१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १४:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नारायणगढ-मुग्लिन सडक बन्द हुने समय परिवर्तन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:३८:oo

नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ। नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो।

तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घन्टा सवारीसाधन रोकिएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो।

परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ। भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी ई. कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारीसाधन रोकिनेछ।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिनेछन् भने मालवाहक सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म रोकिनेछन्। काठमाडौंबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिने उनले जानकारी दिए। 

यसैगरी, पोखराबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोकिनेछ।

सूचना अधिकारी आचार्यका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिनेछ । गत वर्ष भित्तो काटिए पनि कडा चट्टानका कारण काम कठिन भएकाले विस्फोट गराउनका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो। 

राजधानी काठमाडौंबाट तराईको जिल्ला बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले चार घन्टा सवारीसाधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।

कार्यालयले चार घन्टासम्म रोकिएका सवारीसाधन पठाउन लामो समयसम्म ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको हो। 

ad
ad