Skip This
कतारले भन्यो– विपिनको रिहाइका लागि प्रयासरत छौँ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २६ मंगलबार
  • Saturday, 27 July, 2024
परराष्ट्रमन्त्री एनपी साउद र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीबीच सोमबार दोहामा भएको भेटवार्ता । भेटपछि परराष्ट्रमन्त्री साउदले टेलिफोनमा भने, ‘उहाँले विपिनसहित सबै विदेशी बन्दीहरू छुट्छन्, हामी प्रयास गर्दै छौँ भन्नुभएको छ ।’
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २६ मंगलबार o६:२o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कतारले भन्यो– विपिनको रिहाइका लागि प्रयासरत छौँ

कतारका अमिर नेपाल आउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २६ मंगलबार o६:२o:oo

इजरायल र हमास समूहबीच युद्धविरामका लागि प्रयासरत कतारले विपिन जोशीसहित सबै बन्दीहरूलाई प्यालेस्टाइनबाट रिहाइका लागि पहल भइरहेको बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदसँग सोमबार दोहामा भएको भेटवार्तामा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले यसका लागि निरन्तर प्रयास गरिरहेको र आफू आशावादी रहेको पनि बताएका छन् । 

‘मैले कतार नेपालको नजिकको मित्र भएको र कतारमा दोस्रो ठूलो समुदायका रूपमा नेपालीहरू रहेको स्मरण गराउँदै विपिनको रिहाइका लागि प्रयास गर्न पुनः आग्रह गरेँ,’ भेटवार्तापछि परराष्ट्रमन्त्री साउदले दोहाबाट टेलिफोनमा भने, ‘उहाँले विपिनसहित सबै विदेशी बन्दीहरू छुट्छन् । हामी प्रयास गर्दै छौँ भन्नुभएको छ । म आशावादी पनि छु ।’ 

परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिकाको प्रशंसा गरेका थिए । ‘विपिन जोशीलाई  रिहाइ गर्ने मानवीय मामिलामा कतारसँग नेपालले ठूलो आशा गरेको मैले स्पष्ट रूपमा राखेको छु, प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभयो,’ मन्त्री साउदले भने, ‘विपिन जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि चाँडै नै सकारात्मक परिणाम आउन सक्ने सम्भावना व्यक्त गर्नुभएको छ ।’  

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार कतारका अमिर शेख तमिम बिन हमाद अल–थानी अप्रिल तेस्रो साता नेपाल भ्रमणमा आउने तय भएको छ । यसअघि २० र २१ कात्तिकका लागि भ्रमण तय भएकोमा इजरायलमा हमास समूहले गरेको आक्रमणपछिको परिस्थितिका कारण सरेको थियो । उनी मध्यपूर्वबाट नेपाल भ्रमण गर्ने पहिलो राष्ट्रप्रमुख हुनेछन् । ‘अप्रिल तेस्रो साता कतारका अमिरले नेपाल भ्रमण गर्नुहुन्छ । मैले प्रधानमन्त्रीसँग उहाँको भ्रमणलाई नेपालले उच्च प्राथमिकतामा राखेको र व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको जानकारी गराएँ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘उहाँको भ्रमण सफल बनाउन हाम्रातर्फबाट सबै प्रयत्न रहनेछ । भ्रमणलाई ऐतिहासिक बनाउन नेपालले कुनै कसर बाँकी राख्नेछैन ।’ 

कतारका प्रधानमन्त्रीले नेपालसँगको सम्बन्धलाई कतारले प्राथमिकतामा राखेको जवाफ दिएका थिए । उनीसँग व्यापार र लगानीलगायतका विषयमा छलफल भएको थियो । कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोगका विषयमा पनि छलफल भएको थियो । परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, थिंक ट्यांक, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा वक्ताका रूपमा सहभागी छन् ।