१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २१ शुक्रबार १o:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रिक्त भएको ६ महिनामा हाजिर भएका प्रशासकीय प्रमुख तीन हप्ता नपुग्दै सरुवा 

मेयर साह भन्छन् – अब नगरपालिकामा आफैँ ताला लगाएर चाबी मन्त्रालयमा बुझाउँछु 

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२७:oo

लामो समय प्रशासकीय प्रमुखविहीन बनेको सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रशासकीय प्रमुखलाई फेरि सरुवा गरिएको छ । हरिपूर्वा नगरपालिकामा ६ महिनापछि प्रशासकीय प्रमुखको रूपमा उपसचिव शम्भुप्रसाद यादव हाजिर भएका थिए । उनलाई तीन साता पनि नपुगी बुधबार सरुवा गरिएको छ ।  

सामान्य प्रशासन मन्त्रालयले गत मंसिर २८ गते उपसचिव यादवलाई हरिपूर्वा नगरपालिकाको प्रशासकीय प्रमुखको रूपमा सरुवा गरेको थियो । उनी गत पुस ११ गते मात्र हरिपूर्वा नगरपालिका हाजिर भएका थिए । 

उपसचिव यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सिराहा नगरपालिका, सिराहामा प्रशासकीय प्रमुखको रूपमा सरुवा गरेको हो । सरुवासँगै उपसचिव यादव सिराहा प्रस्थान गरिसकेका छन् । निकै दौडधुपपछि ल्याइएका यादवलाई मन्त्रालयले फेरि अन्यत्र सरुवा गरेर आफूहरूमाथि अन्याय गरेको हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार साहले बताए । 

गत असारमा हाजिर भएका प्रशासकीय प्रमुख निमेश मिश्र असार २९ छुट्टीमा गएपछि फर्किएनन् । नगरपालिका नआई भदौ ४ गते उनले सरुवा लिएर गए । प्रशासकीय प्रमुखको अभावमा हरिपूर्वा नगर कार्यपालिकाको बैठक असार १० गतेपछि बस्न सकेको थिएन  भने नगरका सम्पूर्ण कामकाज ठप्प भएको छ । नगर तथा वडा सञ्चालनमा समेत समस्या आएको कर्मचारीहरूको गुनासो छ । 

सामान्य प्रशासन मन्त्रालयले हरिपूर्वा नगरपालिकामा प्रशासकीय प्रमुखको रूपमा दिलीप यादवलाई समेत सरुवा गरेर पठाएको थियो । तर, यादवले आउनै मानेनन् । उनले बाटोबाटै अन्यत्र सरुवा लिए । त्यसपछि मेयर साहले फेरि प्रशासकीय प्रमुख माग गर्दै मन्त्रालय र मन्त्रीको चोटाकोठा चहारे । मन्त्रालयले असोज १४ गते शम्भु यादवलाई थप जिम्मेवारीमा हरिपूर्वा पठायो । 

तत्कालीन समय उनी रौतहटको देवाहीगोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । थप जिम्मेवारीमा आएका उनको जिम्मेवारी एक दिन पनि टिकेन । हरिपूर्वा नगरपालिका हाजिर भएको घन्टाभरमा उपसचिव यादवको जिम्मेवारी खोसियो । त्यसपछि शंकरापुर नगरपालिकाका प्रशासकीय प्रमुखलाई मन्त्रालयले हरिपूर्वा नगरपालिकाको प्रशासकीय प्रमुखमा सरुवा गर्‍याे । 

उनले कुनै पनि हालतमा हरिपूर्वा नगरपालिका नजाने भन्दै मन्त्रालयबाट अन्यत्रै सरुवा लिए । त्यसपछि मन्त्रालयले पुनः मंसिर २८ गते धनुषाको नगराइन् नगरपालिकाबाट उपसचिव शम्भु यादवलाई हरिपूर्वा सरुवा गरेको हो । उपसचिव यादवको हरिपूर्वा सरुवालाई लिएर नगरवासीमा समेत आशाभन्दा बढी शंका उब्जिएको थियो । उनी हरिपूर्वा हाजिर भएकोभन्दा पनि उनको बसाइलाई लिएर सुरुमै टीका–टिपणी हुने गरेको थियो ।

