१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नागरिकता किर्तेमा वीरगन्जका मेयर सिंहविरुद्ध जाहेरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:५९:oo

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध नागरिकता किर्तेमा जाहेरी परेको छ । सिंहले नक्कली बाबु बनेर रुविना श्रेष्ठ नाम गरेकी युवतीलाई वंशजको नागरिकता दिएको भन्दै मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दर्ता भएको हो ।

स्थानीय मोहम्मद सहाबुद्दिनले प्राप्त प्रमाणका अनुसार महानगर प्रमुख सिंहले झुटो विवरण दिएर नागरिकता बनाउन सहयोग गरेकाले उनीमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै प्रशासन कार्यालयमा जाहेरी दर्ता गराएको बताए । जाहेरीमा झुटो विवरणका आधारमा जन्मदर्ता र नागरिकता बनाएको, त्यस आधारमा बनाइएको नागरिकता र राहदानी खारेज गर्न तथा नागरिकता लिने र नक्कली बाबु बनेर नागरिकता दिलाउने मेयर सिंहलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ ।

१३ साउन ०७५ मा वीरगन्ज महानगरपालिका– ३ बस्ने रुविना श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलोपटक लिएको नागरिकता प्रमाणपत्रमा बुबाको नाम राजेशमान सिंह उल्लेख छ । ८ फागुन ०७६ मा प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले श्रेष्ठको नाममा प्रतिलिपि नागरिकता जारी गरेका छन् । रुविनाको नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख भए पनि आमाको नाम भने नखुलाइएको अवस्था छ ।

नागरिकतामा किशोरीको जन्ममिति ३० असार ०५९ उल्लेख छ । पहिलोपटक १३ साउन ०७५ मा षडकुमार पोखरेलद्वारा किशोरीको नागरिकता जारी गर्दा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल थिए । गैरकानुनी ढंगबाट नागरिकता प्राप्त गरेकी किशोरी रुविना हाल राहदानी बनाएर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी छिन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले वीरगन्ज महानगर प्रमुख सिंहले झुटो कागजपत्र पेस गरेर किशोरीलाई वंशजको नागरिकता दिएको विषयमा अनुसन्धान हुने बताए । प्रमुख सिंहको परिवारमा श्रीमती अन्नपूर्णा मानन्धर र एउटा छोरा अनिशमानसिंह श्रेष्ठ मात्रै छन् ।

ad
ad