१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका भरतपुर (चितवन)
२o८१ जेठ २ बुधबार १o:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा पानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, भरतपुर (चितवन)
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:५१:oo

चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालिएको छ । एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लंकु, कैलाशनगर र मंगलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो । लिफ्टका चारबाट पम्प फेरेपछि हिउँदमा पनि पानी छाडिएको नारायणी लिफ्ट सिँचाइ प्रणालीका इन्जिनियर कुलप्रसाद चालिसेले जानकारी दिए । उनले दुई हजार लिटर प्रतिसेकेन्ड पानी तान्ने सानो पम्प सञ्चालन गरिएको जानकारी दिए ।

नयाँ पम्प फेरेपछि हिउँदमा पनि पानी पठाउन सकिन्छ भनेर परीक्षणका रूपमा पानी नहरमा पानी पठाउन थालिएको उनले बताए । नारायणी लिफ्ट सिँचाइमा चार  नयाँ मेसिन छन् । चार घनमिटरका दुई र दुई घनमिटरका दुई छन् । पम्पबाट प्रतिसेकेन्ड दुई हजार लिटर र अर्कोबाट प्रतिसेकेन्ड चार हजार लिटर पानी तान्ने  उनले बताए । 

भरतपुर– १ स्थित नारायणी नदीनजिकै रहेको नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्प हाउसमा रहेका ४० वर्ष पुराना चार  पम्प यस वर्ष फेरिएको हो । पुराना र जीर्ण अवस्थाका पम्पले पानी तान्न समस्या भएपछि यसलाई आधुनिकीकरण गर्न रु. २६ करोड ३२ लाख ४३ हजार एक सय ५१ खर्च गरिएको छ ।

किसानको मागअनुसार गहुँ बालीलाई लक्षित गर्दै नारायणी लिफ्टको ‘बी’ क्यानलबाट पानी छाडिएको उनले बताए ।  ‘बी’ क्यानलको पानी क्षेत्रपुरबाट यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरीखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्छ । यसले करिब दुई हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने इन्जिनियर चालिसेको भनाइ छ । बर्खामा साउन २ गतेदेखि चार महिना सिँचाइका लागि नारायणी लिफ्टबाट पानी छाडिएको थियो ।

०६९ पछि हिउँदमा यस वर्ष पहिलोपटक नारायणी लिफ्टको पानी छाडिएको नारायणी लिफ्ट सिँचाइ प्रणाली उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले बताए । ‘मेसिनले नधानेपछि नियमित गर्न छाड्यौँ,’ उनले भने, ‘नयाँ मेसिन जडान गरेपछि यसपटक गहुँ बालीका लागि भनेर नहर छाडेका छौँ ।’

नारायणी लिफ्टको मुहान पोखरा बसपार्कनजिक छ । त्यहाँ नदीको सतह कम हुँदा पानी तान्न मेसिनलाई समस्या हुने गरेको उनले बताए ।  नारायणी लिफ्ट आयोजनाका काम ०३५ सालमा सुरु भएर ०४० सालबाट चालू रहेको हो । बीचको अवधिमा ०४९ सालमा मेसिन बिग्रिएर रोकिएको थियो । त्यसपछि निरन्तर रूपमा सञ्चालनमा आएको अध्यक्ष रानाभाटले जानकारी दिए ।  नदीमा पानीको सतह भएसम्म यस वर्षदेखि हिउँदमा पनि पानी छाड्ने उनले बताए । 

ad
ad