१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

६ वर्षअघिको उधारो तिरेपछि छुटे प्रधानाध्यापक कर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:३६:oo

विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि उधारोमा लिएको निर्माण सामग्रीको भुक्तानी दिन आनाकानी गरेको भन्दै ठगी मुद्दामा पक्राउ परेका प्रधानाध्यापक चार दिनपछि बक्यौता रकम बुझाएर हिरासतमुक्त भएका छन्।

जिल्ला सदरमुकाम सिराहास्थित चन्द्र नमुना माध्यमिक विद्यालय (प्राविधिक)का प्रधानाध्यापक मधुसुदन कर्ण ठगी मुद्दामा सोमबार पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका वेला बिहीबार दिउँसो विद्यालयका लेखापालले बक्यौता रकम बैंक दाखिला गरेपछि उनी छुटेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक उदय द्विवेदीले ठगी मुद्दाका जाहेरवालाको बैंकखातामा बक्यौता रकम दाखिला गरेको भौचर ल्याएपछि जिल्ला सरकारी वकिलको सहमतिमा छोेडिएको हो।

विद्यालयका लेखापाल सन्तोषकुमार यादवले बिहीबार जाहेरवाला रहेका नेपाल आइरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक रोशनकुमार यादवको नाममा रहेको सिराहास्थित राष्ट्रिय वाणिज्य बैंकको खातामा १७ लाख चार हजार पाँच सय ८१ रुपैयाँ चार पैसा दाखिला गरेका थिए।

मुद्दाको अनुसन्धानका लागि तीन दिन बाँकी नै रहेका वेला थुनामुक्त गर्न मिल्ने–नमिल्ने विषयमा प्रहरी निरीक्षक द्विवेदीले भने, ‘जाहेरवालाले माग दाबी गरेको रकम बैंकखातामा दाखिला गरेको प्रमाण ल्याएपछि छोड्न मिल्ने कानुनी व्यवस्था भएकाले छोडिएको हो।’ बक्यौता रकम बैंक दाखिला गरेसँगै ठगी मुद्दा पनि टुंगिएको उनले बताए। 

करिब ६ वर्षअघि विद्यालयको भवन निर्माणका लागि सिराहा बजारस्थित सप्लायर्सबाट उधारोमा ल्याएको १७ लाख चार हजार पाँच सय ८१ रुपैयाँ चार पैसाबराबरको सिमेन्ट, रड, रङलगायतका सामग्रीको बक्यौता तिर्न आनाकानी गरेको आरोपसहित प्रधानाध्यापक कर्णविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता भएको थियो।

सप्लायर्सका सञ्चालक सिराहा– ८ का यादवले उच्च अदालत जनकपुर, राजविराजमा ठगी मुद्दा दायर गरेपछि अदालतको आदेशका आधारमा सोमबार प्रधानाध्यापक कर्णलाई अनुसन्धानका लागि सात दिनको समय लिएर हिरासतमा राखिएको थियो।

ad
ad