१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ २ बुधबार o६:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पशुपति क्षेत्रमा ९० वटा पक्की संरचना थपिँदै

१४ करोड लागतमा २२ महिनाभित्र निर्माण गरिसक्ने संरचना भाडामा लगाउने योजना

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:१७:oo

पशुपति क्षेत्र विकास कोषले मन्दिर क्षेत्रमा ९० वटा पक्की सटर निर्माण गर्न लागेको छ । १४ करोड लागतमा २२ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोषले गत असोजमा धर्म एस निर्माण सेवा कम्पनीलाई ठेक्का लगाइसकेको छ । ती संरचना भाडामा लगाउने कोषको योजना छ ।

पशुपतिनाथ मन्दिरको पश्चिममा रहेको गौशालातर्फको खाली जग्गामा पक्की संरचना निर्माण गरिन लागेको हो । कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार निर्माण गर्न लागिएका सबै संरचना भाडामा लगाउने प्रयोजनका हुन् । एउटा संरचनाको मासिक २५–३० हजार रुपैयाँ भाडा उठाउने कोषको लक्ष्य छ । ‘अहिले भएका टहरा निकै कम भए, टहरा भाडामा लिन नपाउनेहरूले असन्तुष्टि जनाए, त्यसैले थप संरचना निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘यी सबै संरचना मौलिक किसिमबाट निर्माण हुन्छन्, कोषले नै व्यवस्थित तरिकाले भाडामा लगाउँछ ।’ संरचना निर्माण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मञ्जुरी दिएको स्रोतको दाबी छ । 

नयाँ संरचनामा पूजासामग्री, खानेकुरा तथा लत्ताकपडाका पसल रहनेछन् । कोषले अहिले ३० वटा पुराना टहरा भाडामा लगाउँदै आएको छ । दुई महिनाअघि निर्माण गरिएका ६४ वटा टहरा भने खाली छन् । कसलाई दिने भन्ने विषयमा कुरा नमिल्दा ती टहरा भाडामा लगाइएको छैन । ‘निर्माण भएका ६४ संरचना कसलाई कसरी भाडामा दिने भन्नेबारे सहमति नजुट्दा खाली छन्,’ कोषका प्रवक्ता अधिकारीले भने । ९० वटा पक्की संरचना निर्माण भइसकेपछि कोषसँग भाडामा लगाउने पक्की र कच्ची गरी एक सय ८३ वटा संरचना हुनेछन् । पुराना टहरा मासिक ११ हजार भाडामा लगाइएका छन् । 
कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टन्डनले पशुपतिनाथ क्षेत्रमा टहरा बनाएर व्यापारीकरण गर्नु अपराधसरह भएको बताए । ‘मानिसलाई उठीवास लगाएर पशुपतिनाथको जग्गा प्राप्त गरिएको थियो, अब फेरि त्यही जग्गामा संरचना बनाउनु राम्रो होइन, अझ व्यापारिक प्रयोजनका लागि संरचना बनाउनु अपराधसरह हो,’ उनले भने, ‘पशुपतिनाथलाई पैसा नै कम भएर भाडामा लगाउनुपर्ने त होइन । जसलाई जे मन लाग्छ त्यही गर्न पाइँदैन ।’ उनले ९० वटा संरचना निर्माण गर्दा यसले पशुपतिनाथको स्वरूप बिगार्ने बताए । 

टहरामा पूजासामग्री बेच्नेहरूले गर्छन् तानातान
पशुपतिनाथ क्षेत्रमा प्रवेश गर्दा अधिकांश भक्तजनले खेप्ने सास्ती हो– टहरामा पूmलमाला र पूजासामग्री बेच्न बस्नेहरूबाट हुने तानातान । शान्त मन बोकेर पशुपतिनाथ पुगेका भक्तजनलाई मन्दिर प्रवेश गर्ने बाटोमा बसेका व्यापारीले पूmलमाला बेच्ने निहुँमा तानातान गर्छन् । जसबाट भक्तजनले हैरानी व्यहोर्छन् । 

