१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o७:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

महामन्त्री गगन थापाको प्रस्ताव–सरकारमा बसेर गर्ने कामको लक्ष्य बनाऔँ, काम गरेनन् भने मन्त्री फेरौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:५o:oo

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले सरकारमा मन्त्रीहरूको कार्यसम्पादन हेरेर परिवर्तन गर्ने या निरन्तरता दिने निर्णय गर्नुपर्ने बताएका छन् । उनले सरकारको कामका आधारमा ०८४ को निर्वाचनमा जानुपर्ने भन्दै लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्। 

‘सरकारमा सहभागी भएको आठ महिना भयो । प्रत्येक मन्त्रीले यस अवधिमा गरेका आठवटा कामको सूची दिनुहोस्, जसका कारण नागरिकको जीवनमा सकारात्मक परिवर्तन आयो र ती काम तपाईं नभएको भए हुँदैन थियो,’ महामन्त्री थापाको भनाइ थियो, ‘अब एक वर्षमा सरकारमा बसेर के गर्ने भन्ने लक्ष्य निर्धारण गरौँ । त्यो लक्ष्य पूरा गर्न भनेजस्तो काम गरेनन् भने मन्त्री फेरौँ ।’ उनले कांग्रेसलाई काम नगर्ने छुट नभएको बताए । नीति अधिवेशनबाट गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, मर्यादित रोजगारीलाई मिसन बनाएर निर्वाचनमा जनतासामु जाने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । 

साथै, सभापति शेरबहादुर देउवाले गठबन्धनसँग एकलौटी निर्णय गरेको भन्दै थापाले असन्तुष्टिसमेत पोखेका थिए । ‘गठबन्धन बैठक भन्ने, अनि पार्टीमा सल्लाह नगरी पार्टीको धारणा भनेर निर्णय गर्ने, त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्ने यो गलत प्रवृत्ति हो,’ महामन्त्री थापाको भनाइ थियो ।

बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकार र कांग्रेसका मन्त्रीहरूले उल्लेख्य परिणाम दिन नसकेको भन्दै असन्तुष्टि जनाए । उनले तीनै तहका सरकारले जनताको पक्षमा काम गरेर रिपोर्ट कार्डमा उपलब्धि देखिने स्थिति बनाउनुपर्ने बताएका थिए । ‘सरकारले काम पनि नगर्ने, आफ्नो पालो आउँदा समर्थन पनि प्राप्त हुँदैन भन्ने डरले केही पनि नगर्ने हो भने ०८४ को निर्वाचनमा कांग्रेस पत्तासाफसमेत हुन सक्छ,’ उनले भने । 

त्यस्तै, केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राजनीतिक दलका कारण जनतामा रहेका असन्तुष्टि विद्रोहमा परिणत हुने अवस्था आएको भन्दै सरकार र राजनीतिक दलहरू सच्चिन आवश्यक रहेको धारणा राखे । उनले बालकुमारी घटनालाई बुझ्न नसके ठूलो क्षति हुनेतर्फ सचेतसमेत गराए । ‘देशमा भ्रष्टाचार छ, नागरिकले सरकार, राजनीतिक दल र नेतालाई विश्वास गर्न सकेको छैन । मुलुकमा बेथिति र विधिहीनता मात्रै देखियो यी अवस्थाको अन्त्य गर्न नसक्ने हो भने जनताको असन्तुष्टि विद्रोहका रूपमा देखिने खतरा छ,’ उनको भनाइ थियो । 

केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले राष्ट्रिय सभामा समग्र देशको नेतृत्व गर्न सक्ने सम्मानितलाई पठाउनुपर्ने धारणा राखिन् । ‘राष्ट्रिय सभा भनेको जुनसुकै देशमा नेतृत्वमा गइसकेको, देशलाई हाँक्न सक्ने मान्छेहरू जम्मा हुने ठाउँ हो । कांग्रेसले त्यस्ता व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ,’ उनको भनाइ थियो । त्यस्तै, केन्द्रीय सदस्य रमेश लेखकले संविधान पुनरावलोकन गर्ने समय भएको बताए । साथै, सरकारको समीक्षाबारे बैठकमा अतिवादी दृष्टिकोण आएको भन्दै आलोचना गरे । ‘सरकारबाट सबै कुरा ठीक भएको छ, केही पनि बिग्रिएको छैन भन्ने एउटा कोण छ, छँदै छैन भन्ने अर्को,’ उनले भने, ‘दुईवटै अतिवाद हो ।’ 

ad
ad