Skip This
दलितलाई बहिष्कार प्रकरण : आन्दोलनमा उत्रिए दलित समुदाय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १२ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o पौष १२ बिहीबार o९:o३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दलितलाई बहिष्कार प्रकरण : आन्दोलनमा उत्रिए दलित समुदाय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o पौष १२ बिहीबार o९:o३:oo

मोरङको पथरीशनिश्चरे नगरपालिका– १० जिरीखिम्तीमा जातीय विभेदविरुद्ध न्याय खोज्दा समाजले नै बहिष्कार गरेको घटनामा दलित समुदायले आन्दोलन सुरु गरेका छन् । घटना बाहिर आउँदा पनि सरकारी निकायले बेवास्ता गरेपछि दलित अधिकारकर्मीसहित बहिष्कारमा परेका दलितहरू आन्दोलनमा उत्रिएका हुन् ।

नयाँ पत्रिकामा २९ मंसिरमा ‘जातीय विभेदविरुद्ध न्याय खोज्दा दलित समुदाय नै बहिष्कारमा’ शीर्षकमा समाचार प्रकाशन भएपछि पथरीशनिश्चरेका दलितले संयुक्त दलित संघर्ष समिति बनाएका थिए । उनीहरू बुधबार दलित समुदायलाई बहिष्कार गरिएको बस्ती जिरीखिम्तीबाट र्‍याली प्रदर्शनसहित पथरीशनिश्चरे नगरपालिका पुगेका थिए । उनीहरूले पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोलाई र इलाका प्रहरी कार्यालय पथरीमा ज्ञापनपत्र बुझाएका थिए ।

अधिकारकर्मीले दलितमाथि भएको यो अमानवीय व्यवहारमा स्थानीय तह मौन बसे थप सशक्त आन्दोलन गर्न बाध्य हुने बताएका थिए । गत जेठमा पथरीशनिश्चरे नगरपालिका– १० जिरीखिम्तीकी रिता विश्वकर्मालाई पुराणमा पूजा गर्न खोज्दा स्थानीय शान्ति सुवेदीले जातीय विभेद गरेकी थिइन् । उक्त विभेदविरुद्ध रिता प्रहरी हुँदै अदालत गएपछि अहिले जिरीखिम्तीका दलितलाई सहयोग गर्ने केही गैरदलितसहित करिब २५ घर दलितलाई बहिष्कार गरिएको छ । न्याय खोज्दा ‘रिस साँध्न’ अहिले विवाह, मेलापात, गाउँमा हुने सामूहिक कार्यमा दलित समुदायलाई एक्ल्याइएको छ । 

प्रदर्शनसँगै दलित समुदायले विभेद भोगिरहेको गाउँ जिरीखिम्तीमा भएको कोणसभामा बोल्दै नेपाल दलित मुक्तिमोर्चाका कोशी प्रदेश अध्यक्ष हुकुमसिंह नेपालीले अब दलितले विभेद सहेर नबस्ने बताए । ‘सामाजिक सद्भावको नाममा धेरै विभेद सह्यौँ । विभेद, छुवाछुत, शोषण सहेर सामाजिक सद्भाव कायम राख्न अब सकिँदैन,’ उनले भने, ‘सहेर बनेको मनोवादीहरूको सामाजिक सद्भावमा घन हान्न सुरु गर्‍र्यौँ । अब इँटाको जवाफ पत्थरले दिन्छौँ ।’

गत जेठमा रिता विश्वकर्मालाई विभेद गरेपछि कानुनी प्रक्रिया सुरु गर्दा माफी माग्दै मुद्दा कमजोर बनाउन लगाउनेले अहिले सिंगो दलित समुदायलाई नै बहिष्कार गरेको उनले बताए । त्यसवेला मुद्दा कमजोर हुँदा दलित आन्दोलन केही कमजोर देखिए पनि अब सशक्त आन्दोलनका लागि तयार भएको नेपालीले बताए।

कोणसभामा बोल्दै नेपाल जातीय उत्पीडित मुक्ति समाजका केन्द्रीय स्थायी समिति सदस्य खड्ग परियारले संविधान र कानुनले विभेद, छुवाछुतलाई दण्डनीय भनेको अवस्थामा यसरी खुलेआम दलितमाथि विभेद हुनु निन्दनीय रहेको बताए। उनले पथरीबाट नै अब देशभर हुने विभेद विरुद्ध आन्दोलन सुरु भएको बताए। विभेद र बहिस्कार गर्नेलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने परियारले बताए।

‘अन्याय, अत्याचार, विभेद हुँदा हामी एक भएर उभिन्छौँ। अन्याय सहनु हुँदैन। देशभर हुने विभेद विरुद्ध निरन्तर लडिरहने छौँ। यो सांकेतिक मात्र आन्दोलन मात्र हो,’ उनले भने। 

कोणसभामा बोल्दै नेपाल दलित संघका प्रदेश सचिव अम्बर बराइलीले कानुनी रूपमा दण्डनीय अपराध गर्नेलाई कानुनी कठघरामा उभ्याइने बताए। 

उनले विभेद गर्ने विरुद्ध अब मुद्दा दर्ताको तयारीमा रहेको बताए। ‘दलित बहिस्कार गर्ने तपाईंहरू दलितले सिलाएको लुगा नलगाउनुस्, दलितले बनाएको हतियार नचलाउनुस्। किन दलितलाई मात्र बहिस्कार गर्नुहुन्छ रु उनीहरूले बनाएका र सिलाएका लुगालाई पनि बहिस्कार गर्नुस्,’ उनले भने, ‘अब हामी कानुनी रूपमै अघि बढ्छौँ  र विभेदविरुद्ध कानुनी उपचार खोज्छौँ।’

संयुक्त दलित संघर्ष समितिका सचिव नरेश घतानीले दलितले न्याय नपाए थप सशक्त आन्दोलन गर्ने उद्घोष गरे।ज्ञापनपत्र बुझ्दै पथरीशनिश्चरेका नगरप्रमुख मोहनप्रसाद तुम्बापोले कानुनी राज्यमा दलितमाथि भएको यो बहिस्करण निन्दनीय भएको बताए।

‘हाम्रो समाज कतिसम्म पछाडि रहेछ भन्ने एउटा उदाहरण हो यो घटना। कानुनले बर्जित गरेको यो काम गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘हाम्रा सबै समस्या कानुनले मात्र समाधान हुँदैन। समाजमा बसेपछि समस्या समाधान गर्न हामीले पनि भूमिका निर्वाह गर्नुपर्छ। अचानोको चोट खुकुरीलाई थाहा हुँदैन। विभेद गर्नेलाई यसको पीडा थाहा हुँदैन। समाजले महसुस गरेर अब यस्ता घटना नदोहोरियोस् भन्न सामूहिक प्रयत्न गर्नुपर्छ।’ उनले समस्या समाधानाका लागि चाँडै छलफल राख्ने बताए। पीडितलाई  नगरपालिकाले सहयोग गर्ने उनको भनाइ छ।