१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ जेठ १ मंगलबार o९:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

माओवादी केन्द्रीय समिति बैठक : रूपान्तरण अभियानले ऊर्जा दिएको दाबी 

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:o९:oo

सत्तारूढ माओवादीका प्रदेश इन्चार्ज र अध्यक्ष तथा आयोगका प्रमुखहरूले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ले पार्टीमा गति पैदा भएको दाबी गरेका छन् । राष्ट्रिय सभागृहमा आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा प्रदेशगत रिपोर्टिङ गर्दै प्रदेश इन्चार्ज र अध्यक्षले अभियानबारे जानकारी गराएका हुन् । 

दीर्घकालीन रणनीतिका साथ नेता–कार्यकर्ता नियमित जनतामा जाने गरी संगठन विस्तार र सुदृढीकरण गर्नुपर्नेमा उनीहरूको जोड छ । सुस्ताएको पार्टीलाई गति दिने काम जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले गरेको उनीहरूको दाबी छ । 

जनता माओवादीलाई पर्खिएर बसेको, तर समिति र नेता जनतामाझ नपुग्दा समस्या भएको उनीहरूको विश्लेषण छ । पार्टी केन्द्र, प्रदेश र स्थानीय सरकारमा भए पनि तालमेल नमिल्दा जनताको भावनाअनुसार काम हुन नसकेकोसमेत उनीहरूले बताएका छन् । 

स्कुल विभागलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने, राजकीय र संसदीय जिम्मेवारी दिँदा ध्यान दिनुपर्ने, उत्पादनमा नेता तथा कार्यकर्ता जोडिनुपर्ने र पार्टी जनतामा फर्किने स्थिति बनाउनुपर्नेमा उनीहरूको जोड छ । 

आइतबारको बैठकमा प्रदेश इन्चार्ज र अध्यक्ष तथा अयोगका प्रमुखले रिपोर्टिङ गरेको केन्द्रीय सदस्य अजम्बर राई काङमाङले जानकारी दिए । उनका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारको बैठकमा सम्बोधन गर्नेछन् । 

कसले के भने ?
कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनालले प्रदेशमा अभियान सन्तुलित, संयमित र उत्साहजनक रूपमा सम्पन्न गरिएको बताए । अभियानमा खट्ने प्रदेश र केन्द्रका सदस्यहरूको क, ख, ग र घ गरी चार भागमा उनीहरूको सक्रियता, कार्यदिन, जनसेवा, रचनात्मक पार्टी निर्माणको कामबारे जानकारी दिए । 

मधेश प्रदेशका इन्चार्ज लीलामणि पोखरेलले मधेसमा पार्टीको समितिहरू बन्ने स्थितिमा रहेको बताए । आन्तरिक विवाद व्यवस्थित गर्दै अपेक्षित रूपमा सोचेभन्दा ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको दाबी गरे । त्यसले मधेशमा पार्टीको सांगठनिक कामको सुरुवात र गति पैदा भएको उनले बताए । 

बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले बागमती प्रदेशको मुख्यतः तीनखाले अवस्था सघन बसोवास रहेको महानगरपालिका, सहरउन्मुख क्षेत्र ग्रामीण क्षेत्रको बीचमा वर्गसंघर्षलाई पक्षपोषण गर्दै लाने राम्रो अवस्था रहेको बताए ।

उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुनले ०६४ मा सहरको जनमतलाई तान्न सफल भए पनि बिस्तारै अन्यत्र गइरहेको बताए । सम्पर्क समन्वय समितिका इन्चार्ज गिरिराजमणि पोखरेलले ७७ जिल्लाको विशेषताको अनुपातमा पालिकास्तरीय समितिलाई वडा समिति र गाउँमा रहेका वडालाई टोल समितिका रूपमा संगठन विस्तारको काम अगाडि बढेको बताए । 

प्रवास इन्चार्ज राम कार्कीले विगतमा प्रदेशमा रहेका नेपालीको सहायक भूमिका रहने गरे पनि अहिले प्रवासमा रहेका नेपाली निर्णायक रहेको बताए । गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले अहिलेको सन्दर्भमा गण्डकीको काम राम्रो गरी अगाडि बढेको बताए । लुम्बिनी प्रदेशका इन्चार्ज हितमान शाक्यले अंकगणितीय हिसाबले पार्टीका सदस्य र पार्टी कमिटीबारे बताए । 

कर्णाली प्रदेशका इन्चार्ज मातृका यादवले कर्णालीमा सबैभन्दा राम्रो पार्टी काम भएको बताए । कर्णालीका नेताहरूमा अन्तर्विरोधका बाबजुद पनि एकमुस्ट ढंगले काममा खट्ने स्थिति रहेको उनले बताए । 

सुदूरपश्चिम प्रदेशका अध्यक्ष अनिल चौधरीले तराईमा थारू र माथिल्लो भागमा अन्य समुदायको भूमिका रहेको बताए । सुदूरपश्चिम प्रदेशका इन्चार्ज डिलाराम आचार्य बिरामी भएका कारण प्रदेश अध्यक्ष चौधरीले बैठकमा रिपोर्टिङ गरेका थिए । 

तीन आयोगका रिपोर्टिङ
अनुशासन आयोगका अध्यक्ष टंक राईले विधान अधिवेशनमार्फत अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगलाई संविधानमा व्यवस्था भएको आयोगको जस्तै स्वायत्त र कार्यकारी अधिकार दिनुपर्ने बताए । जनताको बीचमा नखटेकै कारण पार्टी तेस्रो बनेको बताए । 

लेखापरीक्षण आयोगका अध्यक्ष पेसल खतिवडाले आयोगका सबै सदस्यलाई भूगोलमा खट्ने निर्देशनअनुसार खटिएको बताए । लेखापरीक्षण गराउने सन्दर्भमा पार्टीमा अलि अरुचि रहेको उनले औँल्याए । निर्वाचन आयोगका अध्यक्ष कुवेर वलीले भूगोलमा खटिने नीतिअनुसार कार्यक्षेत्रमा खटिएको बताए । अभियानले जनतामा जाने स्थिति निर्माण भएको उनले दाबी गरे ।

ad
ad