१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ १ सोमबार १७:३९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप : सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

Read Time : < 1 मिनेट
२०८० माघ १ सोमबार १७:३९:००

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ। सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशविरुद्ध ५ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लुम्बिनी ४८.४ ओभरमा सबै विकेट गुमाउँदै १५८ रनमा समेटिएको थियो। जितका लागि १५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

सुदूरपश्चिमको जितमा शेर मल्लले ४४ बलमा ४ चौका र २ छक्कासहित ४२ रनमा अविजित रहे। त्यस्तै, नारायण जोशी ३० बलमा ४ चौकासहित २८ रनमा नटआउट रहँदा ओपनर खड्क बोहरा २१, टेक रावत १८, नरेन भट्ट १२ र किरन ठगुन्ना १६ रनमा पेभेलियन फर्किए।

बलिङतर्फ लुम्बिनीका अभिषेक गौतमले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिँदा कृष्ण कार्की र अजय चौहानको नाममा समान १–१ विकेट रह्यो।

लुम्बिनीका प्रज्वल थापाले ६८ बलमा ४ चौकासहित सर्वाधिक ४२ रन बनाए पनि अन्य कुनै पनि ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन्। ओपनर विराट भण्डारी २३, सम्राट भुुसाल ९, मिर्नाल गुरुङ १४, मोहम्मद हुसेन २६ र दिलसाद अली १० रनमा आउट भए।

सुदूरपश्चिमका नारायण जोशीले ९.४ ओभरमा १ मेर्डनसहित ३६ रन खर्चेर ३ विकेट लिँदा भोजराज भट्ट र नरेन साउदले समान २–२ विकेट लिए।

आजको खेलमा सूदुरपश्चिमका नारायण जोशी प्लेयर अफ द म्याच भए। लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो। सुदूरपश्चिको यो पहिलो खेल हो। सुदूरपश्चिमले मंगलबार कर्णाली प्रदेशसँग खेल्नेछ। लुम्बिनीले कर्णालीसँगै बुधबार प्रतिस्पर्धा गर्नेछ।