Skip This
औषधि र प्रविधिको प्रयोग : क्यान्सरको अन्त्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
डा. उगुर सहिन
डा. आजलेम टुरेसी
२o८१ बैशाख २६ बुधबार १४:o५:oo
Read Time : > 5 मिनेट
ad
ad
टर्निङ प्वाइन्ट्स-२०२४ प्रिन्ट संस्करण

औषधि र प्रविधिको प्रयोग : क्यान्सरको अन्त्य

कृत्रिम बुद्धिमत्ता व्यक्तिकृत क्यान्सर खोप सञ्चालन गर्न कुञ्जी साबित हुन सक्छ

Read Time : > 5 मिनेट
डा. उगुर सहिन
डा. आजलेम टुरेसी
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १४:o५:oo

दशकौँअघि जर्मनीको एउटा विश्वविद्यालय अस्पतालको क्यान्सर वार्डका सिकारू चिकित्सकका रूपमा हामीले हाम्रा बिरामीहरूलाई अक्सर ‘अब तपाईंलाई उपलब्ध गराउने उपचारका कुनै विकल्पहरू बाँकी छैनन्’ भन्ने हृदयविदारक सन्देश दिइरहनुपथ्र्योे । त्यसबखत पछिल्लो चरणमा पुगेका क्यान्सरका मुख्य उपचार थिए– केमोथेरापी र विकिरणथेरापी । ती त्यस समयका प्रभावकारी उपचार विधि थिए, तर धेरैले चाहेअनुरूपका उपचार भने विधि थिएनन् ।
आज क्यान्सर उपचारको परिदृश्य आमूल रूपमा परिवर्तन भएको छ । हामीले सटिकताका साथ ट्युमर वृद्धिलाई रोक्न सक्ने नयाँ औषधिहरूको उदय साक्षात्कार गरिरहेका छौँ । केही अघिसम्म उपचार नहुने र अन्तिम चरणका क्यान्सरसमेत अब नियन्त्रणयोग्य हुन थालेका छन् । यद्यपि, मेटास्टेटिक क्यान्सर (शरीरभर फैलिएको) भएका अधिकांश बिरामीका लागि प्रभावकारी थेरापी भने अझै आइसकेको छैन ।

क्यान्सर अनुसन्धानमा बर्सेनि अर्बौँ डलर लगानी गरिए पनि कडा खालको क्यान्सर भएका बिरामीको उपचारको मानक अझै किन स्थापित हुन सकेको छैन र अपवादमै सीमित छ त ?

यो प्रश्नको जवाफ स्वयं क्यान्सरको प्रकृतिमा निहित छ । क्यान्सरको उदय स्वस्थ कोषिकाहरूभित्र अनियमित आनुवांशिक परिवर्तनहरूबाट हुन्छ, जसलाई उत्परिवर्तन भनिन्छ । उत्परिवर्तनलाई जीवनशैली, पारिवारिक विरासत, विद्यमान स्वास्थ्य अवस्था वा खतरनाक रसायनहरूसँगको साक्षात्कारले समेत सुरुवात गरिदिन सक्छ । जब उत्परिवर्तित कोषिकाहरू जम्मा हुँदै जान्छन्, ती क्यान्सरजन्य इकाइ (इन्टिटी)मा बदलिँदै जान्छन् ।

यसका दुईवटा प्रभाव हुन्छन् । पहिलो, प्रत्येक क्यान्सर उक्त क्यान्सर लागेको व्यक्तिजत्तिकै विशिष्ट (मौलिक) हुन्छ । यसको मतलब के भने एउटै प्रकारको क्यान्सर निदान भएकाहरूमा पनि उत्परिवर्तनको चरित्रमा एकदमै कम मात्र समानता हुन्छ । दोस्रो, हरेक ट्युमर अर्बौँ फरक–फरक कोषिकाहरूको एउटा जटिल संघटन हो, जसले हाम्रो प्रतिरक्षा प्रणालीबाट र हामीबाट हुने उपचारात्मक रणनीतिहरूको प्रतिरोध गर्न सिक्दै आफूलाई निरन्तर अनुकूलन गरिरहेको हुन्छ । तर, यी छलकारी शत्रुलाई जित्न हामीले निरन्तर सिकिरहने हाम्रो प्रतिरक्षा प्रणालीको शक्तिलाई उपयोग गर्न सक्यौँ भने के हुन्छ ? 

