![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/स्वस्थानी2024-02-02-02-23-10.jpeg)
गगनचुम्बी हिमशिखरहरूको काखमा अवस्थित ऋषि–महर्षिहरूको तपोभूमि, पवित्र तीर्थस्थल तथा शक्तिपीठहरूद्वारा परिवेष्टित मनमोहक प्राकृतिक भूमि नेपालको गरिमा र महिमालाई उच्च र आकर्षक बनाउन र स्थानीय देवस्थलहरूको महिमा र महत्वलाई जीवन्त बनाइराख्ने महत्त्वपूर्ण भूमिकामा स्वस्थानी कथा रहेको छ । नेपाली परिवेश र नेपाली समाजको वर्णन र महत्त्वगान गरेको हुँदा आजसम्म नेपाली समाजमा स्वस्थानी व्रतकथाको महत्त्व अद्वितीय छ । नेपाली समाजलाई केन्द्रमा राखेर निर्माण गरिएको हुनाले जनमानसबाट अत्यन्तै श्रद्धा र निष्ठाका साथ हेरिनु स्वस्थानीको अर्को सुनौलो पाटो हो । वास्तवमा स्वस्थानीले हिमवत् खण्डका पवित्र तीर्थस्थलहरूलाई जनजिब्रोको भाषा र जनक्रियाकलापबाट प्रस्तुत गरेको छ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिंग बनाई श्री स्वस्थानीको व्रत गरेको र मनोकांक्षा पूर्ण भएपछि उनकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ ।
स्वस्थानी शब्द ‘स्व’ र ‘स्थान’ गरी दुई शब्द मिलेर अन्त्यमा ‘ई’ प्रत्यय लागेर बनेको छ । यसको अर्थ स्वस्थानमा रहने देवी अथवा आफ्नै स्थानमा रहने भगवती भन्ने बुझिन्छ । अष्टदल पद्ममा अष्टमातृका, त्यसमाथि खड्ग, त्रिशूल, वर, नीलोत्पल हातमा लिएकी चार हात, तीन आँखा भएकी, विभिन्न गहनाले शोभायमान, सुनौलो वर्ण भएकी देवीको स्वरूपको महिमा उल्लेख गरिएको छ। यस्ती देवी स्वस्थानीको विधिपूर्वक व्रत एवं पूजाआराधना गर्नाले मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ।
स्वस्थानी व्रतकथाअनुसार यसको सुरुवात भगवान् विष्णुको सल्लाहमा पहिलोपटक पार्वतीले गरेकी हुन्। महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भयो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा पुगेर महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भनेअनुसार गर्न सल्लाह दिए। भगवान् विष्णुले पनि महादेव पति पाउन ‘श्रीस्वस्थानी व्रत’ गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकी थिइन् । त्यसको फलस्वरूप उनले महादेव पति पाइन् । त्यसैले आज पनि असल पतिको कामना वा पतिको सुस्वास्थ्यको कामना गरेर महिलाले यो व्रत लिने प्रचलन छ ।
पौष शुक्ल पूर्णिमादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी संकल्पपूर्वक व्रत आरम्भ गरिन्छ । एक महिनासम्म मध्याह्नको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा–आराधना गरिन्छ । व्रतालुहरूले पूजा–आराधनापछि स्वस्थानीको माहात्म्य वाचन वा श्रवण गर्ने गर्छन् । व्रत अवधिभरि चोखोनितो गरी मध्याह्नकालमा एक पटक मात्र भोजन गर्नुपर्ने शास्त्रीय नियम रहेको छ।
विधिपूर्वक व्रत नबस्नेहरूले पनि आ–आफ्नो घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवं श्रवण गर्दछन् । यसप्रकारले श्रद्धा एवं भक्तिपूर्वक गरिएको स्वस्थानीको व्रत एक महिनापछि अर्थात् माघ शुक्ल पूर्णिमाको दिन समापन गरिन्छ । यस दिन सम्पूर्ण पूजा सामग्रीसहित स्वस्थानी परमेश्वरीलाई चढाउन विशेष वस्तुहरू १०८ को संख्यामा हुने गर्छन् । अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी, एवं मौसमअनुसारका फलफूलहरू सबै एक सय आठका दरले चढाई शिवलिंगसहित ॐकारयुक्त अष्टदलमा श्री स्वस्थानीको विशेष पूजा गरिन्छ । पूजा सकिएपछि जुन कामनाले व्रत गरिएको हो सो कामना पूरा होस् भन्दै अर्घ्य दिई यस व्रतको समाप्ति गरिन्छ ।
