मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o पौष २४ मंगलबार
  • Wednesday, 06 August, 2025
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८o पौष २४ मंगलबार o६:२८:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय सभा निर्वाचन : १९ सिट, ५२ उम्मेदवारी

Read Time : > 4 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८o पौष २४ मंगलबार o६:२८:oo

आगामी ११ माघमा हुने निर्वाचनमा प्रदेश सभाका ५४९ सांसद र १४९८ पालिका प्रमुख–उपप्रमुखले मतदान गर्दै छन् । निर्वाचन आयोगले एक प्रदेश सांसदबराबर ५३ र पालिकाको एक जनप्रतिनिधिबराबर १९ मतभार कायम गरेको छ । 

निर्वाचनको कार्यतालिका
- २४ पुस : उम्मेदवारविरुद्ध उजुरी
- २५ र २६ पुस : मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित
- २७ पुस : उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन
- २८ पुस : निर्वाचन चिह्न वितरण
- ११ माघ : मतदान

राष्ट्रिय सभाका १९ सिटका लागि ५२ जनाको उम्मेदवारी परेको छ । आगामी २१ फागुनमा रिक्त हुने २० मध्ये १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदै छ । एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । 

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सोमबार बिहान १० देखि ३ बजेसम्मको समय तोकेको थियो । सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत र नेमकिपाका तर्फबाट ५२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेका छन् । अन्य दल एक्ला–एक्लै प्रतिस्पर्धामा छन् । 

०७४ माघमा निर्वाचित भएर गोलाप्रथाबाट ६ वर्षे कार्यकाल प्राप्त गरेका सांसदको पदावधि सकिन लागेको हो । कोशीमा महिला र अन्य क्लस्टरमा एक–एक, मधेशमा पनि महिला र अन्यमा एक–एक, बागमतीमा महिला, दलित, अल्पसंख्यक र अन्य क्लस्टरमा एक–एक गरी चार, गण्डकीमा महिला, अल्पसंख्यक र अन्यमा एक–एक गरी तीन, लुम्बिनीमा महिला र अन्यमा एक–एक, कर्णालीमा महिला, दलित र अन्यमा एक–एक गरी तीन तथा सुदूरपश्चिममा महिला, अल्पसंख्यक र अन्यमा एक–एक गरी तीन सिट खाली हुँदै छन् ।

आठ दलबाट सातै प्रदेशमा महिला समूहतर्फ १८, दलिततर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जनाको मनोनयन दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनका अनुसार कोशीमा महिलातर्फ दुई र अन्य समूहका लागि तीन गरी पाँचजनाको उम्मेदवारी परेको छ । मधेशमा पनि महिलातर्फ दुई र अन्यमा तीन गरी पाँचजनाकै उम्मेदवारी छ । 

बागमतीमा महिला कोटामा चार, दलितमा तीन, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायमा चार र अन्यमा चार गरी १५ जनाको उम्मेदवारी परेको छ । गण्डकीमा महिलामा तीन, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकमा दुई र अन्यमा तीन गरी आठ उम्मेदवार छन् । लुम्बिनीमा महिलातर्फ तीन र अन्यमा चारजनाको उम्मेदवारी परेको छ । त्यस्तै, कर्णालीमा महिलातर्फ दुई, दलितमा दुई र अन्यमा दुई गरी ६ जना तथा सुदूरपश्चिममा महिलामा दुई, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकमा दुई र अन्यमा दुई गरी ६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । 

प्रक्रिया पूरा गरेर २७ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता पौडेलले बताए । ‘आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार २४ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २५ र २६ पुसमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, २७ पुसमा उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र २८ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ,’ उनले भने । 

फागुन २० मा पदावधि सकिनेहरू
आगामी २० फागुनमा पदावधि सकिन लागेका २० सांसद ०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका हुन् । जसमा एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती), इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुहार र रामचन्द्र राई छन् । कांग्रेसबाट संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन् । त्यस्तै, माओवादीबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, एकीकृत समाजवादीबाट भौतिक योजना राज्यमन्त्री नन्दा चपाईं र सिंहबहादुर विश्वकर्मा र जसपाबाट शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादवको पनि पद रिक्त हुँदै छ । राष्ट्रपतिबाट मनोनीत एमालेकी विमला राई पौड्याल र स्वतन्त्र सदस्य खिमलाल देवकोटा पनि कार्यकाल सकेर बिदा हुँदै छन् । 

