१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रासस काठमाडौं
२o८१ जेठ २ बुधबार १४:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बुढानीलकण्ठ क्षेत्रमा प्रहरीले प्रत्यक्ष निगरानी गर्ने, एआई आधारित १८१ सिसिक्यामरा जडान

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:१२:oo

काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ। प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बुढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसिक्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्ष रूपमा निगरानी हुन लागेको हो।

‘सुरक्षित काठमाडौं उपत्यका : हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा सिसिक्यामरा जडान भई आज उद्घाटन गरिएको हो।

गत वैशाख १२ गते रु पाँच करोडमा सम्झौता भई सिसिक्यामरा जडान सुरु भएको थियो। जडान सम्पन्न भएसँगै आजदेखि उपत्यका प्रहरीले सो क्षेत्रको निगरानी सुरु गरिसकेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले संयुक्त रूपमा सिसिक्यामराको उद्घाटन गरे।

सुरक्षित काठमाडौं योजनाअन्तर्गत बुढानीलकण्ठ रुट, मानबहादुर मार्ग–चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा सात पिटिजेडसहित एक सय ७४ स्थायी सिसी क्यामरा गरी जम्मा एक सय ८१ थान आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)मा आधारित सिसिक्यामरा जडान गरिएको प्रवक्ता मैनालीले बताए।

त्यस अवसरमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले बुढानीलकण्ठ क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताए। प्रथम चरणमा सिसिटिभी जडान सकिएको र अब पुनः दोस्रो चरणमा समेत सहयोग उपलब्ध गराइने उनले जानकारी गराए।

समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सिसिटिभी क्यामेराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाडौं उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गरे। उनले आगामी दिनमा समेत उक्त नगरपालिकासँग सहकार्य गर्दै जाने बताए।

ad
ad