१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
अशोका मोदी
२o८१ जेठ ३ बिहीबार १o:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

भारतको धर्मनिरपेक्षताको सूक्ष्म अवसान

Read Time : > 2 मिनेट
अशोका मोदी
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:o१:oo

आज २२ जनवरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याको राममन्दिरमा प्राण–प्रतिष्ठा गर्नेछन् । सन् १९९२ मा बाबरी मस्जिद भत्काइएको ठाउँमा आज कार्यकारी अधिकार प्रतीकात्मक रूपमा हिन्दू धर्ममा विलय हुनेछ । आजको घटनाले भारतीय शासक भगवान् विष्णुको अवतार हो भन्ने किंवदन्ती ब्युँतिनेछ । भारतीय बालबालिकाले मिथकीय भगवान् रामलाई उत्सवका रूपमा लिनेछन् । यो उत्सव अराजक विचारक विनायक दामोदर (वीर) सावरकरको शताब्दियौँ लामो उद्देश्यको पूर्ति हो ।

सन् १९२३ मा आफ्नो पुस्तिका ‘हिन्दुत्व’मा सावरकरले हिन्दुकेन्द्रित भारतीय राष्ट्रवाद अघि सारेका थिए । हिन्दु धर्मको श्रेष्ठतम समानताको सन्देशलाई विभाजित गर्दै उनले मित्र र शत्रुको अवधारणा अघि सारेका थिए । उनले भारतमा पुख्र्याैली थलो भएका र पितृभूमि भारतप्रति बफादारी जनाउनेलाई मित्र मानेका थिए भने अन्यलाई शत्रु । 

सन् १९२५ मा सावरकरबाट प्रभावित भएर राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) नामक हिन्दुत्वको सैन्य शाखा बनेको थियो । आरएसएसमा युवा भर्ती गरिन्छ, जहाँ तिनलाई लडाकुको तालिम दिइन्छ र भारतको ‘गौरवशाली’ इतिहास पढाइन्छ । आरसएसले भर्ती भएकामाझ सावरकरले भन्ने शत्रु र मित्रको भिन्नताका आधारमा राजनीतिक हिंसा र असहिष्णुताको प्रोत्साहन गराउँछ । सम्भवतः मोदी आरएसएसका सबैभन्दा चर्चित शिष्य होलान् । सुरुमा महात्मा गान्धी नेतृत्वको भारतीय राष्ट्रिय कांग्रेसको धर्मनिरपेक्ष वैचारिकीले हिन्दुत्वको प्रतिरोध गरेको थियो । त्यसवेला कांग्रेसको विचार बेलायती उपनिवेशविरोधी स्वतन्त्रता आन्दोलनसँग जोडिएको थियो । तर, हिन्दुत्व शक्तिले गान्धीले आह्वान गरेको धार्मिक सौहार्द्रता मुसलमानको तुष्टीकरणका रूपमा लियो । अन्ततः सन् १९४८ मा सावरकरको विचारबाट प्रभावित एक व्यक्तिले गान्धीको हत्या गरे । 

सन् १९९२ मा बाबरी मस्जिद भत्काइएको ठाउँमा आज कार्यकारी अधिकार प्रतीकात्मक रूपमा हिन्दू धर्ममा विलय हुनेछ

स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्रीले भौतिक एवं सामाजिक उन्नतिको अपेक्षा गर्दै प्रगतिशील धर्मनिरपेक्ष भारतीय आदर्श अघि सारेका थिए । तर, सन् १९६४ मा नेहरूको निधनलगत्तै कांग्रेसभित्र र बाहिरका साम्प्रदायिक शक्ति चलमलाए । भारतको धर्मनिरपेक्ष आदर्शलाई १९ अप्रिल १९७६ मा ठूलो धक्का लाग्यो जब तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीका कान्छा छोराले आमाको संकटकालीन शासनमा तानाशाही शक्ति प्रयोग गर्दै मुसलमानमाथि अत्याचार गरे । त्यस दिन दिल्लीको जामा मस्जिदछेउमा अपमानजनक ढंगले मुसलमानको जबर्जस्ती बन्ध्याकरण गरियो र नजिकैको तुर्कमान गेटबाट मुसलमान सुकुम्बासी धपाउने क्रममा आमहत्या गरियो ।

यसले कांग्रेसको मुसलमान भोट घटेपछि इन्दिरा गान्धीले हिन्दु भोटतर्फ ध्यान दिइन् । नतिजा उनले कट्टर हिन्दुत्वका लागि ढोका खोलिन् । आरएसएससँग संवाद बढाइन् र सन् १९८० को सुरुवातमा हिन्दु–मुसलमान दंगा भइरहँदा हिन्दु प्रतीकको प्रयोगमा बढोत्तरी गरिन् । जम्मु कस्मिर चुनावमा हिन्दुलाई बढावा दिने काम र शिख लडाकु सन्त भिन्ड्रावालेप्रतिको समर्थनले हिन्दु पहिचानावादी राजनीतिलाई थप प्रोत्साहन मिल्यो । जब गान्धीलाई उनका शिख रक्षकले हत्या गरे त्यसपछि कांग्रेसले रचेको शिखविरोधी हिंसामा कैयौँ बेरोजगार युवा हिन्दु राष्ट्रवादका लडाकु बने ।

सन् १९८० को दशकमा भएका दुई घटनाक्रमले राजनीतिक हिन्दुवादले भारतलाई एक बनाएको देख्ने सावरकरको सपना पूरा ग¥यो । सन् १९८३ मा कट्टर हिन्दुत्व शक्तिले ‘भारतको एक आत्माको उत्सव मनाउन एकात्मता यात्रा’ थालेको थियो । सन् १९८७–८८ मा प्रधानमन्त्री राजीव गान्धी (इन्दिरा गान्धीका जेठा छोरा)ले राज्य स्वामित्वको टेलिभिजन दूरदर्शनमा रामायण प्रसारण गर्न निर्देशन दिए जहाँ भगवान् रामलाई हिन्दुत्वका नायकका रूपमा पेस गरियो । 

राजीव गान्धीले नै विवादित बाबरी मस्जिद हिन्दुका लागि खोलिदिएका थिए । सन् १९४९ मा हिन्दु अतिवादीले मस्जिदमा राम जन्मभूमि रहेको दाबी गरेयता मस्जिद बन्द थियो । त्यसपछि सन् १९९२ मा हिन्दु अतिवादी जत्थाले बाबरी मस्जिद भत्काएपछि रक्तपातयुक्त द्वन्द्व भड्किँदा कांग्रेस नेतृत्वको पिभी नरसिंह राव सरकार बिलखबन्दमा पर्‍यो । 

सन् १९७६ को तुर्कमान गेट आमहत्यादेखि सन् १९९२ मा भएको बाबरी मस्जिद विध्वंशको १६ वर्षले भारतको धर्मनिरपेक्षतालाई ओझेलमा पार्दै लग्यो । र, अन्ततः सन् २०१४ मा विशालकाय हिन्दुत्वले विजय हासिल गर्‍यो । अर्थात् हिन्दुत्वको राजनीतिक रूप भाजपाले नरेन्द्र मोदी नेतृत्वमा संसद्मा बहुमत हासिल गर्‍यो । 

राज्य संयन्त्रमा हिन्दु प्रतीक र भावना व्यक्त हुँदा अनिष्ट हुने हो कि भन्ने देखिन्छ । मोदीले सावरकरलाई अर्धदेवता नै बनाइदिएका छन् । धर्मशासित राज्यको झल्को दिने गरी नयाँ संसद् भवन उद्घाटन हिन्दु परम्पराअनुसार गरियो । नोभेम्बर २०१९ मा ऐतिहासिक प्रमाणविनै बाबरी मस्जिद भएको ठाउँमा हिन्दुको ‘आस्था र विश्वास’का आधारमा सर्वोच्च अदालतले राममन्दिर बनाउन दिने निर्णय गर्‍यो । 

हिन्दुत्वको विकासमा अघिल्लो शताब्दीमा केही समय रोक लागेकै हो । तर, बीचबीचमा सत्ताका लागि धर्मनिरपेक्ष भनिएका शक्तिबाट धर्मको दुरुपयोग नभएको भने होइन । यी धर्मनिरपेक्ष शक्तिले मित्र र शत्रुको हिन्दुत्ववादी भाष्यलाई मलजल गरेकै हुन्, जसले अहिले भारतलाई गाँजिरहेको छ । अहिले हिंस्रक हिन्दुत्व जुन हिन्दु धर्मको शान्तिको सन्देशनजिक कुनै कोणबाट पनि छैन, यसले राजनीति र संस्कृतिलाई नराम्ररी गाँजेको छ ।  

(मोदी भारतीय मूलका अमेरिकी अर्थशास्त्री हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad