मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ३० शुक्रबार
  • Friday, 12 April, 2024
२०८० माघ १४ आइतबार ११:१७:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिस्नेखोला–नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने २३ फागुनको साइत

Read Time : > 3 मिनेट
२०८० माघ १४ आइतबार ११:१७:००

सिस्नेखोला–नागढुंगा सुरुङमार्गको मुख्य टनेल आगामी २३ फागुन (६ मार्च)मा ‘ब्रेक थ्रु’ गरिने भएको छ । आयोजनाको दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको छ । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग भने २३ फागुनमा ब्रेक थ्रु गर्ने तयारी गरिएको हो । 

शुक्रबारसम्मको प्रगतिअनुसार मुख्य टनेलमा अब ४५.६ मिटर खण्ड मात्रै खन्न बाँकी छ । दैनिक औसत चार–पाँच मिटरसम्म सुरुङ खन्न सकिन्छ । त्योअनुसार लगातार काम गरेमा दुई हप्तामै सुरुङमार्ग ब्रेक थ्रु गर्न सकिन्छ । तर, साइत हेराउँदा २३ फागुनमा सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्न उपयुक्त हुने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले नेपाल सरकार र जापानका उच्च अधिकारीहरूको उपस्थितिमा सुरुङमार्गको ब्रेक थ्रु गरिने बताए । ब्रेक थ्रु समारोहमा भौतिक पूर्वाधारमन्त्री, नेपालका लागि जापानी राजदूतलगायतका उच्च व्यक्तित्वहरू उपस्थित गराउने योजना छ । रेस्क्यु टनेलको ब्रेक थ्रु भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका थिए । 

भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा भन्छन्–
कोरोनालगायत कारणले ठेक्का अवधिमै आयोजना बन्न सकेन । तर, अन्य ठूला आयोजनाको तुलनामा यसको निर्माण 
कार्य द्रुत गतिमै भएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।

ठेक्का प्राप्त गरेपछि जापानी निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले डिसेम्बर ०२० (पुस ०७७) देखि सुरुङ खन्न सुरु गरेको थियो । त्यसको तीन वर्षपछि मुख्य ब्रेक थ्रु हुन लागेको मुख्य टनेलको ब्यास ९.५ मिटर रहेको छ, जहाँ दुई लेन सडक हुनेछ । यसको उचाइ भने ८.३ मिटरको रहेको छ । रेस्क्यु टनेलको ब्यास भने ४.५ मिटर हुनेछ, जहाँ सिंगल लेन सडक हुनेछ । 

मुख्य टनेलमा मात्रै सवारीसाधन आवतजावत गर्न पाउनेछन् । मुख्य टनेलमा हुन सक्ने दुर्घटनाको उद्धार गर्न रेस्क्यु टनेल बनाइएको हो । जहाँ सुरक्षाकर्मीको गाडी, एम्बुलेन्स, वारुण यन्त्रजस्ता सवारीसाधन जान पाउनेछन् । बीच–बीचमा क्रस प्यासेज बनाएर मुख्य र रेस्क्यु टनेललाई जोडिएको छ । 

दुईपांग्रे (मोटरबाइकलगायत), पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्रक र ठूला आकारका गाडीबाहेक सबै प्रकारका सवारीसाधनलाई टनेलमा खुला गरिनेछ । यद्यपि, त्यसका लागि शुल्क भने तिर्नुपर्नेछ, त्यस्तो शुल्क निर्धारण गर्न अहिले आवश्यक अध्ययन भइरहेको छ । 

सुरुङमार्ग सञ्चालनमा आउन थप एक वर्ष लाग्ने
परियोजना सञ्चालनमा आउन भने थप एक वर्ष समय लाग्ने आयोजनाका परामर्शदाता रमेश कोइरालाले बताए । ‘यसमा सुरुङमार्ग ब्रेक थ्रु गरेर हुँदैन, भित्रको सडक ढलान गर्नुपर्ने हुन्छ । यसैगरी, सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने, कन्ट्रोल सिस्टम बनाउने, टेलिफोन जडान गर्ने, रेस्क्यु सेन्टर बनाउने, लाइट जडान गर्ने, तापक्रम मिलाउनेलगायतका काम गर्नुपर्छ,’ उनले भने, ‘सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि पनि सुरुङलाई सञ्चालनका लागि योग्य (स्टेबल) बनाउन थप न्यूनतम ६ महिना समय पर्खनुपर्छ ।’ यसका अलावा आयोजनाअन्तर्गतको फ्लाई ओभर बनाउने काम पनि बाँकी छ । त्यो सुरुङमार्ग अगाडि नै बनाउन सकिन्छ । यस्ता काम सम्पन्न गर्न थप एक वर्ष समय लाग्ने परामर्शदाता कोइरालाले बताए । ‘आगामी मार्चमा बे्रक थ्रु हुँदा ०२५ को मार्चसम्ममा परियोजना सञ्चालनमा ल्याउन सकिन्छ,’ उनले भने । परियोजना तयार भएपछि केही महिना जापानलाई सञ्चालन गर्न प्रस्ताव पनि गरिएको छ । ‘नेपालमा सुरुङमार्ग सञ्चालन गर्ने प्राविधिक जनशक्ति छैन, त्यो प्रकारको ज्ञान पनि हामीसँग छैन,’ महानिर्देशक ढकालले भने, ‘त्यसैले हामीलाई तालिम दिने गरी केही महिना जापानलाई सुरुङमार्ग सञ्चालन गर्न अनौपचारिक प्रस्ताव गरेका छौँ । आवश्यक ज्ञान र सीप हासिल गरेपछि नेपालले नै यो सञ्चालन गर्छाैँ ।’ यदि, यहीबीचमा आवश्यक तालिम प्राप्त भएमा सुरुदेखि नेपालले सुरुङमार्ग सञ्चालन गर्ने उनले बताए । 

समग्र भौतिक प्रगति कति ? 
आयोजना कार्यालयको तथ्यांकअनुसार सुरुङ खन्नेतर्फ ९९ प्रतिशत काम सकिएको छ । रेस्क्यु टनेलसँगै १२६ मिटरका वर्किङ अडिट र एक सय २८ मिटरको क्रस प्यासेज खन्ने काम सकिएको छ । अब ४५.६ मिटरबराबरको मात्रै मुख्य टनेल खन्न बाँकी छ । 

हालसम्म आयोजनाको भौतिक प्रगति ६१.१५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ६३.९६ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । परियोजनाका ११ वटा संरचना तयार भइसकेका छन् । आयोजनामा बन्ने १२ संरचनामध्ये तीन अन्डरपास र चार बक्स कल्भर्ट (माथि गाडी गुड्ने तल पानी बग्ने संरचना)को निर्माण सकिएको छ । यसैगरी, एक ओभरपास, तीनवटा पुलको निर्माण पनि सम्पन्न भइसकेको छ । फ्लाई ओभर भने निर्माणको चरणमा छ ।

तर, अप्रिलसम्म मात्रै म्याद 
सरकारसँग भएको सम्झौताअनुसार कम्पनीले अप्रिल ०२३ सम्म काम सक्नुपर्ने थियो । तर, कोरोनालगायतका कारण काम नभएपछि ठेक्काको म्याद दुईपटक थप गरेर २५ अप्रिल ०२४ सम्म पुर्‍याइएको छ । यो म्याद सकिन अब तीन महिना मात्रै बाँकी छ, जुन अवधिमा काम सकिने सम्भावना न्यून छ । कम्पनीबाट प्रस्ताव आएमा म्याद थप गर्न सकिने विभागका महानिर्देेशक ढकालले बताए ।

यद्यपि, अन्य आयोजनाको तुलनामा यसको निर्माण द्रुत गतिमा भएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । ‘कोरोनालगायतका कारणले ठेक्का अवधिमै आयोजना बन्न सकेन । तर, अन्य ठूला आयोजनाको तुलनामा यसको निर्माण कार्य द्रुत गतिमै भएको छ,’ उनले भने, ‘यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।’ सञ्चालनमा आइसकेका ठूला आयोजना मेलम्ची खानेपानी र चार सय ५६ मेगावाटको अपर तामाकोशी निकै ढिला गरी बनेका थिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलको निर्माणमा पनि केही ढिलाइ भएको थियो । अन्य ठूला परियोजनाको निर्माण कार्य सन्तोषजनक छैन, त्यो अवस्थामा नागढुंगा सुरुङमार्गको प्रगतिलाई राम्रो मान्नुपर्ने विज्ञहरू बताउँछन् ।

यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो । यो टनेल बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा केही छोटिनेछ । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको यो सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । सुरुङमार्ग बनाउन सडक विभाग र जापानी कम्पनी हाजमा एन्डो कर्पाेरेसनबीच सेप्टेम्बर ०१९ मा ठेक्का सम्झौता भएको थियो । २०१९ अक्टोबर २१ मा यस आयोजनाको शिलान्यास गरिएको थियो । त्यसपछि नोभेम्बर ०२० देखि आयोजनाको निर्माण कार्य सुरु भएको थियो । आयोजनामा स्वदेशी तथा जापानी गरेर झन्डै ६ सय कामदार रहेका छन् । 

यो आयोजना बनाउन कुल २२ अर्ब १४ करोड लाग्ने अनुमान छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ८५ करोड नेपालको लगानी हो ।