१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
डा. श्रीराम न्यौपाने
२o८१ बैशाख १९ बुधबार o७:५o:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युवा पलायनको मनोविज्ञान

सम्पन्नता र प्रतिष्ठा नै विदेश जानुमा छ भन्ने युवा मनोविज्ञानले गाउँ मात्र होइन, सहर र देशै रित्तिने खतरा देखिन्छ

Read Time : > 5 मिनेट
डा. श्रीराम न्यौपाने
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:५o:oo

उर्जाशील मानवले दीर्घकालका लागि आफ्नो राज्य त्याग्नु पलायन हो । आखिर राज्य भन्नु माटो, वासस्थान वा शिक्षा, स्वास्थ्य मात्र होइन । परम्परित परिभाषा हो यो । राज्य त अभावग्रस्त, रुग्ण अनि पीडितको मलमपट्टी हो । तिनको न्यानो गुँड हो । अझ भन्नुपर्दा बेसहारा, बेकार र उत्पीडितहरूको भरोसा हो । यीमध्ये सर्वोच्च कुरा भरोसा हो, आत्मविश्वास हो । नागरिकको मनोविज्ञान बुझेर मात्र त्यो जगाउन सकिन्छ । 

राज्यको विशिष्ट भूमिका नागरिकमा आशा, मनोबल र आत्मविश्वास जगाइराख्नु हो । जब राज्यले युगानुकूल आफूलाई रुपान्तरण गर्दैन, तब नागरिक विद्रोह क्षणभरमै उग्र बन्छ । भर्खरैको बालकुमारीको इपिएस काण्ड यसैको पछिल्लो घटना हो । नेपालमा हिजोआज बढ्दो युवा पलायन र उर्लिएकोे आक्रोशलाई गहिरिएर विश्लेषण गर्दा राज्य यथास्थितिमै रुमल्लिएको र कर्तव्यबाट चुकेको अनुभूति हुन्छ । जनचाहनाप्रति बेलैमा सचेत र संवेदनशील बन्न नसक्दा राज्यप्रतिको घृणा यसरी चुलिँदै जाँदो रहेछ । आज नेपाली युवा बाध्य भएर कठिन काम र मृत्युको भयलाई पनि बिर्सिएर विदेश जान जोखिम मोलिरहेछन् । यो पलायनको गति हेर्दा विश्वमा भौगोलिक संरचना ठूलो भएर पनि जनसांख्यिक अल्पतामा पुगेका देशको नियति हामीले पनि भोग्नुपर्ने अवस्था आउने देखिन्छ । 

राज्यप्रतिको श्रद्धा नागरिकमा त्यतिवेलासम्म जीवित रहन्छ, जबसम्म उसका आधारभूत आवश्यकता पूरा हुन्छन् । महँगो शिक्षा लिएर न्यूनतम पारिश्रमिकसहितको रोजगारीको सुनिश्चितता हुन्न, रुग्ण परिवारजनको सुलभ उपचार हुन्न, न्यून उपार्जनले प्रतिदिन ऋण थपिन्छ अनि दैनिकी कष्टकर बन्दै जान्छ भने आजको कुनै पनि युवा विनाहलचल स्थिर रहन सक्दैन । फेरि आजका युवाले पूर्वजन्म वा भाग्यमा भरोसा गर्दैनन्, न संयम र प्रतीक्षामा अल्झन्छन् ।

सबैजसो सामाजिक सञ्जालमा अबद्ध छन् । कृषि उत्पादनले बजार र मूल्य नपाएका, बेरोजगारी बढेका, भ्रष्टाचार र तस्करी चुलिएका अनि हजारौँको संख्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामबद्ध रहेका प्रशस्त तस्बिरसँग प्रतिदिन साक्षात्कार भइरहेका छन् । त्यसमा पनि बाहिरी दुनियाँ, दैनिकी, कमाइ अनि उन्नत जीवन प्रत्यक्ष र परोक्ष रूपमै अवलोकन गर्न पाएका छन् । वरिपरिको पारिवारिक सामाजिक वातावरणमा विदेशी हावा बहन थालेको छ । चर्चा नै बाहिरको, गुुुणगान नै विदेशको सुनिन थालेको छ । सम्पन्नता र प्रतिष्ठा नै यसैमा छ जस्तो भान युवा मानसिकतामा भरिन थालेको छ । यही मनोविज्ञानले आज नेपाली गाउँ मात्र होइन, सहर र देशै रित्तिने क्रम सुरु भएको हो ।