प्रशासकीय प्रमुख नभएको कारण यसपालिको चालू आर्थिक वर्षका लागि बजेट पेस भएको छैन । जसले गर्दा मातहतका कार्यालयहरूका कर्मचारीले गत साउनयता तलब–भत्ता पाउन सकेका छैनन् । लाभग्राहीहरूले कुनै पनि किसिमका सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरिरहेका छन् भने तलब–भत्ता माग्दै नगरभरिका सामुदायिक विद्यालयका शिक्षिक–शिक्षिकाले केही दिन पहिला आन्दोलनसमेत गरे । 

नगर सभा हुनेबित्तिकै तलब–भत्ता दिने प्रतिबद्धतापछि शिक्षक–शिक्षिका विद्यालय फर्किएका थिए । उनीहरूको आन्दोलनका कारण लगभग दुई साता विद्यालय बन्द रहेका थिए । महिना दिनभित्रमा प्रशासकीय प्रमुखलाई हाजिर गराएर नगर सभा गर्ने र सुरुमै शिक्षक–शिक्षिकाको तलब–भत्ता निकासा गर्ने नगरका मेयर साहले आश्वासन दिएपछि शिक्षक–शिक्षिका आन्दोलन स्थगित गरेर विद्यालय फर्कन सहमत भएका थिए । 

 पालिकाकाे चालू आर्थिक वर्षको ससर्त अनुदान बजेटसमेत फ्रिज हुने अवस्थामा पुगेको मेयर साहले गुनासो गरे । यस क्षेत्रबाट निर्वाचित संघीय सांसदलगायत विभिन्न दलका प्रतिनिधि आफ्नो कार्यकाल असफल बनाउने षड्यन्त्रमा लागेको उनको आरोप छ । ‘पालिकामा कुनै प्रशासकीय अधिकृत टिक्नै दिइएन,’ मेयर शाहले भने, ‘अब कार्यालयमा आफैँ ताला लगाएर चाबी मन्त्रालयमा बुझाएर आउँछु । अब हरिपूर्वा नगरपालिकाको सम्पूर्ण जिम्मा मन्त्रालयले लिनुपर्छ । हाेइन भने प्रशासकीय प्रमुखलाई यसरी विनाकारण पटक–पटक सरुवा गरेर मन्त्रालयले गर्न खोजेको के हो ? स्पष्ट पार्नुपर्‍याे । यो सबै राजनीतिक इसारामा मन्त्रालयले जनतामाथि गरेको धोका हो ।’ उपसचिव यादव आउनेबित्तिकैबाट छलफल र बैठक गरेर नगर सभाको मिति तय गरेको अवस्थामा फेरि मन्त्रालयले प्रशासकीय प्रमुखको सरुवा गरेर दुःख दिएको उनले दुखेसो पोखे । 

११ महिनामा पाँच प्रशासकीय प्रमुख परिवर्तन, उपसचिव यादव मात्र तीनपटक हाजिर 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरिपूर्वा नगरपालिकामा विगत ११ महिनामा पाँचजना प्रशासकीय प्रमुखको सरुवा गरेको छ । उपसचिव शम्भुप्रसाद यादव मात्र तीनपटक हाजिर हुने र अन्यत्र सरुवा हुने गरिसकेका छन् । यसबीचमा पालिका महिनौँ प्रशासकीय प्रमुखविहीन भएको छ । यस पालिकामा हाजिर भएका केही प्रशासकीय प्रमुख बाटोबाटै सरुवा लिएर गएका छन् भने केहीको हाजिर गरेको घन्टाभरमा जिम्मेवारी खोसिएको थियो ।

हरिपूर्वा नगरपालिकामा गत चैत १५ गते प्रशासकीय प्रमुख वसन्त न्यौपाने सरुवा लिएर गएपछि सातपटक प्रशासकीय प्रमुखको सरुवा भइसकेको छ । न्यौपानेले अन्यत्र सरुवा लिएपछि चैत २२ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका ध्रुव आचार्यलाई मन्त्रालयले हरिपूर्वाको प्रशासकीय प्रमुखको रूपमा सरुवा गरेको थियो । उनले कार्यालयमा उपस्थित नै नभई चैत २९ गते पुनः सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमै सरुवा थमौती गराए ।

मन्त्रालयले मेयर साहको जोडकरले वैशाख १४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशबाट शाखा अधिकृत शम्भुप्रसाद यादवलाई पहिलोपटक हरिपूर्वा सरुवा गर्‍याे । उक्त सरुवा तीन दिन पनि टिकेन । उनलाई वैशाख १७ गते मन्त्रालयले फेरि साबिककै कार्यालयमा सरुवा फिर्ता गर्‍याे । उनले कार्यभार जिम्मा लिनसमेत पाएनन् । 

ad
ad