१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o९:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : ललितपुर पहिलोपटक फाइनलमा

खेलको ३४औँ मिनेटमा १० खेलाडीमा सीमित ललितपुरले पोखरालाई २–१ ले हराउँदै धनगढीसँगको उपाधि भिडन्त पक्का गर्‍यो

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:o६:oo

ललितपुर सिटी दोस्रो संस्करणको एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको दोस्रो क्वालिफायर्समा पोखरा थन्डर्सलाई २–१ ले हराउँदै ललितपुर पहिलोपटक उपाधिनजिक पुगेको हो । ललितपुरले शनिबार उपाधि भिडन्तमा साबिक उपविजेता धनगढीको सामना गर्नेछ । खेलको ३४औँ मिनेटमा १० खेलाडीमा सीमित ललितपुरको जितमा कुशल देउवा र इमोह इजेकेइलले एक–एक गोल गरे । पोखराका स्टेफन कोजो पापाले एक गोल फर्काए । पहिलो संस्करणमा ललितपुर इलिमिनेटरमा काठमाडौं रेजर्ससँग पराजित हुँदै बाहिरिएको थियो । 

भारतीय मिडफिल्डर निखिल कदमले दोहोरो पहेँलो कार्ड पाएपछि ललितपुरले बाँकी समय १० खेलाडीमा प्रतिस्पर्धा गरेको थियो । ललितपुरले पोखराविरुद्ध बलियो रक्षापंक्ति प्रस्तुत गरेको थियो । ललितपुरले खेलमा दुईपटक अग्रता लियो । पोखराले १० खेलाडीमा सीमित ललितपुरविरुद्ध फाइदा लिन सकेन । पोखराका प्रशिक्षक नवीन न्यौपानेले ललितपुरविरुद्ध प्रतियोगिताकै कमजोर प्रदर्शन भएको प्रतिक्रिया दिए । ‘अक्सनबाटै हामी कमजोर टोलीका रूपमा थियौँ, तर खेलाडीले राम्रो प्रदर्शन गर्दा सेमिफाइनलमा पुगेका हौँ, फाइनल पुग्ने सुनौलो अवसरमा खेलाडीले प्रतियोगिताकै कमजोर प्रदर्शन गरे,’ न्यौपानेले भने, ‘१० खेलाडीमा सीमित ललितपुरविरुद्ध फाइदा उठाउन सकेनौँ ।’ 

ललितपुरका प्रशिक्षक इआन आन्दै गिलानीले समस्याबीच टोली फाइनल पुगेको प्रतिक्रिया दिए । ‘अब एक महत्वपूर्ण खेल खेल्नुपर्नेछ, हामी मनोवैज्ञानिक रूपमा तयार हुनुपर्छ,’ गिलानीले भने, ‘खेलाडी घाइते छन्, यो निकै समस्या छ ।’ पोखराविरुद्ध स्ट्राइकर इमोहले घाइते भएपछि मैदान छाडेका थिए । ललितपुरका मिडफिल्डरद्वय रोशन पहाडी र विवेक पौडेल घाइते छन् । 

कुशलको निर्णायक गोल 
ललितपुरलाई फाइनल पुर्‍याउन ३० मिनेटको अतिरिक्त समयमा युवा खेलाडी कुशल देउवाले निर्णायक गोल गरे । निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेले । इन्जुरी समयमा मैदान प्रवेश गरेका कुशलले ९९औँ  मिनेटमा गोल गरेका हुन् । नेपालको प्रतिनिधित्व गर्दै यू–१९ साफ च्याम्पियनसिप खेलिसकेका कुशलले पोखराका रक्षकले गरेको गल्तीको फाइदा उठाउँदै बक्सभित्रबाट सहज गोल गरे । पहिलो हाफको इन्जुरी समयमा इमोहको गोलबाट ललितपुरले अग्रता बनाएको थियो । ७२औँ मिनेटमा स्टेफन कोजो पापाले पोखरालाई १–१ को स्थितिमा फर्काए । आइडुले दायाँ साइडबाट निकालेको क्रसमा बक्सभित्रका पापा एनोरले हेडिङ गोल गरे ।

 रेफ्री नै परिवर्तन
नेपाल सुपर लिगमा दोस्रोपटक रेफ्री परिवर्तन भएका छन् । ललितपुर र पोखराबीचको खेलमा फिफा रेफ्री नवीन्द्र महर्जन घाइते भएपछि ६६औँ मिनेटमा मैदान छाडे । उनको स्थानमा फोर्थ रेफ्री राम दासनले बाँकी खेल खेलाए । भारतीय रेफ्री दासन मैदान प्रवेश गर्दा महर्जन नै फोर्थ अफिसियल रहे । यसअघि धनगढी एफसी र काठमाडौं रेन्जर्सबीचको खेलमा पनि रेफ्री परिवर्तन भएको थियो । फिफा रेफ्री प्रज्वल क्षेत्री घाइते भएपछि बाँकी खेल नवीन्द्रले नै खेलाए । 

भाइचुङ भुटियाले ट्रफी अनावरण गर्ने
भारतीय राष्ट्रिय टोलीका पूर्वकप्तान भाइचुङ भुटियाले फाइनलअघि एनएसएलको ट्रफी अनावरण गर्ने भएका छन् । फाइनल खेलअघि प्रिम्याच कन्फ्रेसनमा शुक्रबार दुई कप्तान र प्रशिक्षक उपस्थित हुनेछन् । त्यसपछि ट्रफी अनवारण गर्ने कार्यक्रम छ । चौधरी ग्रुपको स्वामित्वमा रहेको आयोजक नेपाल स्पोर्टस् इभेन्ट एन्ड म्यानेजमेन्ट प्रालिले भारतीय फुटबलका हस्ती भुटियालाई निमन्त्रणा गरेको छ । भुटिया शुक्रबार दिउँसो ३:३० बजे काठमाडौं आइपुग्नेछन् । यसअघि आइभोरी कोस्टाका डिडिएर ड्रोग्बाले प्रतियोगिताको उद्घाटन गर्ने भनी प्रचार गरिएको थियो । तर, इंग्लिस क्लब चेल्सीका समेत प्रभावशाली स्ट्राइकर ड्रोग्बालाई आयोजकले ल्याउन सकेन । 

ad
ad