महँगो शिक्षा लिएर न्यूनतम पारिश्रमिकसहितको रोजगारी सुनिश्चित हुन्न, रुग्ण परिवारजनको सुलभ उपचार हुन्न, न्यून उपार्जनले प्रतिदिन ऋण थपिन्छ अनि दैनिकी कष्टकर बन्दै जान्छ भने आजको कुनै पनि युवा विनाहलचल स्थिर रहन सक्दैन
 

युवालाई स्वदेशमै रोक्ने वा भुलाउने मुख्य आधारमध्ये सांस्कृतिक मूल्य पनि एक हो । जस्तोसुकै अभाव, समस्या र कष्ट सहेर पनि आफन्तको काख र अँगालोमा निदाउँदा, स्वादिलो पौष्टिक खानेकुरा खाँदा अनि स्वच्छ वातावरणमा निरोगिताको अनुभूति गर्दा जोकोहीले पनि आत्मिक आनन्दको अनुभूति गर्न सक्छ । शान्त, सरल, तनावरहित र सादा जीवन प्रिय लाग्छन्, तर आजको जीवनयापनसँग धन बढी नै जोडिन थालेको छ । मौलिक उत्पादन र छिमेकी गुमाउँदै गएका बचेखुचेका सन्तोषी युवा पनि दिनानुदिन निराश बन्दै छन् ।

दण्डहीनता, भ्रष्टता, अविश्वास, अन्याय, असहिष्णुता र फुटले प्रश्रय पाइरहँदा सदाचारी नेपाली संस्कृति पनि घाइते भएको छ । यहाँ केही हुँदैन र भविष्य छैन भन्ने हल्ला पनि चलाइँदै आएको छ । अदृश्य यी तत्वले पनि युवा मानसिकतालाई भड्काइरहेछन् । स्वदेश, मातापिता र भावनात्मक नाता कमजोर बन्दै जानु पनि सांस्कृतिक विचलन हो । प्रविधि र चेतनाकै कारण चलायमान वर्तमान विश्व सांस्कृतिक रूपान्तरणको दिशातर्फ उन्मुख छ । यो विश्वव्यापी प्रक्रिया भए पनि विकासोन्मुख मुलुकको मुख्य शक्तिको दु्रुततर पलायन निकै चिन्ताजनक कुरा हो । युवामा राष्ट्रप्रतिको यस्तो गिर्दो मानसिकता हाम्रा लागि सबैभन्दा डरलाग्दो विषय मान्नैपर्छ । 

आजको नेपाली युवा मानसिकता बिग्रनुमा शैक्षिक गतिविधि पनि जिम्मेवार छ । उच्च शिक्षा नेपालमा किन लिने ? यसले कति रोजगारी र उत्पादनसँग जोडेको छ त ? यो कति व्यावहारिक र व्यावसायिक छ ? पाठ्यक्रम, पाठ्यविषय, शिक्षण विधि, प्रयोगात्मकता र मूल्यांकनका शैक्षिक प्रणालीले जटिलता र अरुचि पो बढाइरहेका छन् कि ? शिक्षालाई निःशुल्क तर दायित्वपूर्ण किन नबनाइएको हो ? यस्ता थुप्रै प्रश्नले नेपाली युवा मथिंगल तात्ने गरेको छ । विकसित देशका शैक्षणिक गतिविधि विद्यार्थीकेन्द्री छन्, सीपमूलक छन् अनि स्वरोजगारमुखी पनि छन्, तर हामी भने आजको युगमा पनि अझै पुरातन शिक्षककेन्द्री शैक्षणिक विधिमै अल्झिरहेका छौँ । साँच्चै भन्नुपर्दा नेपाली युवा विश्वविद्यालयमा पुग्दा नेपाली शिक्षण सिकाइबाट अघाइसक्छन् । फलस्वरूप उन्मुक्तिको बाटो रोज्न पुग्छन् । यसैको परिणतिस्वरूप प्राविधिक शिक्षालयमा समेत तोकिएको संख्यामा विद्यार्थी भर्ना अपुग हुन थालेको हो । 