फेब्रुअरीमा बायोएनटेकका मारबर्ग (जर्मनी)को संयन्त्रमा जर्मनीका चान्सलर (प्रधानमन्त्री) ओलाफ सोल्जका साथ बायोएनटेकका संस्थापक डा. उगुर सहिन र डा. आलजेम टुरेसी । तस्बिर : फाबियन बिमर/रोयटर्स

हाम्रो शरीरको प्रतिरक्षा संयन्त्र अचम्मका क्षमताहरू भएका अर्बौँ कोषहरू मिलेर बनेको हुन्छ । तीमध्ये ‘टी’ कोषिकाहरूले हाम्रो शरीरको निरन्तर गस्ती लगाउँदै सतर्क चौकीदारको रूपमा काम गरिरहेको हुन्छ । यद्यपि, हाम्रो प्रतिरक्षा प्रणाली शरीरभित्रको उत्परिवर्तनको सट्टा भाइरस र ब्याक्टेरियाजस्ता बाह्य खतराहरूको सामना गर्न क्रमिक रूपमा विकसित हुँदै जाने गरी ‘प्रोग्राम’ गरिएको हुन्छ । यसकारण, उत्परिवर्तनको ठूलो अंशले हाम्रो प्रतिरक्षा प्रणालीको ध्यानाकर्षण नै गर्दैन ।

संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि विभागले दुई दशकमा पहिलोपटक अल्जाइमरको एउटा औषधिलाई पूर्णस्तरको स्वीकृति प्रदान गरेको छ

अब क्यान्सरका मागअनुसारका व्यक्तिकृत खोपहरू उपलब्ध भएको भविष्यको कल्पना गर्नुहोस् । जहाँ कोषिकाहरूलाई ट्युमरमा धेरैतिरबाट आक्रमण गर्न निर्देशन दिएर प्रतिरक्षा कोषिकाहरूका लागि ‘वान्टेड पोस्टर’को रूपमा काम गर्दै ती खोपले बिरामीको क्यान्सरको उत्परिवर्तनको विशिष्टताअनुरूप उपचार दिन्छन् ।

उन्नत पुस्ताको सिक्वेन्सिङ प्रविधि (जिनोम र तिनले इन्कोड गर्ने प्रोटिनहरूको अध्ययन) र डिएनए विश्लेषणका कारण केही घन्टाभित्र एउटा सानो बायोप्सीबाट उच्च रिजोलुसनमा प्रत्येक बिरामीको क्यान्सरको आनुवांशिकीय ढाँचा डिकोड (खुट्याउन) गर्न सम्भव भएको छ । नयाँ र व्यापक रूपमा उपलब्ध कम्प्युटिङ शक्तिले हामीलाई यस सिक्वेन्सिङले सिर्जना गर्ने ठूलो परिमाणको तथ्यांक प्रशोधन गर्न सहयोग गर्छ । सबैभन्दा सान्दर्भिक उत्परिवर्तनहरू पहिचान गर्न हामी एआई एल्गोरिदम र उन्नत कम्प्युटिङ उपयोग गर्छौँ । त्यसपछि ती ‘वान्टेड’ पोस्टर अर्थात् क्यान्सरजन्य कोष पहिचानको आधार बन्छन्, जसलाई खोपबाट मेसेन्जर आरएनए (एमआरएनए)मार्फत कोषहरूमा पठाइन्छ । खोप निर्माणका लागि हामीले रोजेको आरएनए प्रकृतिको सबैभन्दा आदिम सन्देशवाहक हो । यसलाई केही हप्ताभित्रै डिजाइन, अनुकूलित निर्माण नै गर्न सकिन्छ । आखिर क्यान्सररोगीहरूका लागि समय महŒवपूर्ण जो हुन्छ ।

क्यान्सरका सम्भावित व्यक्तिकृत खोपहरू अहिले कठोर परीक्षणको चरणबाट गुज्रिरहेका छन् र ती नियन्त्रित क्लिनिकल परीक्षणहरूमा मात्र उपलब्ध छन् । यी परीक्षणहरूले ‘टी’ कोषिकाहरूलाई सक्रिय र विस्तारित गर्दा सानो संख्याका बिरामीमा व्यक्तिकृत उपचारविधिको सम्भाव्यता देखाएको छ । निश्चित उत्परिवर्तनमा आधारित ट्युमरका कोषहरू पहिचान गर्न ‘टी’ कोषहरू सक्षम पाइएका छन् । मेलानोमा (छालाको क्यान्सर) र प्यान्क्रियाजको क्यान्सरमा गरिएका पछिल्ला क्लिनिकल परीक्षणहरूले शल्यक्रियापछि मेटास्टेटिक रिल्याप्स (क्यान्सर कोष)को जोखिम कम गर्न व्यक्तिकृत एमआरएनए खोपहरूको उपयोगको सम्भावना देखाएका छन् । अनुसन्धाताहरूले अहिले यी व्यक्तिकृत खोपहरूलाई वर्तमान उपचार विधिसँग तुलना गर्न केही क्यान्सरहरूमा ठूला क्लिनिकल परीक्षणहरू पनि सञ्चालन गरिरहेका छन् । यी परीक्षणहरूबाट प्राप्त हुने तथ्यांकले आउँदा दिनमा अहिले विकास भइरहेका क्यान्सरका व्यक्तिकृत खोपहरूको सुरक्षा र प्रभावकारिताबारे जानकारी दिनेछ ।