कोशीमा दुई सिटका लागि पाँचको उम्मेदवारी 
राष्ट्रिय सभा निर्वाचनमा दुई सिटका लागि कोशीमा पाँचजनाको उम्मेदवारी परेको छ । महिलामा सत्तागठबन्धनबाट माओवादीकी चम्पादेवी कार्की र एमालेबाट रुकमिणी कोइरालाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, अन्यमा गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका पर्शुराम अधिकारी र राप्रपाका उद्धव पौडेलले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय मोरङले जनाएको छ । कोशीमा प्रदेश सभाका ९३ सांसदको चार हजार ९२९ र दुई सय ७४ स्थानीय तहका पाँच हजार २०६ गरी कुल दश हजार १३५ मतभार छ ।

मधेशमा एमालेका उम्मेदवारको मतदाता सूचीमै नाम फेला नपरेपछि फेरिए उम्मेदवार
एमालेले मधेशमा अन्य समूहमा अर्जुनसिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, उम्मेदवारी दर्ता गराउन जनकपुरधाम पुग्दा उनको मतदाता नामावलीमा नामै भेटिएन । त्यसपछि उनको स्थानमा एमालेले विजेता झालाई उम्मेदवार बनाएको छ । यो समूहमा सत्तागठबन्धनबाट कांग्रेसका आनन्द ढुंगाना र जनमतका रामशंकर महासेठले उम्मेदवारी दिएका छन् । त्यस्तै, महिलामा गठबन्धनबाट जसपाकी पूजा चौधरी र एमालेबाट उषादेवी थरुनीले उम्मेदवारी दिएका छन् । 

बागमतीमा चार सिटका लागि १६ जना प्रतिस्पर्धामा 
बागमतीमा चार सिटका लागि १६ जनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धका तर्फबाट महिलामा कांग्रेसकी विष्णुकुमारी पुडासैनी र अन्यमा जितजंग बस्नेत, अपांगता/अल्पसंख्यकमा माओवादीका श्रीकृष्ण अधिकारी र दलितमा एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गराए । एमालेबाट महिलामा रोचकुमारी चौलागाईं, अन्यमा त्रिलोचन निर्मल पौडेल, अपांगता/अल्पसंख्यकमा विवेक देवकोटा र दलितमा ध्रुवराज विश्वकर्माको उम्मेदवारी परेको छ । त्यस्तै, राप्रपाबाट अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपांगता/अल्पसंख्यकमा भरतमणि भट्ट र दलितमा पूर्णबहादुर विश्वकर्मा तथा नेमकिपाबाट महिलामा कृष्णलक्ष्मी दुवाल, अपांगता/अल्पसंख्यकमा हिमालयश्वर मुल, अन्यमा श्रीकृष्ण महर्जन र दलितमा संगीता नेपालीले उम्मेदवारी दिएका छन् । 

गण्डकीमा आठजनाको उम्मेदवारी 
गण्डकीमा तीन सदस्यका लागि आठजनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनबाट अन्यमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकमा पदमबहादुर परियार तथा महिलामा माओवादीकी मनरूपा शर्माले मनोनयन दर्ता गराएका छन् । एमालेबाट अन्यमा चक्रबहादुर पराजुली, अपांगता/अल्पसंख्यकमा हेमन्त शेरचन र महिलामा सम्झना देवकोटाको उम्मेदवारी परेको छ । राप्रपाबाट अन्यमा रोमबहादुर भण्डारी र महिलामा गौमाया श्रेष्ठले उम्मेदवारी दिएका छन् । 

