१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
निकोलस रिस
२o८१ बैशाख २४ सोमबार १o:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

सन् २०२४ मा विश्वव्यापी चुनावी माहोल

Read Time : > 2 मिनेट
निकोलस रिस
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:o७:oo

सन् २०२४ लोकतन्त्रका लागि सबैभन्दा ठूलो वर्ष हुनेछ । मानव इतिहासको यो अद्वितीय कालमा विश्वभरका चार अर्बभन्दा बढी मानिस अर्थात् ४० मुलुकमा फैलिएका विश्वको आधाभन्दा बढी जनसंख्याले मतदान गर्नेछन् । अमेरिका, भारत, इन्डोनेसिया, रुस, बेलायत, पाकिस्तान, ताइवान, मेक्सिको, दक्षिण अफ्रिकालगायत मुलुकमा राष्ट्रिय चुनाव हुँदै छ । युरोपियन युनियनमा पनि चुनाव हुँदै छ ।

विविध मुलुक र ठूलो संख्याका मानिस सहभागी हुने चुनावको व्यस्त तालिका निकै अभूतपूर्व छ । मतदाताको यो कीर्तिमानी संख्या हेर्दा विश्वभर लोकतन्त्रको विजय भएको प्रतीत हुन्छ । तर, सूक्ष्म ढंगले हेर्ने हो भने लोकतन्त्रलाई विभिन्न ठाउँबाट जोखिम छ । यी चुनौती मुलुकैपिच्छे फरक भए पनि केही साझा प्रवृत्ति देखा परेका छन् । सन् ०२४ मा विश्वमै प्रभाव पार्ने केही चुनाव यसप्रकार छन् |:

अमेरिका :  सन् २०२४ को बढी प्रतीक्षित चुनाव भनेको नोभेम्बरमा राष्ट्रपति र दुवै सदनका लागि हुने अमेरिकी आमचुनाव हो । दशकौँदेखि अमेरिका विश्वकै शक्तिशाली लोकतन्त्रका रूपमा उभिएको छ । यति मात्रै होइन, अमेरिका कमी–कमजोरीसहित नै भए पनि विश्वभरका लोकतान्त्रिक मुलुकको जमानी पनि हो । डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार हुन् ।

अनुदारवाद बढेको, लोकतान्त्रिक संस्था कमजोर भएको र युवामाझ लोकतन्त्रप्रति मोहभंग भएका वेला विश्वव्यापी चुनाव भइरहेका छन्

राष्ट्रपतिका रूपमा ट्रम्पको अघिल्लो कार्यकालमाथि भेराइटिज अफ डेमोक्रेसी (भी–डेम) ले गरेको विश्लेषणअनुसार लोकतन्त्रलाई कमजोर पार्नेमा उनी अगाडि रहेको देखाएको थियो । अहिले उनले आफ्ना राजनीतिक विपक्षीलाई सजाय दिने भनिरहेका छन् । उनी न्यायालयको स्वतन्त्रतालाई उपेक्षा गर्ने र सरकारी प्रशासनको गैरराजनीतिक क्षेत्रमा राष्ट्रपतीय शक्तिको विस्तार गर्ने वाचा गरिरहेका छन् । अधिकांश प्रमुख मत सर्वेक्षणमा ट्रम्प राष्ट्रपति जो बाइडेनभन्दा अगाडि छन् ।

भारत र इन्डोनेसिया : विश्वको दोस्रो र चौथो धेरै जनसंख्या भएका राष्ट्र भारत र इन्डोनेसियामा लोकतन्त्रको उदय मानव स्वतन्त्रताको विश्वव्यापी प्रगतिको महत्वपूर्ण घटना हुनेछ । एक अर्ब ७० करोडको संयुक्त जनसंख्या भएका यी विकासशील राष्ट्रमा चुनाव आधुनिक प्रशासनतन्त्रमा चमत्कार पनि हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अप्रिल र मे महिनामा हुने सम्भावित निर्वाचनमा तेस्रो कार्यकालका लागि पुनरागमन गर्नेमा लगभग निश्चिन्त देखिन्छन् ।

इन्डोनेसियाका रक्षामन्त्री प्राबोवो सुब्यान्टो फेब्रुअरीमा हुने राष्ट्रपति चुनावमा स्पष्ट रूपमा अगाडि छन् अर्थात् उनी विश्वका सबैभन्दा ठूलो मुसलमान राष्ट्रका नयाँ राष्ट्रपति हुनेछन् । दुवै अवस्थामा यी ‘दबंगाइ’ नेता स्वतन्त्र र निष्पक्ष चुनावमा सत्तामा पुग्ने जोखिम देखिन्छ । तर, यी दुवैको विजयपछि लोकतान्त्रिक संस्थालाई अप्ठ्यारोमा पार्ने अनुदार नीति लागू हुने सम्भावना छ ।

