मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
अनलाइन बेटिङलगायत अवैध गतिविधि सञ्चालन गरेको अभियोगमा पक्राउ परेका दरबारमार्गस्थित क्यासिनो प्यालेस सञ्चालकसहित
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौंका क्यासिनोमा बेटिङदेखि सुन तस्करीको पैसा शुद्धीकरणसम्म 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३५:oo

काठमाडौंका क्यासिनोमा हुने अवैध आर्थिक अपराधको प्रहरीले अनुसन्धान थालेको छ । क्यासिनोभित्र अनलाइन बेटिङदेखि सुन तस्करीको पैसाको कारोबारसमेत हुने गरेको पछिल्ला अनुसन्धानले देखाएको छ । 

दरबारमार्गस्थित क्यासिनो प्यालेसमा काठमाडौं प्रहरीले बिहीबार छापा हानी अनलाइन बेटिङलगायत अवैध गतिविधि सञ्चालन गरेको अभियोगमा सञ्चालकसहित तीनजनालाई पक्राउ गरेको छ । भारतको पञ्जाबका रिसव पावा, गुलाव सिंह र गौरव सिंहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट एक करोड आठ लाख चार सय ४५ रुपैयाँबराबर विभिन्न देशका मुद्रासमेत बरामद भएको काठमाडौं परिसरले जनाएको छ । पक्राउ परेकामध्ये पावा क्यासिनो सञ्चालक हुन् । क्यासिनोबाट अवैध अनलाइन जुवा खेलाउने विद्युतीय उपकरणहरूसमेत प्रहरीले बरामद गरेको छ । अनलाइन जुवाकै लागि क्यासिनोको अन्डरग्राउन्डमा उनीहरूले छुट्टै कोठा बनाएका थिए । 

अनलाइन सफ्टवेयर नै राखेर उनीहरूले अवैध अनलाइन बेटिङ चलाउँदै आएको पाइयो,’ काठमाडौं परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भने, ‘क्यासिनोबाट अनुमतिविना ठूलो मात्रामा विदेशी मुद्राको कारोबार गरेकाले नेपाल राष्ट्र बैंक ऐन २०५८ को अपराध गरेकोमा पनि अनुसन्धान थालेका छौँ ।’ उनीहरूले क्यासिनोबाटै हुन्डीको कारोबारसमेत गर्दै आएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

यसअघि ठमेलस्थित क्यासिनो वाल्डोमा सुन तस्करीको पैसा शुद्धीकरण गरेर मकाउ पठाइएको खुलेको छ । सुन तस्करीमा पक्राउ परेका एलेक्स भनिने यावो पुचेङले १३ करोड रुपैयाँबराबरको हारजित देखिएको थियो । सुन कारोबारको रकम आफूले सोही क्यासिनोमार्फत क्यासिनोको सहयोगमा मकाउ पठाएको उनले स्वीकार गरेका थिए । सो क्यासिनो हङकङका व्यापारीले सञ्चालन गर्दै आएका छन् । स्रोतका अनुसार उनीहरूको मकाउमा पनि क्यासिनो छ । उक्त क्यासिनोको नेपालमा उनीहरूले आफ्नो ब्यालेन्स देखाई मकाउबाट निकाल्ने गरेका थिए । 

सो विषयमा सिआइबीले सो क्यासिनोका चिनियाँ कर्मचारीहरू हावो सुइहङ र टेरेन्स सेसँग विस्तृत सोधपुछ पनि गरेको थियो । सुन तस्करीमा संलग्न चिनियाँले ठूलो मात्रामा जुवा खेल्ने गरेको उनीहरूको भनाइ थियो । यस विषयमा सिआइबीले दोस्रो चरणमा अनुसन्धान गर्ने बताए पनि थप अनुसन्धान हुन सकेको छैन । सो क्यासिनोमा थप आपराधिक गतिविधि हुने आशंकामा केही दिनअघि काठमाडौं प्रहरीले पनि छापा हानेको स्रोत बताउँछ । ‘अन्य क्यासिनोहरूमा पनि शंकास्पद गतिविधिको सूचनाका आधारमा अनुसन्धान अघि बढाएका छौँ,’ काठमाडौं परिसरका एक अधिकारीले भने । 

नेपालको कानुनअनुसार क्यासिनोमा विदेशीले मात्र जुवा खेल्न पाउँछन् । तर, नेपालीलाई पनि जुवा खेलाउने गरेकोमा क्यासिनो विवादमा पर्दै आएका छन् । नागपोखरीस्थित डेल्टन क्यासिनोले नेपाली नागरिकलाई नक्कली भारतीय परिचयपत्र बनाएर जुवा खेलाउने गरेको दुई महिनाअघि खुलेको थियो । जहाँ प्रहरीले छापा हानी नेपालीलाई पक्राउ गरेको थियो । 

क्यासिनोमा हुने कारोबार पारदर्शी नहुँदा नेपालमाथि अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्दै आएको छ । क्यासिनो कालो धन शुद्धीकरण गर्ने क्षेत्र भएको आरोप लाग्दै आएको छ । सम्पत्ति शुद्धीकरणको नियमन गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूह (एपिजी) ले नेपालमा क्यासिनो क्षेत्रलाई सम्पत्ति शुद्धीकरणको जोखिमपूर्ण क्षेत्र रहेको औँल्याउँदै आएको छ । सोही आधारमा सरकारले पर्यटन ऐन संशोधन गरी क्यासिनोलाई कडाइ गर्ने प्रावधान राख्न लागेको छ । तर, त्यससम्बन्धी विधेयक लामो समयदेखि संसद्मा रोकिएको छ ।