विज्ञान र प्रविधिमा प्रायः समानान्तर रूपमा प्रगति चल्छ, तर जब यिनको गति मिल्छ परिणामहरू अद्भुत हुन सक्छन् । एमआरएनए र कृत्रिम बुद्धिमत्ताको एकीकरणले बिरामीकेन्द्रित रूपान्तरणकारी उपचार पद्धतिहरूको आधारशिला खडा गर्दै औषधिको नयाँ युगमा प्रवेश गराउँछ ।

हामीलाई एआईले क्यान्सरका व्यक्तिकृत खोप र औषधिहरूको विकासमा निरन्तर रूपमा महŒवपूर्ण भूमिका खेल्नेमा विश्वास छ । एआई एल्गोरिदमले द्रुत रूपमा विशाल जिनोम डेटा संग्रहहरूको विश्लेषण गर्न सक्छ र परम्परागत विधिहरूले पत्ता लगाउन नसक्ने ढाँचा र सहसम्बन्धहरू पनि पहिचान गर्न मद्दत गर्छ । यो तीव्र र सटीक विश्लेषण विशेष गरी बिरामीको ट्युमरका अनेकौँ आनुवांशिकीय भिन्नताहरूबीच सान्दर्भिक क्यान्सर उत्परिवर्तनहरू पत्ता लगाउन उपयोगी हुन्छ । क्यान्सरका वैश्विक डाटाबेसहरू बढ्दै जाँदा उत्परिवर्तनहरूको चयन र प्रत्येक बिरामीको आवश्यकताअनुरूपको व्यक्तिकृत खोप डिजाइनका आकलनहरूमा निरन्तर सुधारको सम्भावना देखिन्छ ।

आफ्नो मोलिक्युलर फिचरहरूको कारण बहुमुखी प्रतिभाशाली एमआरएनएले हामीलाई सानो, समानान्तरकृत र स्वचालित म्यानुफ्याक्चरिङ सुविधाहरूबाट द्रुत, तर पर्याप्त मात्रामा खोप उत्पादन गर्न सक्षम बनाएको छ । समानान्तरकृत प्रडक्सन सुविधाले परम्परागत एसेम्बली लाइनको आवश्यकतालाई खारेज गर्छ र एकैसाथ विभिन्न वस्तुहरू उत्पादनको अनुमति दिन्छ । हाम्रा लागि एमआरएनएमा आधारित म्यानुफ्याक्चरिङका फिचरहरू व्यक्तिकृत औषधि (रोगको रोकथाम, निदान र उपचारको सन्दर्भमा गरिएका निर्णयहरूलाई मार्गदर्शन गर्न व्यक्तिको आनुवांशिक प्रोफाइल प्रयोग गर्ने उदीयमान अभ्यास)लाई एक दिन व्यापक रूपमा उपलब्ध गराउने सन्दर्भमा महŒवपूर्ण छन् । साथै, एआईको सहयोगमा समयमै वैज्ञानिक ज्ञानलाई व्यवहारमा उतार्न पनि यी फिचर महŒवपूर्ण छन् । यी प्रविधिहरूको संयोजनले बिरामीको ट्युमर उत्परिवर्तन प्रोफाइल परिवर्तन हुँदै जाँदा सोहीअनुरूप व्यक्तिकृत एमआरएनए खोपहरूमा द्रुत समायोजन सम्भव तुल्याउन सक्छ ।

बुहान (चीन)मा सर्भिकल क्यान्सरको तस्बिर निकाल्न एआईको प्रयोग गर्दै एक प्राविधिक

चिकित्सा अनुसन्धानको क्षेत्रमा एआई र एमआरएनएजस्ता प्रविधिहरूको मिलनले माइक्रोचिपहरूमा मुरेज लले जस्तै परिवर्तनकारी युगमा प्रवेश गराइरहेको छ । जसरी मुरेको नियमले कम्प्युटिङ शक्तिको तीव्र वृद्धिको भविष्यवाणी गरेको छ उसरी नै चिकित्सा र औषधिको क्षेत्रमा अहिले उस्तै प्रवेग देखिरहेका छौँ । यसले तात्कालिक, तर पूरा नभइरहेका चिकित्सा आवश्यकताहरूको सम्बोधनमा मद्दत गर्न सक्छ । यद्यपि, यसमा केही असमानता छन् । जुन गतिमा नयाँ ज्ञानको उजागरण भइरहेको छ र प्रविधिगत अवरोधहरू पार गरिँदै छ, त्यसले औषधिको वर्तमान विकास र उपचार पद्धतिहरूको अनुमोदनको क्षमतालाई पछि पारेको छ ।

