
बर्थडे ब्वाय पापा इबु केवेको दुई गोलमद्यतमा एफसी चितवनलाई ३–१ गोल अन्तरले पराजित गर्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) २०२३ को शीर्ष स्थानमा उक्लिएको छ
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी एनएसएलको दोस्रो संस्करणअन्तर्गत आजको खेलमा ललितपुर सिटीले आफ्नो अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानमा उक्लिएको हो।
ललितपुरले पाँच खेलको समाप्तिमा ९ अंक जोडेको छ। चितवन भने पाँचवटै खेलबाट पाँच अंकसहित पाँचौँ स्थानमा छ।
ललितपुरको जितमा नायक साबित भएका केवेले १९औँ र ९१औँ मिनेटमा गोल गरे। ललितपुरको तर्फबाट अर्को एक गोल विवेक पौडेलको नाममा रह्यो। उनले ५७औँ मिनेटमा गोल गरेका थिए।
८९औँ मिनेटमा एफसी चितवनका रफिक अमिनुले गोल गर्दा खेल २–१ को अवस्थामा पुगेको थियो। रफिकको गोलपछि खेल थप रोमाञ्चक बन्ने सम्भावना थियो। तर, लगत्तै चितवनका मिडफिल्डर उत्सव राईले आफ्नो डिबक्सभित्र ललितपुरका आदित्य शाक्यमाथि फाउल गरेपछि ललितपुरले पेनाल्टी प्राप्त गर्यो।
प्राप्त पेनाल्टीमा इबु केवले कुनै गल्ती नगरी आफ्नो दोस्रो गोल गरे भने ललितपुरलाई ३–१ को अवस्थामा पुर्याए। खेलको अन्त्यतिर उनी ह्याट्रिकको नजिक पुगेका थिए। तर, उनले प्रहार गरेको बल क्रसबारमा लागेर फर्कियो। त्यसको ठीकअघि चितवनको प्रहार पनि ललितपुरको पोस्टमा दोस्रो बारमा लागेर फर्किएको थियो।