लुम्बिनीबाट दुई सिटका लागि सातको उम्मेदवारी 
लुम्बिनीमा दुई सिटका लागि सातजनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट महिलामा कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्यमा माओवादीका झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट अन्यमा झपेन्द्रबहादुर घर्ती क्षेत्री र महिलामा तुलसाकुमारी केसी, राप्रपाबाट महिलामा विजयालक्ष्मी सिंह र अन्यमा निरञ्जनकुमार थापा र जनमतबाट अन्यमा बालगोविन्द चौधरीको उम्मेदवारी परेको छ । 

कर्णालीमा ६ जनाको उम्मेदवारी
कर्णालीमा तीन सिटका लागि ६ जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट महिलामा एकीकृत समाजवादीकी सावित्री मल्ल, दलितमा माओवादीका विष्णु विक ‘विकल्प’ र अन्यमा कांग्रेसका कृष्ण रोकायाले उम्मेदवारी दिएका छन् । एमालेले महिलामा हुम्लाकी विमलाकुमारी शाही, अन्यमा मुगुका डिल्लीप्रसाद भट्ट र दलितमा हिक्मत विकलाई उम्मेदवार बनाएको छ । 

सुदूरपश्चिममा तीन सदस्यका लागि ६ जनाको उम्मेदवारी
सुदूरपश्चिममा तीन राष्ट्रिय सभा सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट महिलामा माओवादीकी रेनु चन्द, अपांगता/अल्पसंख्यकमा कांग्रेसका नारायणदत्त भट्ट र अन्यमा कांग्रेसकै बलदेव बोहराको उम्मेदवारी परेको छ । एमालेबाट महिलामा सावित्रादेवी घिमिरे, अन्यमा ईश्वरीप्रसाद खरेल र अपांगता/अल्पसंख्यकमा रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

चुनावपछि राष्ट्रिय सभामा दलहरूको हैसियत फेरिँदै : पहिलो दल एमाले तेस्रो, माओवादी पहिलो र कांग्रेस दोस्रो बन्दै
यो निर्वाचनपछि राष्ट्रिय सभामा दलहरूको हैसियतमा फेरबदल आउने भएको छ । हाल पहिलो दल एमाले तेस्रोमा खुम्चिने भएको छ भने दोस्रो दल माओवादी पहिलो र तेस्रो दल कांग्रेस दोस्रो स्थानमा पुग्दै छ । 

अहिले राष्ट्रपतिबाट मनोनीतसहित एमालेका १८ सांसद छन् । मनोनीतसहित नौजनाको पद रिक्त हुँदै छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतभारअनुसार सत्तागठबन्धनका सबै उम्मेदवार विजयी हुने निश्चितजस्तै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सिट पनि एमालेको हुनेछैन । त्यस्तो अवस्थामा एमाले नौ सिटमा खुम्चिँदै तेस्रो स्थानमा पुग्नेछ  ।

राष्ट्रपतिबाट मनोनीतसहित अहिले माओवादीका १६ सांसद छन् । २१ फागुनबाट तीन सांसद बिदा हुँदै छन् । तर, यो निर्वाचनबाट ६ सांसद थपिँदै राष्ट्रिय सभामा कुल संख्या १९ पुग्दै छ । त्यस्तै, कांग्रेसका अहिले १० सांसद छन् । चार सांसदको पद रिक्त हुँदै छ । निर्वाचनपछि १० सांसद थपिँदै छन् । कुल संख्या १६ पुग्दै छ । 

एकीकृत समाजवादीका अहिले आठ सांसद छन् । दुईजनाको पद रिक्त हुँदै छ भने दुईजना नै उम्मेदवार छन् । त्यस्तै, जसपाका तीन सांसद छन् । एक सांसदको पद रिक्त हुँदै छ भने एकजना नै थपिँदै छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा लोसपा, जनमोर्चा, स्वतन्त्र र राष्ट्रपतिबाट मनोनीत एक–एक सांसद छन् ।

झापामा चिरञ्जीवी घिमिरे, जनकपुरमा हदिश खुद्दार, हेटौँडामा पोष्टराज अधिकारी, पोखरामा रोहितराज पराजुली, दाङमा दीपक बोहोरा, सुर्खेतमा रमेश रावल, धनगढीमा तेजराज भट्ट र काठमाडौंमा कमलराज भट्ट