Skip This
एआई स्कुलका विद्यार्थीले बनाए तीन नयाँ सफ्टवेयर 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ११ बुधबार
  • Saturday, 27 July, 2024
२o८o पौष ११ बुधबार १४:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एआई स्कुलका विद्यार्थीले बनाए तीन नयाँ सफ्टवेयर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ११ बुधबार १४:५७:oo

काठमाडौंमा इन्जिनियरिङ पढिरहेका विद्यार्थीले नीति नामक सफ्टवेयरको विकास गरेका छन्। यो सफ्टवेयरले कानुनी जिज्ञासा मेटाउने विद्यार्थी बताउँछन्। 

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका युनिका बज्राचार्य, प्रणवरत्न गुभाजू, अस्मिता सिग्देल, सुदीप तिवारी र कान्तिपुर इन्जिनियरिङ क्याम्पसकी सावर्णी घिमिरेले आर्टिफिसिल इन्टेलिजन्स (एआई) प्रविधिको प्रयोग गरेर तयार गरेको नीतिले कानुनका विद्यार्थीलाई सहज बनाउने देखिएको छ। 

विद्यार्थीका अनुसार अध्ययनका लागि आवश्यक कानुनी किताब खोज्दै हिँड्नुको सट्टा नीति सफ्टवेयरको प्रयोगले चाहेको प्रश्नको उत्तर सहजै प्राप्त हुन्छ। त्यसैगरी विभिन्न कानुनी प्रक्रियाबारे जान्न खोज्ने व्यक्तिका लागि पनि यसले जानकारी दिन्छ। 

यसरी सोधिने प्रश्नको जवाफ खोज्न नीतिले कानुनी कागजातको विशाल डाटाबेसबाट द्रुत गतिमा खोजी गर्छ र सबैभन्दा मिल्दो तीन जवाफ दिन्छ। जसले कुन कानुनबाट जवाफ निकालिएको छ भन्ने स्रोत पनि खुलाउने उनीहरूले बताए।  

एआईकै प्रयोग गरी पुल्चोक क्याम्पसका विद्यार्थी सौरभ अधिकारी, सचिन आचार्य, आश्मा योङ्हङ र सगरमाथा इन्जिनियरिङ क्याम्पसका गौरव शाह मिलेर फोटोको माध्यमबाट बालुवा खानी छुट्याउने सफ्टवेयर निर्माण गरे। यो सफ्टवेयरले स्याटेलाइट फोटोद्वारा कुन ठाउँमा बालुवा खानी छ भनेर सहजै छुट्याउन सक्छ। 

एआईको प्रयोग गरेर यी दुई समूहले निर्माण गरेका सफ्टवेयरजस्तै इन्जिनियरिङ अध्ययन गरिरहेका विसद कोजु, रेगिश श्रेष्ठ, सलिना गुरुङ र टेकजंग शाहीले चाहिँ अस्तित्वमै नरहेका सांस्कृतिक सम्पदाहरूको हुबहु पुनर्निर्माणका लागि फोटोको प्रयोग गरेर थ्रिडी रिकन्स्ट्रक्सन गरी वास्तविक डिजाइन तयार गर्ने सफ्टवेयर बनाएका छन्। 

यो सफ्टवेयरले हावाहुरी, घामपानी, भूकम्प तथा अन्य प्राकृतिक प्रकोपका कारण नासिएका सम्पदाहरूको ऐतिहासिक अवस्था खुलाउँछ। 

यी तीनवटै सफ्टवेयर विकास गर्ने विद्यार्थी दियो डट एआईले नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा आयोजना गरेको वार्षिक नेपाल एआई स्कुलको ह्याकथन प्रतियोगितामा उत्कृष्ट बनेका प्रतिस्पर्धी हुन्।  

उनीहरूले ह्याकाडेभ परियोजनाअन्तर्गत तीन महिनासम्म एआई प्रविधिमा अनुसन्धान गरेर सफ्टवेयर विकास गरी परियोजनाका रूपमा अघि बढेका थिए। 

डाक्टर विनोद भट्टराई, डाक्टर डन्डपाणि पौडेल र डाक्टर सुमनराज विष्टले एआईमा आधारित प्राविधिक ज्ञान दिएर उनीहरूका उत्पादनलाई थप प्रभावकारी बनाउन मद्दत गरेको अनुसन्धानात्मक परियोजना व्यवस्थापक उदितचन्द्र अर्यालले बताए। अहिले यी तीनवटै समूहका विद्यार्थी आफूले विकास गरेका एआईमा आधारित उत्पादनको प्रचारमा छन्। 

ललितपुरमा आयोजित प्रदर्शनीमा उनीहरूले आफ्ना उत्पादनबारे सरोकारवालाहरुलाई जानकारी गराएका छन्। दियो डट एआईका कार्यकारी निर्देशक विजयन भट्टराईका अनुसार अब यी तीन समूहका उत्पादनको प्रभावकारिता हेरेर अन्य समूहलाई पनि सक्रिय बनाउने तयारी छ। एआई स्कुलमार्फत यस्ता विभिन्न समूह तयार गर्ने लक्ष्य रहेको उनले बताए। 

उत्पादनबारे प्रतिक्रिया दिँदै नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले यी उत्पादन निकै प्रभावकारी देखिएकाले अब लगानी जुटाउन सुझाव दिए। उनले यसको राम्रो भविष्य रहेकाले बजारमा नयाँ उद्यमीका रूपमा स्थापित गराइनुपर्नेमा पनि जोड दिए।

विद्यार्थीका उत्पादनमाथि सुझाव दिँदै एआई रिसर्च साइन्टिस्ट विशेष खनालले एआई प्रविधिले नयाँ–नयाँ रोजगारी सिर्जना गर्नुका साथै कामको उत्पादकत्वमा पनि ठूलो वृद्धि गरिदिन सक्ने भएकाले यसको बजार फराकिलो बन्ने बताए। 

यसले विश्वव्यापी रूपमा नै वस्तु तथा सेवाहरूको कुल वार्षिक मूल्यमानलाई बढाउन सक्ने उनको भनाइ छ। मानिसले सिर्जना गरेको कामबाट छुट्टै हो भनेर यकिन गर्न नसकिने गरी कन्टेन्ट बनाउन सक्षम यो प्रविधि एउटा ठूलो प्रगति हुन सक्ने खनालको दाबी छ।