१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १५:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वित्तीय सुशासन जोखिम मूल्यांकनमा रुरुक्षेत्र लुम्बिनीमै पहिलो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:o८:oo

गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ। पाँचवटा विषयमा केन्द्रित रही एक सय १८ सूचकका आधारमा स्थानीय तहको नतिजा सार्वजनिक गरिन्छ।

यसको उद्देश्य स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गर्ने र लेखाजोखाको माध्यमबाट स्थानीय तहको वितीय सुशासनलाई संस्थागत गर्ने हो। 

जसका लागि योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन तथा लेखा परीक्षण र राजस्व व्यवस्थापन गरेर पाँच विषय हुने जिल्ला समन्वय समिति गुल्मीको निमित्त समन्वय अधिकारी सिर्जना मिश्रले बताइन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि जारी गरिएको छ। आर्थिक वर्ष ०७७/७८ देखि देशभरका सात सय ५३ तहको मूल्यांकन गर्ने व्यवस्था रहेकाले कार्यविधिको दफा ७ बमोजिम स्थानीय तहले पुस मसान्तसम्म मूल्यांकन गर्नुपर्ने मिश्रले बताइन्। 

स्थानीय तहले सूचकको आधारमा आवश्यक कागज पत्र राख्ने वा स्वमूल्यांकन गरेर जिल्ला समन्वय समितिमा पठाउँछन्। स्थानीय तहले पेस गरेका प्रमाणहरूमा थप पृष्ठपोषण दिने र अन्तिम नतिजा प्रकाशन गर्ने काम समन्वय समितिले गर्दछ। 

जसमा रुरुक्षेत्र गाउँपालिकाले ९५.५५ अंक प्राप्त गरेर लुम्बिनी प्रदेशमा पहिलो स्थानमा आएको छ भने देशभरका स्थानीय तहहरूमध्येबाट चौथो स्थान प्राप्त गरेको छ। 

स्थानीय सरकारले आफूले कार्यसम्पादन गर्दा कार्यविधिले तोकेबमोजिमका क्रियाकलापहरूको प्रमाणित कागजात चुस्तदुरुस्त गरेको नतिजा राम्रो हुने रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए। उनले रुरुक्षेत्रले प्राप्त गरेको नतिजालाई आगामी दिनमा निरन्तरता दिने र थप सेवालाई गुणस्तरीय बनाउँदै लैजाने दायित्वबोध भएको बताए। 

रुरुक्षेत्र गाउँपालिकाले संस्थागत क्षमता स्वमूल्यांकनमा पनि ९३.२५ अंक प्राप्त गरेर जिल्लामै दोस्रो र लुम्बिनी प्रदेशबाट चौथो स्थान प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले बताए।

स्थानीय तहमा जनप्रतिनिधिले राम्रा नीति तथा कार्यक्रम निर्माण गर्ने र कर्मचारीले कार्यक्रमको व्यवस्थित कार्यसम्पादनसहित अभिलेखीकरण गरेकै कारण रुरुक्षेत्रले राम्रो नतिजा निकाल्न सफल भएको रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताए। 

उनले भर्खरै आधुनिक भवन निर्माण सकिएकाले केही समयमै क्षतिपूर्तिसहितको नागरिक बडापत्र बनाएर एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गरिने बताए। एफआरएतर्फ पहिलो रुरुक्षेत्र, धुर्कोट ९४.५ अंक प्राप्त गरेर दोस्रो र चन्द्रकोट ८८.५ अंक प्राप्त गरी तेस्रो भएको छ।  

त्यसैगरी, केही समय पहिले संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा पनि सार्वजनिक भएको छ। जसमा ९३.७५ अंक प्राप्त गरेर धुर्कोट गाउँपालिका प्रथम, ९३.२५ अंकसहित रुरु र चन्द्रकोट गाउँपालिकाले दोस्रो तथा ९१.५ अंक प्राप्त गरेर मुसिकोट तेस्रो भएको थियो।

जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले गुल्मीका स्थानीय तहले एफआरए र लिजालाई महत्त्व दिनु सुखद विषय भए पनि अंकको दौडमा मात्र नलाग्न आग्रह गरे।

खत्रीले स्वमूल्यांकनको आधार भएका विषयलाई जिल्लामा ठूलो प्रतिष्ठा र इगो बनाउने देखिएकाले धरातलीय कामबाट जनताको विश्वास जित्न सबैलाई आग्रह गरे। साथै उनले आफूहरूले स्थानीय तहले सूचकका आधारमा पेस गरेका डकुमेन्टको यकिन मात्र गर्ने भएकाले कागजसँगै काम पनि दुरुस्त हुनुपर्ने तर्क गरे।

ad
ad