१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o७:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:१४:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् । अस्थिर राजनीतिक व्यवस्था रहेको भन्दै नेपालबारे गलत प्रचार भइरहेकोमा आपत्ति जनाउँदै उनले नेपाल दक्षिण एसियाकै उत्कृष्ट लगानी गन्तव्य रहेको दाबी गरेका हुन् ।

सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले लगानीको वातावरणलाई थप सुधार गर्ने प्रतिबद्धतासमेत जनाए । वैशाखमा लगानी सम्मेलन आयोजना गर्न लागेको स्मरण गराउँदै उनले लगानीसम्बन्धी सम्पूर्ण कानुन, नीति–नियम सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । 

अर्थमन्त्रीले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताए । जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुन सक्ने भन्दै उनले यी क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वानसमेत गरे । ‘यी चार क्षेत्रमा लगानीका लागि मुख्य आकर्षण रहेको छ,’ उनले भने, ‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुन सक्छ ।’ 

अर्थमन्त्री डा. महतले आफू पनि लगानी गर्न र आफ्ना साथीलाई पनि नेपालको लगानीको क्षेत्रका बारेमा जानकारी दिन भारतीय लगानीकर्तालाई आग्रह गरे । उनले नेपालका निजी क्षेत्र र भारतको निजी क्षेत्रबीच सहकार्य गरेर व्यवसाय तथा लगानीका लागि काम गर्न सुझावसमेत दिए । 

 नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न ढकालको आग्रह
उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतीय लगानीकर्तालाई नेपालको फस्टाउँदो ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरे । द्रुत रूपमा बढ्दो नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको बताउँदै त्यसबाट लाभ लिन भारतीय लगानीकर्तालाई आग्रह गरेका हुन् ।

नेपालमा लगानी गरेका भारतीय र बहुराष्ट्रिय कम्पनीले निकै राम्रो प्रतिफल लिइरहेको बताउँदै अध्यक्ष ढकालले भारतीय लगानीकर्तालाई विभिन्न क्षेत्रमा लगानी गर्न र यसको फाइदा उठाउन आह्वान गरे । उनले नेपालमा होटेल, केबलकार, थिम पार्क, साहसी पर्यटन, खेल पर्यटन तथा माइस पर्यटनको ठूलो सम्भावना रहेको र यसमा भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गरे ।

 परिसंघ र आइसिसीबीच समझदारी
नेपाल उद्योग परिसंघ (सिएनआई) र इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्नेसम्बन्धी दुईवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतबार काठमाडौंमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आइसिसीका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरेका छन् । 

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत्, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरे । आइसिसीका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्व दिँदै दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए ।

ad
ad