१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ जेठ २ बुधबार o६:११:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रहरीमा पनि स्टाफ कलेज सुरु हुँदै : स्टाफ कलेज नगर्ने अधिकृतहरू उच्च पदमा बढुवा नहुने 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:११:oo

बढुवा पद्धतिमा सुधार गरी नेतृत्व विकास प्रणाली सुरु गर्ने उद्देश्यसहित नेपाल प्रहरीमा पनि स्टाफ कलेजको अवधारणा लागू हुने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको कोर्समार्फत स्टाफ कलेजको अवधारणा लागू गर्न नेपाल प्रहरीले अन्तिम तयारी गरिरहेको छ । 

स्टाफ कलेजको अवधारणा कार्यान्वयनका लागि डिआइजीको नेतृत्वमा एक समिति बनाई प्रक्रिया अघि बढाएको छ । आगामी वर्षदेखि यो कार्यक्रम लागू गर्ने प्रहरीको लक्ष्य छ । यद्यपि, प्रहरी नियमावली संशोधनदेखि भौतिक पूर्वाधारका काम भने बाँकी नै छन् । स्टाफ कलेजको कार्यक्रम लागू गर्न प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका डिआइजी रवीन्द्र केसीको नेतृत्वमा समिति गठन भएको छ ।

समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिन लागेको छ । प्रहरीमा पाँच वर्षअघि नै यससम्बन्धी कोर्स स्वीकृत भए पनि यसलाई वृत्तिविकाससँग कसरी जोड्ने भन्ने विवादले अगाडि बढ्न सकेको छैन । स्टाफ कलेजको अवधारणा लागू हुन सकेमा योग्यता क्रममा अघि रहेका अधिकृत मात्र माथिल्लो तहमा पुग्नेछन् । वर्तमान प्रहरी नेतृत्व स्टाफ कलेजको अवधारणालाई वृत्तिविकाससँग जोडेर कार्यान्वयन गर्ने पक्षमा छ । 

डिआइजी कुबेर कडायत, प्रवक्ता, नेपाल प्रहरी
अहिले एकैपटक सयभन्दा धेरै इन्स्पेक्टर भर्ना हुने गरेका छन् । उनीहरूको बढुवामा समस्या हुन्छ, बढुवालाई व्यवस्थित बनाउन र नेतृत्व छनोटका लागि एमपिएस लागू गर्ने तयारी भइरहेको छ ।

प्रहरी एकेडेमीको तयारीअनुसार कम्तीमा सात वर्ष अवधि पुगेका प्रहरी निरीक्षकलाई यस्तो कोर्समा सहभागी गराइनेछ । एकपटकमा ३५ जनालाई भर्ना गर्ने एकेडेमीको तयारी छ । जसको प्रवेश परीक्षा त्रिभुवन विश्वविद्यालयले नै लिनेछ । यसअघि दुईवर्षे पाठ्यक्रम बनाइएकोमा हाल संशोधन गरी १६ महिनाको बनाई स्वीकृतिका लागि प्रहरीले त्रिविमा पठाएको छ । 

हाल आधारभूत तालिममा प्रहरी निरीक्षकले एकवर्षे स्नातक अध्ययन गर्दछन् । त्यसलाई हटाएर एमपिएस (मास्टर इन पुलिस साइन्स) कार्यक्रम लागू गर्ने तयारी भइरहेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए । ‘अहिले एकैपटक सयभन्दा धेरै इन्स्पेक्टर भर्ना हुने गरेका छन्,’ उनले भने, ‘उनीहरूको बढुवामा समस्या हुन्छ, बढुवालाई व्यवस्थित बनाउन र नेतृत्व छनोटका लागि एमपिएस लागू गर्ने तयारी भइरहेको छ ।’ एमपिएस गर्नेलाई कसरी बढुवामा अगाडि बढाउने र नगर्नेलाई कुन तहसम्म बढुवा दिने भन्ने विषयमा सहमति भइसकेको छैन । एपिएसले एकातर्फ प्रहरीमा अध्ययनको बानी बस्ने, अर्काेतर्फ उच्च तहको कोर्स भएकाले अधिकृतमा व्यावसायिक क्षमता बढ्नुका साथै भावी नेतृत्व छनोटमा पनि सहज हुने प्रहरी अधिकारीको भनाइ छ ।