हाम्रो शिक्षा रोजगारी सिर्जना गर्ने नभई काम माग्ने खालको छ । कृषि, वाणिज्य, वन, इन्जिनियरिङ आदि विषयका कार्यक्रमसमेत कम प्रयोगात्मक बढी सैद्धान्तिक छन् । अन्तिम वर्षको इन्टर्न प्रभावकारी छैन । उत्पादित जनशक्ति जागिरे बन्ने वा विदेश जाने योजनामा छ । आफ्नै उद्यम गर्ने सोचमा कोही देखिन्न । लगानीको उचित वातावरण छैन भन्ने हल्लाले उसको मनस्थिति भत्किएको छ । उनीहरूलाई संगठित बनाउने, दक्ष विशेषज्ञ सेवा दिने, अनुसन्धान केन्द्रहरू खोल्ने, लगानीमैत्री नीति बनाउने र आवश्यक सुविधा जुटाइदिने कार्यमा राज्य सक्रिय नदेखिएको तथ्य अहिलेका उद्यमशील युवाले पाइलैपिच्छे देख्दै आएका छन् । अहिले लगानीयोग्य मौज्दात वित्तीय संस्थामै थन्किएको छ, उत्पादनमूलक क्षेत्र युवा पलायनका कारण शिथिल छ ।

मलाई आफ्नै गाउँको विकराल दृश्य यहाँ देखाउन मन लाग्यो । लमजुङको दुराडाँडा क्षेत्रमा दर्जनौँ युवा विदेशबाट फर्किई एउटा कृषि फर्म सञ्चालन गर्दै थिए । रोजगारी सिर्जना गरी व्यापार घाटा घटाउने तिनको प्रयासलाई साथ दिँदै थुप्रैले पैत्रिक भूमि सुम्पिए । तर, आज त्यो बन्दप्रायः अवस्थामा पुगेको छ । स्थानीयको रोजगारी खोसिएको र पारिश्रमिक नपाएको यस घटनाले आजका युवामा कस्तो मानसिक असर पुर्‍यायो होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । अहिले गाउँ रित्तो हुने क्रमसँगै उत्पादनमा ह्रास र अव्यवस्थित सहरीकरणमा वृद्धि चुलिएको छ । त्यहाँ विद्यार्थीभन्दा शिक्षक बढी हुने स्थिति आएको छ । प्राविधिक विषय सहरमा मात्र केन्द्रित छन् । खेतीयोग्य जमिन र हिँड्ने बाटो झाडीमा परिणत हुँदा जंगली जनावरको त्रास फैलिएको छ । यी दृश्यले युवालाई निराश बनाउँदै लगेको छ । यो मनोविज्ञान राज्यले बु्झ्न सकेकै छैन ।

मानवजीवन सुख–सुविधाको खोजीमा पाषाण युगदेखि चलायमान हुँदै आएको इतिहास हाम्रा सामु छ । त्यसैले बढी कमाइ र धेरै सुविधाप्रति हाम्रा युवा आकर्षित हुनु स्वाभाविक देखिन्छ । आज यसको असर अल्पविकसित मुलुकमा पर्न थालेको छ । एकातिर देशबीचको मानव विकास सूचकांकमा ठूलो अन्तर देखिनु र अर्कातिर मानवमा शैक्षिक तथा चेतनास्तरमा वृद्धि हुनु आप्रवासनको अर्को मनोवैज्ञानिक पक्ष हो । नेपाल प्राकृतिक सम्पदामा धनी छ, तर त्यसको उपयोग एक जटिल प्रक्रिया हो । प्राविधिज्ञ र वित्तीय अल्पताले केही वर्षमै समृद्धिको शिखर चुम्ला भन्नेमा विश्वास गर्ने स्थिति पनि देखिन्न । यसमा पनि पार्टीहरूको गुटगत, विखण्डनकारी र अस्तव्यस्त राजनीतिक क्रियाकलापले त हाम्रा युवाको राष्ट्रवादी मानसिकता प्रतिदिन क्षयोन्मुख हुँदै गएको छ । यसमा पनि हाम्रा सरकारमा युवा रोजगार नीति तथा कार्यक्रममा एकरूपता र निरन्तरता छैन । यसले पनि युवा निराश बन्दै गएका छन् । 