स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थस्थलहरू नेपाल विशेषगरी काठमाडौंभित्रै रहेका छन् । कथाका विभिन्न प्रसंगमा आएका गुह्येश्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किराँतेश्वर, गौरीघाट, बागमती नदी, शालीनदीजस्ता क्षेत्र यहीँ पर्ने हुनाले पनि नेपाली समाजमा यस व्रतले बढी महत्त्व र आस्था पाएको हो ।
स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात् साँखु शालीनदीमा एक महिनासम्म मेला लाग्दछ । यस ठाउँमा सयौँ व्रतालु पुस–माघको चिसोलाई समेत बेवास्ता गर्दै एक महिनासम्म बस्ने गर्दछन् भने अन्य दर्शनार्थीहरू पनि स्नान, दर्शन आदि प्रयोजनका लागि पुग्ने गर्दछन् । सार्वजनिक बिदाको दिनमा श्रद्धालु भक्तजनहरूको ज्यादै भिड लाग्ने गर्दछ । यसैगरी पशुपति गुह्येश्वरी, किराँतेश्वर, गौरीघाट, मृगस्थली आदि क्षेत्रमा महिनाभरि नै दर्शन एवं पूजन गर्नेहरूको भिड लाग्छ । गौरीघाटमा रहेकी भगवती पार्वतीको दर्शनको महिमा स्वस्थानी व्रतकथामा लेखिएको छ । यसका साथै मुलुकभर रहेका पीठहरू (सतीदेवीका अंग पतन भएका स्थान)मा पनि भक्तजनको भिड लाग्दछ। यी पीठको महत्त्व बुझी एक पीठको मात्र दर्शन गरे पनि जन्म सफल हुने स्वस्थानी व्रतकथामा वर्णन गरिएको छ ।
विभिन्न पुराणलाई आधार बनाएर पहिले स्वस्थानी नेवारी भाषामा लेखिएको थियो । पहिले स्वस्थानी व्रतनेवार समुदायले मात्र लिने गर्दथे। पछि व्यापारिक सिलसिलामा नेवारहरू देशभरि फैलिएपछि स्वस्थानी व्रतले पनि फैलिने मौका पायो भन्नेहरू पनि छन् । करिब पाँच सय वर्षयता मात्र स्वस्थानी नेपालीमा लेखिन थालिएको शिवराज आचार्य कौण्डिन्न्यायनले लेखेको वैदिक धर्म मूल रूपमा भन्ने पुस्तकमा उल्लेख छ ।
यसरी हिमाली परिवेशमा हिमवत्खण्डका देवीदेवतालाई नै पूजा–आराधना गरेर भुक्ति र मुक्ति दुवै पाउन सकिने शास्त्रीय चिन्तनलाई सामाजिक परम्पराबाट प्रस्तुत गर्न उद्यत् स्वस्थानी व्रतकथा नेपाली समाजमा प्रचलित सबैभन्दा कठोर तथा फलदातृ व्रत हो । स्वस्थानीले आफूमा रहेको शक्ति चिनेर आफू बाँच्न सकिन्छ, समाजले के भन्छ भन्दा पनि आफूले अपनाएको मार्गमा आफ्नो श्रद्धा र विश्वास सर्वथा अडिग हुनपर्छ भन्ने प्रमुख सन्देश प्रवाह गर्छ।
समाज निर्माणमा महिलाको योगदानको चर्चा गर्नुका साथै, एक आमा र एक पत्नीको सल्लाहलाई सहज तरिकाले स्वीकार गर्न सक्ने व्यक्तिले सम्पूर्ण संसारको नेतृत्व गर्न सक्ने विषयलाई नवराज र गोमाका माध्यमबाट उजागर गरिएको छ भने, एक कुशल गृहणीको दूर दृष्टिलाई अस्विकार गर्दा मृत्युसमेत ग्रहण गर्नुपरेको कुरा शिव शर्मा र गोमाको प्रसंगबाट देखाउन खोजिएको छ ।
स्वस्थानीमा वर्णित शतिदेवीको प्रसंगले नारीलाई जलाउन आगो पनि असर्थ भएको देखिन्छ । यही प्रसंगमा सतीदेवीको मृतशरीर पतन भएको ठाउँलाई एक शक्तिसञ्चरनको केन्द्र मानेर पूजा गरिएको विषय उल्लेख गरिएको छ। एक नारीको मृत शरीरको एक टुक्रा पतन भएको स्थान जुन रूपमा पुजनीय र वन्दनीय हुन्छ भने स्वयं नारी निवास गरेको घर कुन रूपमा वन्दनीय र शक्ति सञ्चार भएको हुन्छ भन्ने विषयको संकेतात्मक रूपमा अवबोधन गराउँदै समाजमा नारी कति वन्दनीय र पुजनीय छिन् भनी देखाउनु पनि स्वस्थानीको प्रमुख उद्देश्य हो । समग्रमा स्वस्थानी व्रतकथाले नारीलाई केन्द्रमा राखेर नारीको आन्तरिक शक्ति कति हुन्छ र नारीलाई समाजले कुन तरिकाबाट पूजा तथा आराधना गर्नुपर्छ भनेर देखाउने काम गरेको छ ।