मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ३० शुक्रबार
  • Friday, 12 April, 2024
शुक्रबार काठमाडौंमा रुसी सेनामा कार्यरत रहँदा मृत्युवरण गरेका, बेपत्ता र असहज अवस्थामा रहेका नेपालका परिवारजनको भेला 
२०८० माघ २० शनिबार ०५:५७:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लम्बिँदो रुस–युक्रेन युद्ध : सामेल छैन नेपाल, तर सामेल नेपालीको बेहाल

Read Time : > 3 मिनेट
२०८० माघ २० शनिबार ०५:५७:००

रुस र युक्रेनसँग नेपालको कूटनीतिक सम्बन्ध छ, तर दुई वर्षदेखि जारी उनीहरूबीचको युद्धसँग नेपालको कुनै साइनो छैन । तर, युद्धमा सामेल नेपालीको भने अवस्था बेहाल छ । 

युद्धमा नेपाल सामेल नभए पनि नेपाली रुसी सेनामा भर्ती भएका छन् । युद्धमा बढ्दो मानवीय क्षति सम्बन्धित परिवार र सरकार दुवैका लागि गम्भीर चिन्ताको विषय हुँदै छ । रुसी सेनामा कार्यरतमध्ये हालसम्म एक दर्जन नेपालीको निधन भइसकेको छ । चारजना नेपाली युक्रेनमा युद्धबन्दी छन् । अहिले सबैभन्दा ठूलो समस्या रुसी सेनामा कार्यरत नेपालीमाथि छ । 

लम्बिँदो युद्ध र नेपाली युद्धको पहिलो पंक्तिमा परेर मृत्युवरण गरिरहेको, घाइते भएको र बेपत्ता भएको समाचारले नेपालमा रहेका उनीहरूका परिवारलाई बेचैन बनाएको छ । रुसी सेनामा भर्ना भएकाहरू चाहेर पनि फर्कन सकेका छैनन् । 

शुक्रबार काठमाडौंको अनामनगरमा रुसी सेनामा कार्यरत रहेर मृत्युवरण गरेका, बेपत्ता अवस्थामा रहेका र असहज अवस्थामा रहेका नेपालका परिवारजन भेला भएका थिए । कष्टसाथ भागेर स्वदेश आइपुगेका व्यक्ति पनि त्यहाँ थिए । पत्रकारिता गरेर राजनीतिमा होमिएकी कृतु भण्डारीले पीडित परिवारलाई भेला पारेर सञ्चारकर्मीसामु प्रस्तुत गरेकी थिइन् । त्यहाँ परिवारजनले बेग्लाबेग्लै प्रतिनिधिमूलक पीडा सुनाए । 

खोटाङका सुमन राई मलेसिया जाने इच्छा भएर सुकेधाराको एउटा मेनपावर पुगे । तर, उनलाई मासिक दुई लाख ६५ हजार रुपैयाँ तलब हुन्छ, रुस जानुपर्छ भन्ने अफर आएपछि आकर्षित भए । ‘युद्ध हुँदै छ भन्ने पनि थाहा भएन,’ उनले सुनाए, ‘३० दिनको भिजिट भिसामा गएँ । दुबई, मस्कट हुँदै जाँदै थिएँ । मस्कटमा आठ घन्टा अध्यागमनको नियन्त्रणमा परेँ, बल्ल दलालहरूले लिएर गए ।’ ओखलढुंगाका एजेन्टलाई उनले हातमै आठ लाख थमाएका थिए । 

उनलाई सेटिङमा रुस पुर्‍याएको उता पुगेपछि मात्रै थाहा भयो । उनी १५ असोजमा गएका थिए, १ मंसिरमा भागेर आए । रुस पुगेको भोलिपल्टै उनी रुसी सेनामा भर्ती भए । ‘निकै गाह्रो थियो, जाँदा आठ लाख रुपैयाँ दिएँ, एक महिना १५ दिनपछि भागेर फर्किएँ । फर्किँदा तीन लाख रुपैयाँ खर्च भयो,’ उनले सुनाए । 

उनले तलब पाएनन् । केवल युद्धको अनुभव गरे । मस्कट गएर मुक्त भए । ‘रुसमा साह्रै दुःख छ । रुसी कमान्डरले गाली गर्छ । रुसी कमान्डरले धेरै नेपालीलाई कान नसुन्ने गरी कुटेको छ । नेपालीप्रति उनीहरूको पटक्कै सम्मान छैन,’ राईको तीतो अनुभव छ, ‘घाइतेलाई छाडेर हिँड्छन् रुसी सेना ।’ 

युक्रेनसँगको युद्धमा नेपाली रेडजोनमा पठाइन्छन् जहाँ ब्यारेक बनाएर बसेका युक्रेनी सैनिकसँग छापामार शैलीमा रुसी सेनाका तर्फबाट लड्नुपरेको छ । ‘हामी लुक्दै, भाग्दै जाने हो । युक्रेनको सेनाले निसाना बनाएर रुसतिर गोली हान्छ । नेपाली कमान्डरको भाषा नबुझेर दायाँ जानुपर्ने बायाँ जान्छन्, पछि जानुपर्ने अगाडि जान्छन्,’ उनले सुनाए, ‘युद्धमा चार सयभन्दा बढी पाँच सयसम्म नेपाली मारिएका छन् । एउटा तीन सयजनाको टोली गएकोमा ७० जना फर्केर आएका छन् । यस्ता उदाहरण अरू पनि छन् ।’ 