अहिलेका युवाले लोकतान्त्रिक मुलुकले नागरिक अधिकार खोस्दैन भन्ने तथ्य पनि बुझेका छन् । एनओसी नरोकिने, श्रमस्वीकृति चलिरहने र शिक्षा लिने मौलिक हक नखोसिनेमा उनीहरू ढुक्क छन् । बसाइँसराइ र आप्रवासनले भिन्न सांस्कृतिक अन्तर्घुलन बढाउँदै लगेको छ । त्यहाँ वर्ग, समुदाय तथा जनसमूहको समन्वय पाइने गरेको छ । सरकार वैदेशिक रोजगारीलाई प्रश्रय दिँदै विप्रेषण बढाउन र समृद्धिको नारा दिन लागिपरेको सन्दर्भ पनि उसले बुझेको छ । यी सकारात्मक पक्ष पनि युवा पलायनका अदृश्य प्रेरक तत्व बनेका छन् । 

देशमा अगुवा राजनेता, राष्ट्रसेवक, बुद्धिजीवी तथा सञ्जालका प्रयोगकर्ता बुझेर वा नबुझेर विदेशको बखान गरिरहेका हुन्छन् । बाह्य भौतिक सुखको चर्चामा बहकिने र त्यसैको दृष्टान्त दिँदा संसार बुझेको मानिने प्रवृत्ति बढ्दो छ । पूर्वीय चिन्तनले मानव जीवनमा पारेको प्रभावलाई उच्चारण गर्दा पुरातनवादी भइने र पाश्चात्य दर्शनका उपलब्धिको चर्चा गर्दा आधुनिक भइने गलत भाष्य निर्माण गर्न खोजिएको छ । यसले मुख्यगरी कलिलो युवा मानसिकतालाई भड्काइरहेछ । नजिकको तीर्थ हेला हुन थालेको छ । अग्रजको निन्दाले युवाको राष्ट्रप्रति टुसाएको मन मारिदिएको छ । विदेशी भाषा, धर्म, संस्कृति, रहनसहन, पोसाक, खाद्यवस्तु, जीवनशैली आदिप्रतिको मोहपाशमा हाम्रो समाज तानिँदै गएको छ । युवा पलायनमा अप्रत्यक्ष रूपमा यिनले पनि गम्भीर असर पारिरहेका छन् । 

नेपाली युवाले अशान्त, द्वन्द्वग्रस्त, स्वार्थी, यान्त्रिक र चरम व्यक्तिवादी विश्व–परिवेशलाई नजिकैबाट नियालिरहेका छन् । आफ्नो देशले विकास र समृद्धिको बाटो रोज्न सक्यो भने पुनः स्वदेश फर्कने सोचलाई पनि तिनले मर्न दिएका छैनन् । तिनीहरू आफ्नो परिवार, आफन्त, मित्र र देशवासीको न्यानो काख र साथ पुनः प्राप्त गर्न चाहन्छन् । केही युवा यहाँ कृषि, पर्यटन र जलस्रोतमा व्यापक रोजगारी सिर्जना हुनेमा विश्वस्त पनि देखिन्छन् । पैसा नै सबै सुख होइन भन्नेहरू पनि छन् यहाँ । कुनै प्राकृतिक विपत्ति, अन्तद्र्वन्द्व, युद्ध वा कुनै संकट आइपरे पहिले लखेटिने आप्रवासी जनसंख्या नै हुने गरेको विभिन्न देशका गतिविधि पनि देखेका छन् ।

जति नै लोकतान्त्रिक भनिएका मुलुकले पनि राज्यका शिक्षा, स्वास्थ्यजस्ता सुविधा र अवसरमा मूल जाति र आप्रवासीबीच नीतिगत विभेदलाई बढावा दिइरहेका छन् । त्यहाँको दुःख, संघर्ष, बेसहारापन, मानसिक तनाव र जोखिमपूर्ण जीवनको विश्लेषण गर्नेहरू पनि छन् । तर, यी सबै मनोभावना दबिएका छन् । यही सुषुप्त राष्ट्रप्रेमलाई जगाउँदै लैजान सके स्वदेशी शक्ति मिलेर गिर्दो युवा मनोविज्ञान उकासिन्छ । बाहिरका चुनौती र भित्रका सम्भावनालाई उजागर गरी युवामा भरोसा उमार्न सकिन्छ र पलायनलाई कम गर्न सकिन्छ ।
(डा. न्यौपाने त्रिविका उपप्राध्यापक हुन्)

ad
ad