तसर्थ, हाम्रो वर्तमान ज्ञान र प्रविधिगत विकासका आधारमा हामीले जे कुरा दिन सक्छौँ र यथार्थ धरातलमा बिरामीहरूलाई जुन उपचारको विकल्प दिन सकिएको छ त्यसका बीचको बढ्दो खाडललाई पुर्ने पहलकदमी लिन वैज्ञानिक, सरकार, जनस्वास्थ्य क्षेत्र र समाजहरूलाई एउटा खुला आह्वान भइरहेको छ । यी सबै कुरालाई ध्यानमा राख्दा हामी क्यान्सरका व्यक्तिकृत खोपबाट कति टाढा छौँ त ? यसको उत्तर दिन हतार हुन सक्छ । कुनै पनि नयाँ उपचारविधिले जसरी नै क्यान्सरका व्यक्तिकृत खोप प्रतिस्पर्धीहरूले पनि क्लिनिकल विकासका निर्धारित चरणहरू पार गर्नुपर्छ र विद्यमान उपचारविधिले भन्दा उच्च प्रभावकारिता प्रमाणित गर्नैपर्ने हुन्छ ।

हामी सन् २०३० सम्ममा क्यान्सरका केही निश्चित प्रकारका लागि यस्ता उपचारविधिहरूको ग्रहण र प्रारम्भिक स्वीकृतिको अपेक्षा गर्छाैँ । त्यसपछिको दशकले प्रविधि–सञ्चालित एउटा रूपान्तरण साक्षात्कार गर्न सक्छ । त्यसले हरेक बिरामीको आवश्यकताअनुरूपको व्यक्तिकृत उपचारलाई सर्वसुलभ र व्यापक रूपमा उपलब्ध गराउनेछ । क्यान्सर एकदमै व्यक्तिगत रोग हो र यो समयचाहिँ यसको उपचार पनि उसैगरी व्यक्तिकृत बन्ने समय हो ।

यो क्षेत्रमा भएका प्रगति
हालैका वर्षहरूमा अनुसन्धानमा भएका प्रगतिले क्यान्सरको उपचार गर्ने तौरतरिकालाई परिवर्तन गरेको छ । पछिल्ला केही अपडेट यस्ता छन् :
मोलिक्युललाई लक्षित गर्ने विधि : हरेक क्यान्सरमा कोषहरूको अनियन्त्रित र खतरनाक वृद्धिलाई प्रेरित गर्ने मोलिक्युलहरू हुन्छन् । यी मोलिक्युल्सलाई कोषिकाहरूलाई स्व–विनाशकारी बनाउने अन्य मोलिक्युल्ससँग जोडिदियो भने के हुन्छ ? वैज्ञानिकहरूको एउटा समूहले यही गरेको छ । यसले उपचारको नयाँ विधिको मार्गप्रशस्त गर्न सक्छ ।

र्‍याक्टल क्यान्सर : एउटा ठूलो क्लिनिकल परीक्षणमा अनुसन्धाताहरूले रेडियसन थेरापी नलिई क्यान्सरका कोषहरू हटाएर देखाएका थिए । यसले गम्भीर साइडइफेक्टहरू हुन सक्ने उपचार विधिहरूको विकल्प दिन सक्छ ।

क्यान्सर खोप : सानो स्तरमा गरिएको परीक्षणमा प्यान्क्रियाजको क्यान्सर भएका बिरामीलाई दिएको एउटा खोपले रोग प्रतिरोध क्षमतालाई उच्च बनाएर क्यान्सरका कोषहरू मारेको थियो । यसलाई विज्ञहरूले सम्भावनायुक्त भनेका छन् । यो अध्ययन रोगीहरूको ट्युमरअनुरूप क्यान्सरको खोप बनाउने अभियानको एउटा कोसेढुंगा हो ।

स्तन क्यान्सर : कम उमेरका महिलामा र अश्वेत महिलामा स्तन क्यान्सरको दर लगातार बढ्न थालेपछि चिन्तित भएर अमेरिकाको रोग निवारण टास्क फोर्सले ५० वर्षको सट्टा ४० वर्षको उमेरमा नियमित मेमोग्राम गर्न सिफारिस गरेको छ ।

(बायोएनटेकका संस्थापक वैज्ञानिकद्वय डा. सहिन र डा. टुरेसी एमआरएन खोप एवं व्यक्तिकृत क्यान्सर इम्युनोथेरापीका अग्रणी व्यक्ति हुन्।) -न्युयोर्क टाइम्सबाट

ad
ad