सन् २०१६ मा जब अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भए तब कैयौँ राजनीतिका पण्डितले लोकतन्त्रको विश्वव्यापी विघटनको भविष्यवाणी गरेका थिए । केहीले त गृहयुद्धको समेत चेतावनी दिएका थिए । तर, ट्रम्प निर्वाचित भएपछि अफ्रिकाको सहेल क्षेत्रबाहेक अन्यत्र सैन्य कु देखिएन र गृहयुद्ध पनि खासै भएनन् । बरु लोकतन्त्र नागरिक कुका माध्यमबाट विघटन हुन थालेका थिए । शीतयुद्धपछिका विश्वमा तीन किसिमका नागरिक कु देखिए । दुई किसिमका कुले सञ्चारमाध्यममा राम्रै ठाउँ पाए पनि सन् २०२५ पछिको सम्भावित राष्ट्रपति ट्रम्पले अपनाउने कुमा भने हाम्रो ध्यान बिरलै पुगेको छ ।
पहिलो नागरिक स्तरको कुलाई हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले चरितार्थ गरेका छन् । सन् २०१० मा सत्तामा पुनरोदय गरेका ओर्बानले कडा मिडिया कानुन बनाए । उनको पार्टी फिडेजले आप्रवासी र लैंगिक एवं यौनिक अल्पसंख्यकलाई त्रासमा राखिराख्न मुलुकका प्रत्येक ठूला सञ्चारगृहको प्रयोग गर्छ । यी सञ्चारगृहले ओर्बानलाई राष्ट्रिय मुक्तिदाताका रूपमा चित्रण गर्छन् ।
क्षेत्रीय तनाव प्रयोग गर्न ओर्बान खप्पिस छन् उदाहरणका लागि युक्रेन मामिलामा रुस र युरोपेली संघ दुवैलाई आफ्ना स्वार्थका लागि प्रयोग गर्छन् । हालै फिडेजले हंगेरीको चुनावी नियम परिवर्तन गरेको छ । उसो त यो परिवर्तनमा बल प्रयोग नदेखिए पनि संसदीय बहुमत सुनिश्चित गर्ने गरी नियम बनाइएपछि संसदीय खबरदारी खलबलियो । चर्चित अमेरिकी दक्षिणपन्थी सञ्चारकर्मी टकर काल्र्सनले ओर्बान मोडेलको प्रशंसा गर्दा संसारभरिका दक्षिणपन्थीले यसलाई रुचाउँछन् कि भन्ने देखिएको थियो ।
नागरिकस्तरको कुको दोस्रो स्वरूप भ्लादमिर पुटिन नेतृत्वको रुस र डेनियल ओर्टेगा नेतृत्वको निकारागुआमा देख्न सकिन्छ । यो स्वरूपमा एक बलियो दबंगाई व्यक्ति राष्ट्रिय संकटको प्रतिक्रियामा जन्मिन्छ, जसले आफूलाई संरक्षकका रूपमा पेस गर्छ । यहाँ उल्लिखित दुवै मुलुकले राष्ट्रिय आर्थिक संकट देखाउँदै अमेरिकातर्फ औँला सोझ्याउँछन् र आफूलाई मुक्तिदाता बताउँछन् । यी मुक्तिदाताले आफ्ना आसेपासे पोस्न विदेशी–कम्पनीका सम्पत्ति जफत गर्छन् र घरेलु असहमतिलाई दबाउन बल प्रयोग गर्छन् ।
यस्ता राज्यमा शासकका सीमित धनाढ्य आसेपासे न्यून जनसहभागिता हुने चुनाव र सैन्य अगुवाका भर पर्छन् । नागरिक कु यो दोस्रो स्वरूप पनि खासै चल्न सकेको छैन । यो स्वरूपले लोकतन्त्र कमजोर छ र विपक्षी उपस्थिति नगण्य छ भन्ने देखाउँछ । निजी क्षेत्र राज्यमा निर्भर हुन्छ र विपक्ष विशेषतः न्यायालय कब्जाको जोखिममा हुन्छ । वैकल्पिक राजनीतिक शक्ति वा संस्था नहुँदा सेनाका अगुवाको रजगज चल्छ । तर, नियमन र सन्तुलन हुने राज्यमा सेनाको अगुवा वा तानाशाहले स्थान पाउँदैनन् । अधिनायकवादी प्रयासमा तुरन्तै अंकुश लाग्छ । सन् २०२० को निर्वाचनको हारपछि ट्रम्पले पनि अधिनायकवादी कदम चाल्न खोजेकै हुन्, तर सफल हुन सकेनन् । ट्रम्प र उनका अनुचरले सन् २०२० को असफलताबाट पाठ सिकेका छन् तसर्थ, हामीले तेस्रो किसिमको नागरिक कुलाई लिएर संवेदनशील हुन जरुरी छ ।