मन्दिरपरिसरमा सबैतिर अव्यवस्थित मात्रै 
दिनहुँ हजारौँ भक्तजनको भिड लाग्ने पशुपतिनाथ मन्दिरपरिसर कमजोर व्यवस्थापनका कारण अस्तव्यस्त बन्ने गर्छ । अव्यवस्थित पार्किङ, भद्रगोल सडक, सरसफाइको अभाव, भक्तजनलाई अवरोध गर्ने गरी पाइलैपिच्छे माग्न बस्नेहरू र फूल तथा पूजासामग्री व्यापारीका कारण पशुपतिनाथ क्षेत्र अस्तव्यस्त बन्ने गरेको छ ।

मन्दिर प्रवेश गर्ने गौशालातर्फको सडक पछिल्लो समय अस्तव्यस्त बनेको छ । कोषले मन्दिर प्रवेश गर्ने गौशालातर्फको सडक भत्काएका कारण भक्तजन मारमा परेका हुन् । ढल व्यवस्थापनका लागि भन्दै दुई साताअघि कोषले सडक भत्काएको हो । गौशालातर्फको सडकमा ठाउँ–ठाउँमा ढुंगामाटो थुपारिएको छ भने बीचबीचमा ठूला खाल्डा खनिएका छन् । भक्तजनको ओहोरदोहोर हुने मुख्य सडक नै अवरुद्ध पार्ने गरी भत्काइएपछि मन्दिर दर्शन गर्न जाँदा सास्ती हुने गरेको कपनका राजेन्द्र घिमिरेले बताए । ‘पशुपतिनाथ मन्दिर क्षेत्र अहिले अस्तव्यस्त पारिएको छ, सबैतिर फोहोर र भद्रगोल मात्रै छ,’ उनले भने, ‘सडकभरि सटरैसटर राखिएका छन्, न सरसफाइ राम्ररी गरिएको छ, न सडक नै व्यवस्थित छ ।’ 

पार्किङ पनि अस्तव्यस्त
पशुपतिनाथ मन्दिर क्षेत्रको पार्किङ लामो समयदेखि अस्तव्यस्त छ । यसअघि गौशालातर्फको खाली जग्गा पार्किङका लागि भाडामा लगाए पनि विरोध भएपछि सम्झौता तोडिएको थियो । हाल त्यहाँ पार्किङ शुल्क त दिर्नुपर्दैन, तर ठूला–साना सबैखाले सवारीसाधन एकै ठाउँमा पार्किङ गर्दा अव्यवस्थित र भद्रगोल छ ।यस्तै, पिंगलास्थान हुँदै मन्दिर पुग्ने सडक पनि अस्तव्यस्त छ । मन्दिर प्रवेश गर्ने बाहिरी सडकमा ठाउँठाउँमा फोहोरसमेत थुपारिएको छ ।

फोहोर नउठाउँदा, सरसफाइ नगर्दा र मन्दिर प्रवेश गर्ने गेटमा पर्याप्त सुरक्षागार्ड नराख्दा मन्दिर क्षेत्र अव्यवस्थित बन्दै गइरहेको छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले सडक र ढल व्यवस्थापनको काम भइरहेकाले अव्यवस्थित बनेको स्वीकार गरे । ‘सडक र ढल व्यवस्थापनको काम भइरहेको छ, सोहीकारण बीचको सडक असहज बनेको हो,’ उनले भने, ‘अन्य सरसफाइ र व्यवस्थापनको काम नियमित भइरहेको छ ।’ 

 दुई महिनाअघि बनेका ६४ संरचना अझै खाली
नयाँ संरचनामा पूजासामग्री, खानेकुरा तथा लत्ताकपडाका पसल रहनेछन् । कोषले अहिले ३० वटा पुराना टहरा भाडामा लगाउँदै आएको छ । दुई महिनाअघि निर्माण गरिएका ६४ वटा टहरा भने खाली छन् । कसलाई दिने भन्ने विषयमा कुरा नमिल्दा ती टहरा भाडामा लगाइएको छैन । ‘निर्माण भएका ६४ संरचना कसलाई कसरी भाडामा दिने भन्नेबारे सहमति नजुट्दा खाली छन्,’ कोषका प्रवक्ता रेवतीरमण अधिकारीले भने । ९० वटा पक्की संरचना निर्माण भइसकेपछि कोषसँग भाडामा लगाउने पक्की र कच्ची गरी १८४ वटा संरचना हुनेछन् । पुराना टहरा मासिक ११ हजार भाडामा लगाइएका छन् । 

ad
ad