मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
प्रतिकात्मक तस्बिर
रासस चितवन
Invalid date format १५:o४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भरतपुरको दुई ठाउँबाट प्याराग्लाइडिङ गर्न सकिने

Read Time : > 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
Invalid date format १५:o४:oo

पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानका रूपमा लिइएको भरतपुरमा अब दुई स्थानबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ।

गत वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक उद्घाटन गरेकाे भरतपुरको हिमालयन फन्टियर्स प्याराग्लाइडिङको व्यावसायिक उडान बर्खा लागेसँगै स्थगन गरिएको थियो।

कम्पनीका सञ्चालक शैलेन्द्र रावतका अनुसार वर्षाका कारण बाटो बिग्रेको हुनाले सञ्चालनमा आउन नसकेको प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि भरतपुरका दुई स्थानबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

भरतपुर महानगरपालिका– २९, चौकीडाँडा र कविलासडाँडाबाट साहसिक खेलका रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गर्न लागिएको उनले बताए। सुरुमा चौकीडाँडाबाट मात्रै उडान गरिएकामा अबदेखि दुई ठाउँबाट उडान गर्न लागिएको रावतले जानकारी दिए।

भरतपुर भ्रमण वर्षकाे अवसर पारेर प्याराग्लाइडिङ सुरु गर्ने भनिए पनि भ्रमण वर्ष स्थगित भएपछि कम्पनीले उडानको काम सुरु गर्न लागेको रावतको भनाइ थियो । चितवनमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यको नयाँ अनुभवसँगै बसाइ लम्ब्याउनका लागि प्याराग्लाइडिङले भूमिका खेल्ने उनले बताए।

समुद्री सतहबाट एक हजार ५० मिटर उचाइमा रहेको चौकीडाँडा र पाँच सय ८० मिटर उचाइको कविलासबाट ‘टेकअफ’ गराउने व्यवस्था मिलाएको र प्याराग्लाइडिङ अवतरण भने त्रिशूली नदी किनारको दुई सय ५० मिटर उचाइमा हुने रावतले जानकारी दिए। उनका अनुसार प्याराग्लाइडिङमा एक सय २० किलो तौलभन्दा कम भएकालाई मात्र उडान भर्न सकिनेछ। अवतरण गरिने स्थान त्रिशूली किनार भने तनहुँको देवघाट गाउँपालिकामा पर्दछ।

नयाँ गन्तव्यको खोजी गर्ने क्रममा यस क्षेत्रमा प्याराग्लाइडिङ सुरु गरिएको रावतले बताए। उनका अनुसार यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्नेछ । उडानका लागि चौकीडाँडाबाट रु. आठ हजार र कविलासबाट रु. चार हजार तोकिएको छ । सुरुवातमा चौकीडाँडाबाट दुईवटा र कविलासबाट दुईवटा उडान गरिनेछ।

१० जना चालक राखेर काम गर्न पाउने भए पनि सुरुवातमा थोरै चालकबाट काम गर्न लागिएको रावतले बताए। यहाँको नागबेली परेको सडक र त्रिशूली नदीमाथिबाट भरतपुर र देवघाटका रमणीय स्थलको दृश्यावलोकनसँगैको उडानले पर्यटकले भरपुर आनन्द लिन सक्ने उनको भनाइ थियो।

नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । कविलासडाँडा नारायणगढ–मुग्लिनको मुख्य सडकबाट तीन किलोमिटर माथि रहेको छ । कविलास रिसोर्टको छेउमा गर्न लागिएको दोस्रो उडानस्थल माथि जान नसक्ने र अनुभव लिनेहरूका लागि सहज हुने रावतले बताए।