
समाजवादीको कार्यक्रम जबज कि समाजवादी ?
‘जबज’ भर्सेस ‘समाजवादी कार्यक्रम’ गरेर जानुपर्ने कुनै जरुरत छैन । नेपाल मात्रै होइन, विश्वकै कम्युनिस्ट आन्दोलनमा जबजले एउटा माइलस्टोन सिर्जना गरेकै हो । सन् १९९० को दशकमा विश्वभर कम्युनिस्ट आन्दोलन रक्षात्मक रहेको वेला मदन भण्डारीले ल्याएको ‘जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मौलिक कार्यक्रम’ले नेपाली कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउन ठूलो योगदान गरेको छ ।
यसले पुर्याएको योगदानलाई बिर्सेर यसको भत्र्सना गर्नु किमार्थ उचित हुँदैन । समाजवादमा जान्छौँ भन्दै गर्दा जबजभित्र समाजवादी कार्यक्रम पर्छ कि पर्दैन ? अथवा समाजवाद भन्दै गर्दा जबजका बारेमा भत्र्सना गरेर जानुपर्छ भन्ने खालको भाषा र भाष्य एकदमै गलत हो । रसियन कम्युनिस्ट पार्टीको कित्ता कि चाइनिज भनेर विभाजित भएको हाम्रो विगत छ । यस्ता प्राविधिक विषयमा आन्दोलनलाई दिग्भ्रमित गर्ने काम कसैले गर्नुहुँदैन ।
एकीकृत समाजवादीको तात्कालिक प्राथमिकता के हुनुपर्छ ?
हाम्रा नेताले इतिहास र भविष्यको विश्लेषण त भयंकर गर्नुभएको छ । तर, आज वर्तमान के गर्ने भन्ने कुरामा दिग्भ्रम छ । पुरानो समाज र हजार वर्षपछिको चाहिँ कुरा गर्ने, तर वर्तमानको छलफल नगर्ने कुरा कसरी उचित हुन्छ ? वर्तमानमा यो समाज फेर्ने तरिका के हो त ? आज त्यसमा छलफल गर्ने हो । प्राथमिकता यो हुनुपर्छ ।
पार्टीमा पुस्तान्तरणको मुद्दा कहाँ छ ?
विचार, सिद्धान्तहीन पुस्तान्तरणको कुनै अर्थ छैन । जति वेला हामी एमाले छाडेर यता आयाैँ, त्यसपछि पुस्तान्तरणको मुद्दा लगभग सकियो । किनकि हामी जुन जोस, जाँगरका साथ जे भन्दै थियौँ । हाम्रा ‘दोस्रो पुस्ता’ भनिएका साथीहरूले जे भूमिका निर्वाह गर्नुभयो । पार्टीलाई विभाजनको डिलमा पुर्याउने र डिलमा पुर्याएर फर्किने मामिलामा उहाँहरूले जे गरेर धोका दिनुभयो, त्यसपछि पुस्तान्तरणको मुद्दा सकियो । विचार, राजनीति, संकल्प र समर्पणविनाको पुस्तान्तरणको कुनै अर्थ छैन ।