Skip This
भूकम्पले भवन भत्केपछि चौरमै पठनपाठन, चिसोले बिरामी पर्न थाले विद्यार्थी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २१ शनिबार
  • Saturday, 27 July, 2024
समाचार डिजिटल संस्करण

भूकम्पले भवन भत्केपछि चौरमै पठनपाठन, चिसोले बिरामी पर्न थाले विद्यार्थी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २१ शनिबार १२:१४:oo

जुम्लाको तातोपानी गाउँपालिका– ७ ताम्तीको जनजागृति माध्यमिक विद्यालयको भवन भूकम्पले भत्केपछि विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन्। ०६२ सालमा बनेका विद्यालयका तीनवटा भवन भूकम्पले भत्किएपछि माइनस तापक्रममा समेत खुला चौरमा पठनपाठन भइरहेको छ।

०७२ सालको भूकम्पले चर्किएका भवन गत कात्तिक १७ गतेको भूकम्पले भत्किँदा पठनपाठनमा निकै कठिनाइ भएको प्रधानाध्यापक गोपाल सुनारले बताए। ‘जाजरकोटसँग सीमा जोडिएको ताम्ती क्षेत्रमा भूकम्पले विद्यालयका भवन ध्वस्त भएका छन्। घाम लागेको समयमा जेनतेन चौरमा बसेर भए पनि पठनपाठन भएको छ,’ उनले भने। तर, अहिले वर्षात् र हिमपात भएपछि चिसोले विद्यार्थी बिरामी पर्न थालेकाे प्रधानाध्यापक सुनारले सुनाए।

माइनस तापक्रममा खुला चौरमा बसेर पढ्न नसकिने भएपछि अधिकांश विद्यार्थी विद्यालय आउनै छाडेका कक्षा १० मा अध्ययनरत छात्र टेकेन्द्र बुढाले बताए। उनले भने, ‘चिसो बढ्दै छ, हिमपात भइरहेको छ। चौरमा बसेर पढ्न सकिँदैन, कतिपय साथी त स्कुल आउनै छाडिसके।’

जनजागृति माध्यमिक विद्यालयमा ताम्ती र बारागाउँबाट आउने तीन सय ३४ जना विद्यार्थी छन्। पढ्न विद्यालय पठाएका बालबालिका चिसोले धमाधम बिरामी भएर घर फर्कने गरेका स्थानीय भैर रावतले बताए। ‘बालबालिका घरबाटै विद्यालय जान मान्दैनन्, गए पनि कसैलाई ज्वरोले भेट्छ, कसैलाई रुघाखोकी लाग्छ,’ उनले भने, ‘विद्यालय नपठाऊँ भविष्यको चिन्ता छ, पठाऊँ दण्ड दिएजस्तो हुन्छ। निकै हैरानी खेप्नुपरेको छ।’

कक्षा चारसम्मका विद्यार्थीलाई चारकोठे पक्की भवनमा व्यवस्थापन गरिए पनि १० सम्मका कक्षाहरू चौरमा सञ्चालन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर रावतले बताए। जीर्ण भवन भूकम्पले भत्किएपछि विद्यालयको अवस्था दयनीय भएको उनले गुनासो गरे।

गाउँपालिका अध्यक्ष नन्दबहादुर चौलागाईं भूकम्पले दर्जनौँ विद्यालयका पुराना भवन चर्किएको बताउँछन्। ताम्तीस्थित जनजागृति मावि र लाम्रास्थित दुर्गा माविको भने भवन भत्किएको छ। विद्यालय पुनर्निर्माणका लागि प्रदेश र संघ सरकारसँग पहल भइरहेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार गएको भूकम्पले पाँच घर पूर्ण रूपमा क्षति भएका छन् भने एक सय ३४ घर आंशिक रूपमा क्षति भएका छन्। यस्तै, दुईवटा भवन आंशिक क्षति भएका छन्। सामुदायिक विद्यालय एउटा र सरकारी कार्यालय ६० वटा आंशिक रूपमा क्षति भएको तथ्यांक रहेको प्रहरी निरीक्षक उमेश चन्द्रले बताए।

उनले भने, ‘पुरुष एक, महिला एक, बालिका दुई र बालक दुईजना गरी ६ जना घाइते भएका थिए। घाइते सबै उपचारपछि निको भइसकेका छन्।’
 
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे भूकम्पको क्षति संकलन गरी जिल्लाको विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर गृह मन्त्रालयमा माग पठाए पनि अहिलेसम्म रकम तथा कार्यक्रम नआएको बताउँछन्। ‘केन्द्र सरकार जाजारकोट र रुकुम पश्चिमकेन्द्रित भएर अहिले यता छायामा परेको छ। जिल्लाको विपत् व्यवस्थापन समितिको कोषमा बजेट शून्य छ। कुनै क्षतिपूर्ति र राहतका काम गर्न सकिएको छैन। केन्द्र सरकारसँग पहल भइरहेको छ,’ उनले भने।