१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:३८:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका कर्मचारीको सम्पत्ति छानबिन गर्न सिफारिस 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३८:oo

अध्यागमनका अधिकृतहरू नरवीर खड्का, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोको सम्पत्ति छानबिन हुने

भिजिट भिसासम्बन्धी ‘सेटिङ’मा संलग्न अध्यागमनका कर्मचारीको सम्पत्ति पनि छानबिन हुने भएको छ । अध्यागमन विभागका नौ अधिकृतको सम्पत्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन गर्न प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंले नौ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको हो । जसमध्ये नौ अधिकृतमाथि अख्तियारबाट र तीनजना बिचौलियालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट थप अनुसन्धान गर्न सिफारिस भएको हो । सोही सिफारिसअनुसार अभियोग दाबी लिई बुधबारसम्ममा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले बताए । 

अध्यागमन अधिकृतहरू नरवीर खड्का, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोको सम्पत्ति छानबिन गर्न सिफारिस भएको हो । उनीहरूमध्ये खड्का थुनामा छन् भने अन्य फरार छन् । खड्काको खातामा सेटिङको पैसासमेत भेटिएको छ । उनले श्रीमतीको खातामा समेत पैसा लिने गरेको अनुसन्धानमा पुष्टि भएको छ । अन्य अधिकृतहरूसमेत लामो समयदेखि विमानस्थलमा कार्यरत रहेको र उनीहरूले यो धन्दाबाट अकुत सम्पत्ति आर्जन गरेको प्रहरी निष्कर्ष छ । एक दिनमै भिजिट भिसामा कर्मचारीलाई बिचौलियाले एक करोड रुपैयाँसम्म बुझाउने गरेको अनुसन्धानमा देखिएको छ । 

१० जनालाई पक्राउ गरेकोमा यसमा संलग्न देखिएका थप १२ जनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न प्रहरीले सिफारिस गरेको हो । बिचौलियाको काम गर्ने दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्की, गीता शाह, अरुण दाहाल, सरोजकुमार यादव, पदम लामा, मनोज लामा, रामप्रसाद भण्डारी पनि प्रहरी थुनामा छन् । उनीहरूमध्ये विनोद कार्की, पदम लामा र मनोज लामाको सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न प्रहरीले सिफारिस गरेको छ ।  

प्रहरी अनुसन्धानमा विमानस्थलमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चल्दै आएको देखिएको छ । तल्लो तहका कर्मचारीले बिचौलियासँग पैसा लिएर माथिल्लो तहका कर्मचारीलाई बुझाउँदै आएका थिए । विमानस्थलका सबैजसो कर्मचारी सेटिङमा संलग्न देखिएको, तर बलियो प्रमाण भएकालाई मात्र प्रतिवादी बनाउन लागिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृत बताउँछन् । 

अधिकृत मोक्तान बारम्बार विवादमा 
शुक्रबार प्रहरीसँग विवाद गरेका अध्यागमन अधिकृत छायालाल मोक्तान यसअघि पनि विमानस्थलमा पटक–पटक विवादमा परेका अधिकृत भएको खुलेको छ । यसअघि विमानस्थलमै कम्तीमा दुईपटक उनले अन्य निकायसँग झगडा गरेको विमानस्थल स्रोत बताउँछ । 

गत २६ पुसमा टर्मिनल ड्युटी अफिसर गोपाल घिमिरेमाथि समेत उनले कुटपिट गरेका थिए । डिपार्चर कक्षमा यात्रुहरूको भिड भएको विषयमा कुरा गर्न जाँदा सुरुमा हात हालेको र पछि माफी मागेको विमानस्थल स्रोत बताउँछ । त्यसअघि पास शाखाका कार्यरत कर्मचारी नारायण कोइरालासँग उनको झगडा भएको थियो । ‘म अध्यागमनको अधिकृत हुँ, मलाई पास नदिने’ भन्दै उनले झगडा गरेको थिए । 

शुक्रबार ड्युटी सकेर निस्किने क्रममा प्रहरीले खानतलासी गर्न खोज्दा उनले प्रहरी जवानलाई असहयोग गरी गाली गरेपछि विवाद भएको थियो । त्यसपछि कुटाकुट भएको थियो । विवाद हुँदा उनले सुरुमा लात्तीले प्रहरीलाई हानेको सिसिटिभी फुटेजमा देखिएको छ । 

पछि सिसिक्यामेराको मोनिटर कक्षमा पनि कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो । कर्मचारीहरूले भने प्रहरीले कुटेको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा छानबिन समिति बनाएको छ । समितिले मंगलबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रहरीले भिजिट भिसा सेटिङमा अध्यागनका कर्मचारीमाथि मुद्दा प्रक्रिया अघि बढाइरहेका वेला विमानस्थलमा प्रहरी र अध्यागमन कर्मचारीबीच विवाद बढेको हो। 
 

ad
ad