१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २२ शनिबार १o:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

राम–सीता विवाह महोत्सव : जनकपुरधाममा तीन दिन मासु र मदिरा निषेध

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४६:oo

मिथिलाञ्चलको ऐतिहासिक तथा धार्मिक रामजानकी विवाह पञ्चमी महोत्सवका अवसरमा धनुषाको जनकपुरधाममा तीन दिन माछा–मासु तथा मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिसँगै सरोकारवालाको बैठकले २८ मंसिरदेखि १ पुस राति १२ बजेसम्मका लागि जनकपुरधाममा माछा–मासु र मदिरामा प्रतिबन्ध लगाएको हो । 

जनकपुरधाम प्रवेश गर्ने मुख्यद्वार र सीमा एवं जनकपुरधामस्थित परिक्रमा र परिक्रमा क्षेत्रभित्र माछा–मासु र मदिराको बिक्री–वितरण, सेवन तथा कारोबार गर्न पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । 

रामजानकी विवाह पञ्चमी महोत्सव मंगलबारदेखि विधिवत् रूपमा सुरु भएको छ । सप्ताहव्यापी चल्ने महोत्सवको पहिलो दिन नगर दर्शन कार्यक्रम गरियो । दोस्रो दिन बुधबार फूलबारी लीला, तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तिलको उत्सव, पाँचौँ दिन शनिबार मटकोर र १ पुसमा विवाह पञ्चमीको आकर्षण मानिएको दिउँसो रामसीता स्वयंवर तथा राति विवाह कार्यक्रम हुने जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए । 

मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीको दिन मनाइने महोत्सवलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ । तेत्रायुगमै भारत अयोध्याका दशरथका छोरा पुरुषोत्तम राम र राजा जनककी छोरी सीता वैवाहिक सम्बन्धमा बाधिएका थिए । 

राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग पञ्चमी तिथिमा रामजानकी विवाह पञ्चमी मेलाको आयोजना हुन्छ । सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयंवरबारे उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा राम–जानकीको विवाह भएको हो । विवाह भएको सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ । 

हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र रहेको जनकपुरधाममा भारतबाट लाखौँ श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न महोत्सवमा सहभागी हुने गरेका छन् । तर, यस वर्ष भारतबाट औपचारिक रूपमा जन्ती नआउने जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए ।

ad
ad