मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
सिसडोल ल्यान्डफिल साइट । फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिसडोलको फोहोर निजी क्षेत्रलाई ठेक्कामा दिने तयारी गर्दै महानगर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:३६:oo

फोहोरबाट मल, बिजुली र ग्यास उत्पादन गर्ने निकायको खोजी गरिँदै

काठमाडौं महानगरपालिकाले सिसडोल ल्यान्डफिल साइटमा डम्प (पुरेको) गरेको फोहोर निजी कम्पनीलाई ठेक्कामा दिने योजना अघि सारेको छ । फोहोरबाट मल, बिजुली, ग्यास तथा अन्य फाइदाजनक काम गर्न सकिने भन्दै महानगरले निजी कम्पनी खोज्न थालेको हो । 

महानगरपालिकाका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार सिसडोलमा डम्प गरिएको फोहोरबाट निकै फाइदा लिन सकिने अवस्था छ । सोहीअनुसार काम गर्ने गरी निजी क्षेत्रलाई दिने योजना महानगरले बनाएको हो । तर, कम्पनी छनोट भने भइसकेको छैन । यस्तै, टेकुमा रहेको फोहोर पनि निजी कम्पनीलाई ठेक्का लगाउने प्रक्रिया अघि बढेको छ । सिसडोलको फोहोर पनि निजी कम्पनीलाई दिँदा आम्दानी पनि हुने र फोहोर व्यवस्थापनमा पनि सहजता मिल्ने भन्दै महनगरपालिकाले निजी क्षेत्रको साथ खोजेको हो । ‘सिसडोलको फोहोरबाट हामीले निकै राम्रो आम्दानी गर्न सक्छौँ, कोही निजी कम्पनी त्यो ठाउँको फोहोर भाडामा लिन आयो भने दिन्छौँ,’ विभाग प्रमुख श्रेष्ठले भने, ‘यसो गर्दा दोहोरो फाइदा हुन्छ ।’ उनले बन्चरेडाँडाको फोहोरबाट पनि प्रचुर फाइदा लिने र फोहोरलाई मोहरमा बदल्न सक्ने गरी योजना तय भइरहेको जानकारी दिए । 

महानगरपालिकाले लामो समयदेखि फोहोर डम्प गर्दै आइरहेको सिसडोलमा फोहोर राम्ररी ‘क्यापिङ’ (नपुरी) नगरी खुला छाडेको छ । यसअघि स्थानीयवासीले फोहोर क्यापिङ गर्नुपर्ने र दुर्गन्ध नआउने बनाउनुपर्ने भन्दै आन्दोलन गरेका थिए । महानगरले फोहोर क्यापिङ गर्ने र आसपास दुर्गन्ध फैलन नदिने बताउँदै आए पनि हालसम्म क्यापिङ भने गरेको छैन । क्यापिङ गर्नुभन्दा उक्त फोहोरबाट फाइदाजनक काम गर्न सकिने देखिएकाले महानगरपालिकाले फोहोरबाट अन्य उत्पादनशील कार्य गर्ने स्रोत खोजी गर्न थालेको हो । 

महानगरलगायत उपत्यकाका अन्य स्थानीय तहको फोहोर ०६२ देखि ०७९ सम्म सिसडोलमा डम्प गरिएको थियो । जसका कारण सिसडोलमा लाखौँ टन फोहोर थुप्रिएको छ । फोहोरका कारण सिसडोल क्षेत्र दुर्गन्धित र प्रदूषित बनिरहेको छ । अब फोहोर क्यापिङ गरेर पुर्नुभन्दा त्यसबाट थप फाइदा लिने गरी काम गर्ने निजी क्षेत्र खोजिएको विभागका प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल बन्चरेडाँडामा फाल्दै आएको फोहोर भने महानगरपालिकाले ‘क्यापिङ’ गर्दै आइरहेको छ । उपत्यकामा दैनिक १२ सय टन फोहोर उत्पादन हुने गर्छ ।