पहिलो र दोस्रो क्याम्पमा राखेपछि लडाइँमा पठाउँछ । लडाइँको अग्रमोर्चामा नेपाली छन् । ‘मैले बुझेसम्म १४–१५ हजार नेपाली रुसको सेनामा छन्,’ उनले सुनाए, ‘युद्धमा अगाडि नेपालीलाई पठाउँछन् । ब्याकअपमा रुसी स्पेसल फोर्स जान्छ । मंगोलिया, भारत र चीनका मानिस पनि छन् रुसी सेनामा ।’ दुबईको रोलगार्डमा कार्यरत राम्रो कमाइ गरेकाहरू पनि रुस गएका छन् ।

ब्याजमा पैसा लिएर गएँ । ऋण गरेरै फर्किएँ । तर, कम्तीमा ज्यान त जोगाएर फर्किएँ भनेर सन्ताष लागेको छ,’ राईले भने, ‘म फर्केकोमा खुसी छन् । ऋण बिस्तारै तिरौँला भनेर ढाडस पाइएको छ ।’ 

खोटाङका रविन राई २१ दिनदेखि रुसको राजधानी मस्कोदेखि दुई हजार किलोमिटर टाढाको अस्पतालमा छन् । बहिनी शिलाका अनुसार उनलाई निको भएको छैन, ग्रिनेडले लागेको छ । ‘उहाँसँग बाक्लो सम्पर्क त छैन, वेलावेलामा सम्पर्कमा हुनुहुन्छ । अडियो कलमा कुरा हुन्छ,’ रविनकी बहिनी शिलाले भनिन्, ‘उहाँ स्वदेश आउन चाहनुहुन्छ । स्वदेश फर्काउनुपर्‍यो ।’ उनी १० लाख रुपैयाँ दलाललाई तिरेर ६ महिनाअघि गएका हुन् । ‘सिनियर क्याप्टेनले नराम्रो व्यवहार गरेको, खान नदिएको भनेर दुखेसो पोख्नुहुन्थ्यो,’ उनले सुनाइन् । 

दुबई प्रहरीमा मासिक एक लाख २० हजार तलबमा काम गरिरहेका सतुंगलका रामबहादुर प्रधान रुस गएका थिए । उनी २५ असोजमा श्रीमतीसँग सम्पर्कमा थिए, त्यसपछि बेपत्ता छन् । ‘उनीसँगै रहेका साथीहरू घाइते भएको कुरा आयो, तर उनी सम्पर्कमा आएका छैनन्,’ उनका साढुदाइ नारायण खड्गीले सुनाए, ‘उनी सात लाख रुपैयाँ खर्च गरेर गएका थिए ।’ अहिले सम्पर्कमा नभएका कारण परिवार बेचैन छ । 

उदयपुरका पदम घिमिरे दुई महिनादेखि सम्पर्कमा छैनन् । उनी रुसी सेनामा कार्यरत छन् । उनले दुईपटक भाग्ने प्रयास गरे, तर सफल भएनन् । ‘एकपटक भागेको पाँच दिनमा रुसी सेनाले समाएर लगेछ, अर्कोपटक भाग्दा दुई दिनमा समातेर रुसी सेनाले लगेको छ । अब लडाइँमा लैजान्छ होला भन्नुहुन्थ्यो,’ बच्चा बोकेर आएकी उनकी श्रीमती डिना घिमिरेले भनिन्, ‘त्यसपछि उहाँले फोन गर्नुभएको छैन । सम्पर्क भएको छैन ।’ डिनाका श्रीमान् असोज ३१ मा रुस गएका थिए । नोभेम्बर ३० देखि सम्पर्कमा छैनन् ।

डिना आफ्नो पीडा सुनाउँदै भक्कानिएपछि पीडित परिवारजनले बोल्न सकेनन् । श्रीमान्, देवर र नातामा नाति रुसी सेनामा कार्यरत रहेको र सम्पर्कमा नरहेको बताएकी सरिता राईदेखि श्रीमान् सम्पर्कमा नरहेको भन्दै खोजीका लागि भौँतारिएकी बुद्धिमाया तामाङ, गोमा राई, प्रनिता राई, विनिता गुरुङ, रिमु गुरुङले बोल्न सकेनन् । उनीहरूको सामूहिक आवाज थियो, ‘नेपाल सरकारले रुसमा रहेका आफन्तजनलाई उद्धार गरेर फर्काओस् । बेपत्ता भएकाहरूको स्थिति सार्वजनिक होस् । ’ 

सरकारले साउन १६ गते र मंसिर १८ गते विज्ञप्ति जारी गरी युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान सबैलाई सचेत गरेको भन्दै भर्तीका लागि रुस नजान आग्रह गर्दै आएको छ । रुससँग नेपाल सरकारले भर्ती भएका नेपालीको विवरण मागे पनि रुसले उपलब्ध गराएको छैन । बरु, रुसमा मृत्युवरण गरेकाहरूको शव सैनिक सम्मानसाथ उतै अन्तिम संस्कार गर्ने उसको प्रस्ताव आएको छ । 

परराष्ट्रमन्त्रीको तहबाट रुसको भ्रमणका लागि प्रयास भए पनि रुस इच्छुक नदेखिँदा अनिश्चित भएको छ । परराष्ट्रको कन्सुलर विभागमा परिवारजनलाई खोजी गर्न र फिर्ता गर्न पहलका लागि माग गर्दै दुई सयभन्दा बढी निवेदन परेको सम्बद्ध स्रोतले जनाएको छ । 

युक्रेनमा १२ फागुन ०७८ मा रुसले आक्रमण गरेको आज ७१०औँ दिन हो । रुसका तर्फबाट युद्धमा नेपालीको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय छविमा पनि नकारात्मक प्रभाव परेको छ ।