
राप्रपा नेपालआबद्ध जनवर्गीय संगठनहरूले आज साँझ काठमाडौँमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन्।
९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरूको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन्।
मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किराँतीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नुपर्ने उनीहरूको भनाइ छ।
संस्कृतिमन्त्री किराँतीले क्रिस्चियन धर्म नमान्नेहरू ‘देशद्रोही र संविधानविरोधी भएको त्यस्तालाई जेलमा कोच्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। ’पार्टीका जनवर्गीय संगठनहरूले आज सांकेतिक रूपमा विरोध प्रदर्शन गरेका छन्।
मन्त्री किराँतीले तत्काल राजीनामा नदिए यो विषय डरलाग्दो र विकराल हुन सक्ने चेतावनी दिँदै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राजीनामा नदिए आन्दोलनले चर्को रूप लिने बताए। काठमाडौंको चाबहिलमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले मन्त्री किराँतीको विरोधमा चर्का नाराबाजी गरेका थिए।