नेपाली सेना र सशस्त्र प्रहरी बलमा पहिलेदेखि नै यस्तो प्रावधान छ । नेपाली सेनामा स्टाफ कलेज उत्तीर्ण नगर्नेहरू प्रमुख सेनानी तहसम्म मात्र पुग्दछन् । सशस्त्र प्रहरी बलमा एसएसपीबाट माथिल्लो पदमा बढुवा नगर्ने प्रावधान छ । नेपाल प्रहरीमा एसपी तहकै बढुवामा स्टाफ कलेजलाई समावेश गर्ने तयारी छ, तर एसएसपीसम्म भने उनीहरूका लागि पनि कोटा तोक्ने विषयमा छलफल भइरहेको प्रहरी स्रोत बताउँछ । पहिलो ब्याचले कोर्स सम्पन्न गरेको दिनदेखि यो प्रावधान लागू गर्ने तयारी छ । त्यसका लागि प्रहरी नियमावली पनि संशोधन आवश्यक हुन्छ । 

स्टाफ कलेज कोर्स लागू भए बढुवामा हुने चलखेल रोकिने
०७५ मै यससम्बन्धी पाठ्यक्रम स्वीकृत भए भए पनि प्रहरी नेतृत्वको अनिच्छा र केही प्रहरी अधिकारीको व्यक्तिगत स्वार्थले प्रहरीमा स्टाफ कलेज लागू हुन सकेको छैन । यो कार्यक्रमका लागि सरकारले बजेटसमेत उपलब्ध गराउँदै आएको छ । तर, कार्यक्रम सुरु नहुँदा रकमान्तर गरेर अन्य तालिममा खर्च हुने गरेको छ । 

स्टाफ कलेज कार्यान्वयन भएमा बढुवामा हुने अत्यधिक चलखेल पनि धेरै हदसम्म समाधान हुने प्रहरी अधिकारीहरू बताउँछन् । हाल प्रहरी बढुवा राजनीतिक नेतृत्व हाबी हुने गरेको छ । जसकारण पहुँच नभएका, तर क्षमतावान अधिकृत पछि पर्दै आएका छन् । स्टाफ कलेज लागू हुँदा क्षमतावान अधिकृत मात्र नेतृत्व तहमा पुग्ने भएकाले राजनीतिक आडमा बढुवा हुँदै आएकाहरू प्रभावित हुने भएकाले उनीहरूले यसलाई रोक्न चाहेका छन् । प्रहरीमा लामो समयदेखि नेतृत्व छनोटका लागि कुनै प्रणाली बनाउनुपर्ने विषयमा बहस हुँदै आएको छ । तर, यसरी पद्धति बनाउँदा बढुवामा चलखेल गर्ने अवसर कम हुने भएकाले राजनीतिक नेतृत्वले साथ दिने गरेको छैन । 

सशस्त्र प्रहरी बलमा आठ वर्षदेखि स्टाफ कलेजको शैक्षिक कार्यक्रम लागू भइसकेको छ । सशस्त्रमा स्टाफ कलेज नगरेका अधिकृतहरू एसएसपीभन्दा माथि बढुवा हुँदैनन् । सशस्त्रमा धेरै अधिकृतहरूले प्रवेश परीक्षा नै उत्तीर्ण गर्न नसक्ने समस्या छ । हाल सशस्त्रमा आठौँ ब्याचले स्टाफ कलेज गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयबाट ‘मास्टर इन सेक्युरिटी, डेभलपमेन्ट र एन्ड पिएस स्टडिज’ नामक विषयमा स्नातकोत्तर तहको अध्ययनसहित स्टाफ कलेज कार्यक्रम सञ्चालन हुने गरेको छ । सशस्त्रको स्टाफ कलेजको कार्यक्रम उच्च स्तरको भएको भन्दै विज्ञहरूले प्रशंसा गर्दै आएका छन् । नेपाल प्रहरीले सशस्त्र प्रहरीसँग पनि समन्वय गरी स्टाफ कलेज अघि बढाउन लागेको हो । 

प्रहरीमा सुधारका लागि सुझाव दिन गृह मन्त्रालयले पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको नेतृत्वमा गठन गरेको समितिले पनि मंगलबार यसबारेमा सशस्त्र प्रहरीका अधिकारीसँग प्रहरीमा यस्तै कार्यक्रम लागू गर्नेबारे छलफल गरेको छ ।
 

ad
ad