अनिश्चित समयमा जनताको मतलाई पूर्ण रूपमा अस्वीकार नगरी लोकतन्त्रप्रति असन्तुष्टि पैदा गराउने मौका उपलब्ध हुन्छ
तेस्रो नागरिक कु न बलियो पार्टीमा भर पर्छ न धनाढ्यमा । तैपनि, यसले वास्तविक अथवा कृत्रिम राष्ट्रिय संकटको प्रयोग गर्छ । यो स्वरूपलाई एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले लागू गरेका छन् । वर्षौँदेखिको समस्यापछि विप्रेषण र व्यापक सार्वजनिक खर्चले अहिले एल साल्भाडोरको अर्थतन्त्र उकासिएको छ ।
मुलुकका कुख्यात गिरोह भिडन्त (ग्याङ फाइट) पनि अहिले समाप्त भएको छ । विभिन्न आर्थिक प्रलोभनका माध्यम अथवा सार्वजनिक गिरफ्तारीका माध्यमबाट गिरोह भिडन्तमा रोक लाग्यो । तथाकथित अपराधीलाई कानुनी प्रक्रियामा ल्याउन बुकेलेले मार्च २०२२ मा केही नागरिक अधिकारसमेत कुण्ठित गरे । प्रहरीले १६ देखि ३० वर्षसम्मका करिब ७० हजार मानिसलाई गिरोह सदस्यताका लागि गिरफ्तार गर्यो । नतिजा बुकेले लोकप्रिय बनेका छन् । यही लोकप्रियताका कारण उनले आफूलाई दोस्रोपटक चुनाव लड्नबाट रोक्ने संवैधानिक प्रावधान संशोधन गरेका छन् । र, केही अनुमानअनुसार आउने फेब्रुअरीमा उनी ६८.४ प्रतिशतको विशाल मत ल्याएर विजयी हुन सक्छन् । विधिको शासन लागू गरेजस्तो देखिने बुकेले मोडेलको शासनमा संकटकालीन अधिकार प्रयोग गरेर अर्ध–स्थायी शासन लागू हुने गर्छ ।
ट्रम्पले राष्ट्रपति निर्वाचन लडिरहँदा हामीले बुकेले मोडेलको नागरिक कुतर्फ ध्यान दिन जरुरी छ । यदि ट्रम्पले निर्वाचन जिते भने उनले हंगेरीको मोडेल अपनाउनेछैनन् किनभने रिपब्लिकन पार्टी आफैँमा विभाजित छ र डेमोक्याट पार्टी पनि कमजोर छैन । यदि ट्रम्पले हंगेरीको मोडेल रोज्छन् भने अमेरिकी राज्यले पनि त्यसको प्रतिरोध गर्ने क्षमता राख्छन् । अमेरिकी निजी क्षेत्र रुसजति जटिल नभएकाले ट्रम्पले रुसका पुटिनलेझैँ आसेपासे धनाढ्यलाई पोसेर अमेरिकी सत्तामा रजगज गर्न सक्दैनन् । त्यसैगरी, आफ्ना अनुचर प्रयोग गरेर सत्ता कब्जा गर्ने ६ जनवरी २०२१ को प्रयासमा असफल भइसकेका छन् ।
यति भन्दै गर्दा सांस्कृतिक संस्थाका सीमितता एवं जोखिम, युक्रेन युद्धको तनाव र कांग्रेसमा देखिएको विवादले ट्रम्पका लागि ठाउँ भने उपलब्ध गराएको छ । अनिश्चित समयमा राज्यका अपवाद नियमको दुरुपयोग हुने सम्भावना बढ्छ । यसले नेताहरूलाई आधिकारिक लोकतान्त्रिक प्रणालीबाट मुक्त भई कडा कदम चाल्न मौका दिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा के छ भने अनिश्चित समयमा जनताको मतलाई पूर्ण रूपमा अस्वीकार नगरी लोकतन्त्रप्रति असन्तुष्टि पैदा गराउने मौका उपलब्ध हुन्छ ।
(एडेलमेन प्रिन्स्टन विश्वविद्यालयको ग्लोबल हिस्ट्री ल्याबका निर्देशक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट