१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार २o:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

राेमाञ्चक म्याचमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा

बलिङमा आकाश चन्द र ब्याटिङमा कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २o:१५:oo

बलिङमा आकाश चन्द र ब्याटिङमा कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । 

प्रतियोगिताअन्तर्गत समूह चरणका अघिल्ला दुई म्याचमा न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई पन्छाउँदै सुपर सिक्समा स्थान बनाएको हो । अफगानिस्तानलाई जितेपछि नेपालले दुई अंक आर्जन गर्‍याे भने अफगानिस्तान अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो । 

टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ रोजेपछि फिल्डिङमा उत्रिएको नेपालले अफगानिस्तानलाई एक सय ४५ रनमै अलआउट गरेको थियो । तीव्र गतिका बलर आकाश चन्दले घातक बलिङ गर्दै आठ ओभरमा पाँच विकेट लिएपछि अफगानिस्तानको ढाड भाँचिएको थियो ।  

तर, एक सय ४६ रनको सामान्य लक्ष्य पछ्याएको नेपाली युवा टिम सुरुदेखि नै दबाबमा देखियो । कप्तान देव खनालबाहेक अन्य कुनै पनि मुख्य ब्याटरले आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन् । एकपछि अर्को विकेट गुमाएपछि हारतर्फ अघि बढेको टिमलाई कप्तान खनालले एक इन्डबाट सम्हालिरहे र जितको सँघारसम्म डोर्‍याए । 

जितका लागि ७६ बलमा १८ रन बाँकी रहँदा देव आउट हुन पुगे । ८९ बलको सामना गरेका देवले सात चौकाको मद्दतमा ५८ रनको धुरी पारी खेले । खनालले आकाश त्रिपाठीसँग ४९ तथा दीपक बोहरासँग ३६ रनको महत्वपूर्ण साझेदारी गरे । यिनै दुई साझेदारीले नेपाललाई जितसम्म पुर्‍यायो । 

बलिङमा निकै सुदृढ प्रदर्शन गरेको नेपालले ब्याटिङमा निकै खराब सुरुवात गरेको थियो । ४.२ ओभरमा टिमको रन ११ रन रहेका वेला नेपालले फर्ममा रहेका ओपनर अर्जुन कुमाललाई गुमाएको थियो । चार रन जोडेलगत्तै नेपालले गुल्सन झा पनि आउट भए । 

नेपालले ८.१ ओभरमा २४ रनको अवस्थामा अर्का ओपनर विपिन रावललाई गुमायो । गुल्सन आउट भएपछि क्रिजमा आएका कप्तान खनालले आकाश त्रिपाठीसँग मिलेर ४९ रनको साझेदारी गरेपछि नेपाल खेलमा फर्कियो । 

२३.१ ओभरमा व्यक्तिगत १६ रनमा आकाश आउट भए । थप १३ रन जोड्दा २६.५ ओभरमा नेपालले पाँचौँ विकेटका रूपमा दीपक डुम्रेलाई गुमायो । डुम्रे पाँच रन बनाएर पेभेलियन फर्किए । लगत्तै चार रन बलमा चार रन बनाएर दीपक कँडेल आउट भए । 

बलिङमा भने आकाशसँगै अन्य बलरले पनि महत्वपूर्ण भूमिका खेलेका थिए । आकाशले आठ ओभरमा ३४ रन मात्र खर्चिएर कीर्तिमानी पाँच विकेट लिँदा दीपेश कँडेलले आठ ओभरमा १७ रन दिएर दुई, तिलक भण्डारीले आठ ओभरमा २८ रन दिएर एक विकेट लिए । यसैगरी, आठ ओभर नै बलिङ गरेका सुवास भण्डारीले १५ रन दिएर एक तथा गुल्सन झाले ४२ रन दिँदै एक विकेट लिए । 

ad
ad