१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका 
२०७५ पौष १२ बिहीबार ०८:५२:००
Read Time : > 1 मिनेट
अर्थ

सेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म कर्जा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका 
२०७५ पौष १२ बिहीबार ०८:५२:००

नेपाल राष्ट्र बैंकले सेयरको धितोमा मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गरेको छ । यसअघि बैंकहरूले मूल्यांकनको ५० प्रतिशतसम्म मात्रै यस्तो कर्जा प्रवाह गर्न सक्ने व्यवस्था थियो । सेयर बजार निरन्तर घटिरहेपछि सो समस्या समाधानका लागि सुझाब दिन बनेको कार्यदलको सुझाबअनुरूप राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । सेयरको मूल्यांकन गर्दा नेप्सेबाट प्रकाशित पछिल्लो १ सय ८० दिनको औसत मूल्य वा प्रचलित मूल्य कुन कम हुन्छ, त्यसको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउनेछन् ।

राष्ट्र बैंकले गरेको निर्णयले साना लगानीकर्तालाई ठूलो राहत मिलेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । उनले भने, ‘हाम्रा माग सम्बोधन भएको छ । तर, यो सुरुवात मात्रै हो । अरू पनि सम्बोधन हुने अपेक्षा गरेका छौँ ।’

त्यस्तै, बैंकहरूले सेयर धितोमा ऋण लिएका ऋणीहरूलाई मार्जिक कल गर्दा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयर सूचीकरण नभएको अवस्थामा पनि त्यसलाई समेत गणना गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि सूचीकृत नभएका सेयरलाई गणना गर्न नपाउने व्यवस्था थियो । सेयर धितोमा प्रवाह गर्ने कर्जा प्रत्येक वर्ष नवीकरण गर्न सकिने व्यवस्था छ । 

बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पुँजीको ४० प्रतिशतसम्म सेयरधितो कर्जा प्रवाह गर्न सक्ने व्यवस्था राष्ट्रबैंकले गरेको छ । यसअघि प्राथमिक पुँजीको बढीमा २५ प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न सक्ने व्यवस्था थियो । 

स्प्रेड दर ४ दशमलव ४५ प्रतिशतमा झार्नुपर्ने
वाणिज्य बैंकहरूले कर्जा तथा निक्षेपको ब्याजदर चैत मसान्तमा ४ दशमलव ७५ प्रतिशतमा झार्नुुपर्ने व्यवस्था गरेको छ । मौद्रिक नीतिले वाणिज्य बैंकको स्प्रेडदर साढे ४ प्रतिशत हुने व्यवस्था गरेको छ । त्यस्तै, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भने ०७६ को असार मसान्तभित्र स्प्रेडदर ५ प्रतिशतमा झारे हुने व्यवस्थासमेत गरिएको छ । 

मासिक ब्याजदर सार्वजनिक
बैंक तथा वित्तीय संस्थाले अब मासिक रूपमा ब्याजदरसम्बन्धी विवरण राष्ट्रिय स्तरका दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने भएको छ । यसअघि त्रैमासिक रूपमा ब्याजदरसम्बन्धी सूचना प्रकाशित गरे हुने व्यवस्था थियो । तर, ब्याजदर थपघट गर्ने निर्णय भएमा लगत्तै प्रकाशित गर्नुपर्नेछ । 

आधार दरमा सञ्चालन लागत पनि जोड्न पाइने 
राष्ट्र बैंकले आधार दर गणनाको विधिसमेत परिमार्जन गरेको छ । यसअघि कोषको लागत, अनिवार्य मौज्दातको लागत, वैधानिक तरलता लागतलाई प्रतिशतमा गणना गरी आधार दर तय हुने गरेको थियो । अब बैंकहरूले त्यसमा सञ्चालन लागत जोड्न पाउनेछन् ।

बैंकलाई ब्रोकर कम्पनी चलाउने बाटो खुला
बैंक तथा वित्तीय संस्थाले धितोपत्रको ब्रोकर कम्पनी सञ्चालन गर्ने बाटो पनि राष्ट्र बैंकले खोलिदिएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकलाई ब्रोकर कम्पनी सञ्चालन गर्न दिने व्यवस्था थियो । सोही व्यवस्था कार्यान्वयनका लागि बुधबार राष्ट्र बैंकले परिपत्र जारी गरेको हो । बैंकले स्थापना गर्ने ब्रोकर कम्पनीमा कम्तीमा ५१ प्रतिशत सेयर स्वामित्व सम्बन्धित बैंककै हुनुपर्ने व्यवस्था छ । यसरी स्थापना हुने ब्रोकर कम्पनीको नियमन नेपाल धितोपत्र बोर्डले गर्नेछ । तर, नेपाल राष्ट्र बैंकले समेत आवश्यकताअनुसार ती कम्पनीमा निरीक्षण÷सुपरीवेक्षण गर्न सक्ने व्यवस्था छ । यस्ता ब्रोकर कम्पनीले आफ्नो मुख्य कम्पनीको सेयर कारोबार भने गर्न पाउनेछैन ।