बेलायत र युरोप :  बेलायत सन् २०२४ को मध्यपछि आमचुनावमा जाने सम्भावना छ । हालका केही सर्वेक्षणले केइर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीको विजय हुने आकलन गरेको छ, अर्थात् १४ वर्षमा पहिलोपटक सरकार परिवर्तन हुने देखाएको छ । यदि त्यसो भयो भने यसले व्यापक हिंसाविना विपक्षी स्वार्थबीच राजनीतिक शक्ति हस्तान्तरण गर्न लोकतन्त्र सक्षम छ भन्ने देखाउनेछ । यस्तो उपलब्धिका लागि मानवताले इतिहासको अधिकांश समय संघर्ष गर्ने गरेको छ । युरोपका अन्य चुनावले त्यहाँका लोकरिझ्याइँवादी उग्र–दक्षिणपन्थी सफल हुने वा नहुने भन्ने कसीको काम गर्नेछ । नोभेम्बरमा नेदरल्यान्ड्समा इस्लामविरोधी चरमपन्थी गियर्ट वाइल्डर्सको चुनावी सफलताले धेरै विश्लेषकले उग्र–दक्षिणपन्थी समर्थनमा वृद्धि हुने अनुमान गरेका छन् । यो वृद्धि जुनमा हुने युरोपेली संसदीय चुनावमा प्रकट हुने अपेक्षा गरिएको छ । यसबाहेक यसले अस्ट्रिया, बेल्जियम, क्रोएसिया र फिनल्यान्डजस्ता देशमा राष्ट्रिय चुनावलाई प्रभाव पार्ने भविष्यवाणी गरिएको छ ।

अफ्रिका : यो वर्ष अफ्रिकाका रुवान्डा, घाना, ट्युनिसिया, दक्षिण सुडान र अल्जेरियालगायत दर्जनौँ देशमा राष्ट्रिय निर्वाचन हुँदै छ । तर, सबैभन्दा बढी ध्यान दक्षिण अफ्रिकाको चुनावमा केन्द्रित हुनेछ, जुन सन् १९९४ मा अपर्थाइड (रंगभेद) अन्त्यपछिको सबैभन्दा महत्वपूर्ण चुनाव हुनेछ । हालको सर्वेक्षणअनुसार अफ्रिकन नेसनल कंग्रेस (एएनसी) तीन दशकको सत्तापछि पनि सरकार चलाउन आवश्यक ५० प्रतिशत मत जुटाउन सक्षम हुनेछैन । नतिजा ३० वर्षको एकदलीय शासन अन्त्य हुने सम्भावना देखिन्छ ।

फर्जी चुनाव :  सन् २०२४ का यस्ता चुनावमा पनि जोड दिनु आवश्यक छ, जहाँ स्वतन्त्रता र निष्पक्षता दुवैको अभाव हुने अनुमान गरिएको छ । रुस, रुवान्डा र बेलारुस तानाशाह शासकद्वारा शासित छन्, जसले विपक्षीलाई जेल हाल्छन् र ९० प्रतिशत वा सोभन्दा बढी बहुमत ल्याउने फर्जी चुनाव गराउँछन् । यससँगै इरान र ट्युनिसियामा यस्तो चुनाव हुनेछ, जहाँ नेतृत्वले विपक्षीलाई प्रतिस्पर्धा गर्न त दिन्छन्, तर जित्न दिँदैनन् । 

के लोकतन्त्र यी परीक्षामा सफल हुनेछ ? : विश्वव्यापी अनुदारवाद बढेको, लोकतान्त्रिक संस्था कमजोर भएको र विशेषतः युवामाझ लोकतन्त्रप्रति मोहभंग भएका वेला चुनाव भइरहेका छन् । यद्यपि ऐतिहासक समयक्रममा विश्व लोकतन्त्रतर्फ ढल्किने गरेको ऐतिहासिक प्रवृत्तिका हामी साक्षी छौँ । तसर्थ सतर्क आशावादका लागि ठाउँ छ । 

लोकतन्त्र धेरैजसो विकासोन्मुख राष्ट्रका लागि रुचाइएको मोडेल हो । फ्रिडम हाउसले सन् १९९० मा ६९ चुनावी लोकतन्त्रबाट सन् २०१४ मा एक सय २२ पुगेको देखाउँछ । अर्थात्, तानाशाहहरूले पनि लोकतान्त्रिक अनुहार प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । यता उन्नत लोकतन्त्रमा हुने सर्वेक्षणले लगातार लोकतान्त्रिक आदर्शका लागि बलियो समर्थन प्रकट गरेको देख्न सकिन्छ । अझै पनि लोकतन्त्र अन्यभन्दा श्रेष्ठ विकल्प हो । त्यसैले, सन् २०२४ मा लोकतन्त्रको बलियो परीक्षा हुनेछ ।

(रिस मेलबर्न स्कुल अफ गभर्नमेन्टका प्रमुख अध्येता हुन्) द कन्भर्सेसनबाट

ad
ad