मी छैनन्। तर, इस्माकै छल्दीटारी आधारभूत स्वास्थ्य केन्द्रमा दुईजना एसबिए कार्यरत छन् । 

यो आर्थिक वर्षमा छल्दीटारीबाट तीनवटा प्रसूति भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए । आचार्यका अनुसार धुर्कोट गाउँपालिका– ७ को वाग्ला स्वास्थ्यचौकीमा एउटा पनि एसबिए जनशक्ति छैनन् । तर, वडा नम्बर ५ को वस्तु स्वास्थ्यचौकीमा तीनजना एसबिए जनशक्ति छन् । सत्यवती गाउँपालिकाको जुहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सातजना एसबिए कार्यरत छन् । तर, सोही पालिकाकै हँसरा स्वास्थ्यचौकीमा एकजना पनि एसबिए नभएको जनस्वास्थ्य अधिकृत आचार्यले बताए । रेसुंगा नगरपालिकामा गुल्मी अस्पताल तम्घासबाहेक १४ वटा स्वास्थ्य संस्थामा नौजना एसबिए कार्यरत छन् । तर, १४ मध्ये सिमीचौर स्वास्थ्यचौकीमा एउटा मात्र बर्थिङ सेन्टर छ । नगरमै सेन्टर नभएका स्वास्थ्य संस्थामा समेत ६ जना एसबिए कार्यरत छन् । 

सेवामा विश्वास र राम्रो परामर्श गरे संख्या बढ्छ
कमला गौतम खत्री : एसबिए, शान्तिपुर स्वास्थ्यचौकी

कमला गौतम खत्री दक्ष प्रसूतिकर्मी हुन् । उनी ०७२ सालबाट शान्तिपुर स्वास्थ्यचौकीमा कार्यरत छिन् । उनीसहित शान्तिपुर स्वास्थ्यचौकीमा दुईजना एसबिए तालिमप्राप्त जनशक्ति छन् । यो आर्थिक वर्षमा शान्तिपुर स्वास्थ्यचौकीमा ४५ वटा प्रसूति भए । गत वर्ष ९५ भएका थिए । शान्तिपुर स्वास्थ्यचौकीमा बागलुङ बरेङका नागरिकले समेत सेवा पाइरहेका छन् । बरेङबाट बुटवल रेफर गरिएकाहरूलाई समेत आफूहरूले प्रसूति गराएको कमलाले दाबी गरिन् । उनले गर्भवती र परिवारलाई कुरा बुझाउन सक्नुपर्ने बताइन् । ‘ग्यारेन्टी खोज्ने र बाहिरै दौडन खोज्नेहरू धेरै आउँछन् । तर, हामीले कुरा बुझाएर विश्वास दिलाउनुपर्छ,’ उनले भनिन्, ‘अवस्था हेरेर रेफरसँगै आफूहरू पनि सँगै जान्छौँ ।’

स्वास्थ्य कार्यालयको रेफर कम गर्ने रणनीति
जिल्लामा एम्बुलेन्सको व्यवस्थापन सही ढंगबाट भएको छैन । भनेकै समयमा एम्बुलेन्स उपलब्ध हुँदैनन् । पाल्पा र बुटवल दूरीको हिसाबले टाढा छ ।  व्यस्त अस्पतालहरूमा बेड पाउन पनि मुस्किल छ । जसका कारण पूर्वतयारीविना रेफर हुँदा गर्भवती महिला र परिवारलाई सास्तीसँगै ज्यान जाने जोखिमसमेत छ । ०७८ सालको जनगणनाअनुसार गुल्मीमा प्रतिलाख एक सय ९८ मातृमृत्यु रहेको छ । लुम्बिनी प्रदेशमा मातृमृत्युको संख्या बाँके, कपिलवस्तु र बर्दियापछि गुल्मीको रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालय गुल्मीले बर्थिङ सेन्टरबाट प्रसूतिका लागि गर्भवती महिला रेफर हुने क्रम बढ्दै गएपछि जटिल प्रसूति व्यवस्थापनका लागि प्रेषण प्रणाली सुदृढीकरण गर्न रणनीति बनाएको छ । 

स्वास्थ्य कार्यालय गुल्मीका वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाका अनुसार जिल्लाका ६६ वटा बर्थिङ सेन्टरका नर्सिङ स्टाफ, गुल्मी अस्पताल, गुल्मी अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टरसहित प्रसूति कक्षमा कार्यरत स्टाफ र लुम्बिनी प्रादेशिक अस्पतालको नर्सिङ स्टाफहरूको अभुमुखीकरण गरिएको छ ।

अब जिल्लाका बर्थिङ सेन्टरबाट रेफर गर्दा स्वास्थ्य संस्थामा डाक्टर, बेड र आवश्यक उपकरणको सुनिश्चितता नगरी गर्भवती रेफर गर्नुपर्नेछ । गाउँका बर्थिङ सेन्टरबाट रेफर हुने गुल्मी अस्पताल, लुम्बिनी मेडिकल कलेज पाल्पा र लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ इन्चार्जहरू, स्वास्थ्य कार्यालय गुल्मी र अर्घाखाँची तथा स्वास्थ्य निर्देशनालयका फोकल पर्सनहरूको आधिकारिक मोबाइल नम्बर सबै बर्थिङ सेन्टरहरूको वितरण गर्ने, एम्बुलेन्सहरूलाई सचेत बनाउने, उनीहरूको मोबाइल नम्बर अपडेट गर्नेलगायतका काम गरिएको स्वास्थ्य कार्यालय गुल्मीका वरिष्ठ जनस्वास्थ्य अधिकृत थापाले बताइन् । म्यासेन्जर ग्रुप बनाएर समन्वयको काम भएको छ । 

जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले दुर्गम ठाउँमा एसबिए जनशक्तिको उचित व्यवस्थापन नहुने र नागरिकले ग्यारेन्टी खोज्ने कारण समस्या सिर्जना भएको बताए । आवश्यक ठाउँमा कतै एकजना पनि नहुने कतै जनशक्ति थुप्रिने अवस्था रहेकाले पुरानो दरबन्दीमै सरुवा गरेर सेवा प्रवाह सजिलो बनाउने र प्रदेशले दुर्गमका संस्थामा एसबिएको तालिम बढाउनुपर्नेमा खत्रीले जोड दिए । जिल्लाको मालिका, धुर्कोट र छत्रकोट गाउँपालिकाको पूर्ण संस्थागत प्रसूति पालिका घोषणा भएका छन् भने यो वर्ष चन्द्रकोट, इस्मा र गुल्मीदरबार गाउँपालिका अन्तिम चरणमा छन् । 
 

ad
ad