१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ १० बुधबार ०६:०१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने युवतीलाई ६ महिना जेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ १० बुधबार ०६:०१:००

विभिन्न व्यक्तिसँग नजिकिने, एकान्तमा भेट्न बोलाउने र पछि ब्ल्याकमेलिङ गरेको उजुरी युवतीविरुद्ध थियो । एक ठेकेदार, प्रहरी कर्मचारी तथा सहकारीका कर्मचारीलाई उनले ब्ल्याकमेलिङ गरेकी थिइन् । एक व्यक्तिविरुद्ध भने जबर्जस्तीकरणी मुद्दामा जाहेरी नै दिएर पक्राउ गराएकी थिइन् । जसमा ती व्यक्तिले सफाइ पाएका थिए । 

पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका– ६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो ।

थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश श्यामलाल घिमिरेको इजलासले कैद र जरिवानासँगै उनीबाट पीडित पुरुषलाई सात लाख क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । त्यस्तै, युवतीका सहयोगी ललितपुर महालक्ष्मी नगरपालिका– ५ का सुदर्शन सापकोटालाई सात दिन कैद र एक हजार जरिवानाको फैसला सुनाइएको छ । 

प्रहरीकै एक कनिष्ट अधिकृतलगायत व्यक्तिले थापाविरुद्ध उजुरी दिएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले ६ मंसिर ०७८ मा थापा र सापकोटालाई पक्राउ गरी मुद्दा चलाएको थियो । व्यक्तिगत लेनदेनको पैसा फिर्ता माग्दा थापाले बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङ गरेको पुष्टि भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो । जसमा अदालतले आंशिक ठहरको फैसला गरेको हो । 

विभिन्न व्यक्तिसँग नजिकिने, एकान्तमा भेट्न बोलाउने र पछि ब्ल्याकमेलिङ गरेको उजुरी युवतीविरुद्ध थियो । एक ठेकेदार, प्रहरी कर्मचारी तथा सहकारीका कर्मचारीलाई उनले ब्ल्याकमेलिङ गरेकी थिइन् । एक व्यक्तिविरुद्ध भने जबर्जस्तीकरणी मुद्दामा जाहेरी नै दिएर पक्राउ गराएकी थिइन् । जसमा ती व्यक्तिले सफाइ पाएका थिए । 

धनाढ्य पुरुषसँग नजिकिने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङका घटना बढिरहेका छन् । यस्ता घटनामा प्रहरीले कैयौँलाई पक्राउ गरेर मुद्दा दायर गर्दै आएको छ । 

०७९ साउनमा दाङमा दिलीपकुमार वली, विमला डाँगी, शान्ता नेपाली, शर्मिला नेपाली र पवित्रा डाँगीलाई पक्राउ गरेको थियो । एक सुनपसलेलाई फसाउने योजनाअनुसार उनीहरूले धम्क्याएर चेक लिएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको थियो । 

१३ साउन ०७९ मा काठमाडौंमा प्रहरीले यस्तै घटनाको अनुसन्धान गरेको थियो । एक युवतीले ७० वर्षीय वृद्धलाई ‘हनी ट्र्याप’मा पारी पैसा असुलेको अनुसन्धानमा खुलेको थियो ।सोलुखुम्बुको नेचासल्यान नगरपालिका–३ घर भई बालकोट बस्दै आएकी २४ वर्षीया रोजिना राउत र उनका श्रीमान् शेखर बाँस्तोलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

रोजिना फेसबुक मेसेन्जरमा एक वृद्धसँग च्याटमार्फत नजिकिएकी छिन् । च्याटमा गोप्य तस्वीर तथा भिडियो आदानप्रदान गरी आफूमाथि दुव्र्यवहार भएको भन्दै उनले प्रहरीमा उजुरी गर्ने धम्की दिएर पैसा मागेकी थिइन् । उनका श्रीमान् शेखरले वृद्धलाई फोन गरी आफू प्रहरी ब्युरोको इन्स्पेक्टर भएको र सो केस नमिलाए पक्राउ गरिने भन्दै धम्क्याएका थिए । पूर्वयोजनाअनुसार नै फेसबुकमार्फत उनीहरूले बृद्धलाई फसाएका थिए । ती वृद्धले सुरुमा एक लाख ६५ हजार दिएका थिए । पछि थप तीन लाख मागिएको थियो । त्यसपछि शंका लागेर उनले प्रहरीलाई खबर गरेपछि तीन लाख आउने क्रममा दम्पती पक्राउ परेका थिए ।

०७८ मै दाङमा प्रहरीले सीतादेवी थापासहित तीनजनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । त्यस्तै, पाँच वर्षअघि पक्राउ परेकी आशिका परियारले ठेकेदारलगायत धेरै व्यक्तिलाई यसरी नै फसाएको प्रहरी अनुसन्धानमा खुलेको थियो । बलात्कारका कतिपय नक्कली उजुरीसमेत पर्ने गरेको प्रहरी अधिकारी बताउँछन् ।