Skip This
संविधानमाथि आक्रमण भइरहेकाले गम्भीर हुनुपर्ने स्थिति छ : नेपाल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १२ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष १२ बिहीबार १o:२१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

संविधानमाथि आक्रमण भइरहेकाले गम्भीर हुनुपर्ने स्थिति छ : नेपाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १२ बिहीबार १o:२१:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्राप्त उपलब्धि रक्षाका निम्ति दलहरू मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । ललितपुरमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रमा नेपालले प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्र गरिरहेको दाबी गरे । 

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रलाई परिवर्तनकारी दलहरूले मिलेर निस्तेज पार्नुपर्नेमा उनले जोड दिए । ‘हाम्रो पार्टीले एमालेभित्र गरेको विद्रोह जायज थियो । विघटित प्रतिनिधिसभा हाम्रो विद्रोहले पुनः स्थापित भयो । संविधान जोगियो । संसद्ले पूर्ण कार्यकाल काम गर्‍यो । आज संविधानमाथि आक्रमण भइरहेको सन्दर्भमा हामी फेरि गम्भीर हुुनुपर्ने स्थिति आएको छ । अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् । विभिन्न देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले देशभित्र षड्यन्त्रका तानाबाना बुुनिरहेका छन्,’ उनले भने । नेपालले नेकपाको निरन्तरता एकीकृत समाजवादी भएको दाबी पनि गरे । 

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्गमा आधारित पार्टी बनाउनुपर्नेमा जोड दिए । उनले देशलाई नै तरंग दिने गरी पार्टी निर्माणको छलफलमा जुट्न आह्वानसमेत गरे । खनालले आगामी निर्वाचनमा वामपन्थी शक्तिलाई सिध्याउन षड्यन्त्र भइरहेको दाबी पनि गरे । वामपन्थीहरू एकताबद्ध नभए स्थिति गाह्रो हुने उनको विश्लेषण छ । उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नतिर लागेनौँ भने ०८४ को चुनाव सम्झिनुस् । ०८४ को चुनावमा वामपन्थीलाई धुल्याउने योजना छ । यो बुझिराख्न आवश्यक छ । हामीले अहिलेदेखि नै तयारी गर्नुपर्छ । कुन बाटो हिँड्दा सही हुन्छ त्यो गर्न सकेनौँ भने गाह्रो हुन्छ ।’

तीन दिनसम्म चल्ने बैठकमा विधान संशोधनबारे छलफल सुरु भएको छ । केन्द्रीय सदस्यहरूको रायका आधारमा विधान मस्यौदा तयार पारेर प्रतिनिधि परिषद् बैठकमा पेस गर्ने एकीकृत समाजवादीको तयारी छ । विधान संशोधनका लागि ११ वटा प्रश्नावली केन्द्रीय सदस्यहरूलाई उपलब्ध गराइएको छ । सदस्यहरूले लिखित रूपमा पनि सुझाव दिन सकिने विधान मस्यौदा समितिका संयोजक डा. बेदुराम भुसालले बताए ।