१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष १२ बिहीबार १४:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘युवालक्षित स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्नुस्’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष १२ बिहीबार १४:१५:००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन्।

बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन्। 

छलफलपछि निर्देशन दिँदै प्रधानमन्त्रीले भने, ‘नवप्रवर्तनशील सोच र जोस भएका नवयुवामा उद्यमशीलता प्रवर्द्धन गर्न बिजनेस इन्क्वेसन सेन्टरको माध्यमबाट सातै प्रदेशकेन्द्रित व्यवसाय प्रवर्द्धन अभियान सञ्चालन गर्ने तयारी गर्नुहोला। स्टार्टअप फन्डको समेत परिचालन गरी बर्सेनि कम्तीमा २० हजार युवाको नवीनतम सोचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, स्टार्टअप र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारीमापनका लागि ‘जबमिटर’को व्यवस्था गर्न विशेष योजना तयार गर्नुहोला।’

प्रधानमन्त्रीले नेपाल सरकारका कूटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवर्द्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्नसमेत निर्देशन दिए।  

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग तथा वाणिज्य प्रवर्द्धनका लागि विनियोजित रकम थोरै हुँदा निर्धारित कार्यक्रम सञ्चालन गर्न बाधा पुगेको बताउँदै त्यसका लागि सरकारकै तर्फबाट एकीकृत समाधान खोजिनुपर्ने बताए।