१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पातारासी सडक : धराप काठेपुलमाथि जोखिमपूर्ण यात्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:२९:oo

जुम्ला विमानस्थल, उर्थु, लासीबजार, तल्फी, पेरे, गडीगाउँ, चोत्रगाउँ हुँदै डोल्पा जोड्ने सडक पातारासी गाउँपालिकाको लाइफलाइन नै हो। गाउँमा सडक पुग्दा स्थानीय उत्साहित थिए, घण्टौँ पैदल यात्रा गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्यो पनी। तर, पातारासी गाउँपालिका– ४ लुमगाउँस्थित मोटरेबल काठेपुल भत्केपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गरिरहेका छन्।

मालबाहक तथा यात्रुबाहक सवारीसाधन जुम्ला विमानस्थलदेखि पातारासी गाउँपालिकाको गडीगाउँको चुकेनीसम्म पुग्ने गरेका थिए। तर, लुमगाउँस्थित काठेपुल भत्केपछि विगत एक महिनादेखि स्थानीयलाई विकास निर्माणका सामग्रीदेखि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको स्थानीय राजु रावतले बताए।

गाउँबस्तीमा सडक पुग्दा पातारासी– ३ छुम गाउँका कालीबहादुर महतारा उत्साहित थिए– पातारासीका हरेक गाउँबस्ती सडक सञ्जालसँग जोडियो। तर, लुमगाउँस्थित जवा नदीमाथि लामो समयदेखि पक्की पुल नबन्दा उनको उत्साह विस्तारै मर्दै छ। ‘तत्काल काम चलाउको लागि काठेपुल निर्माण भएको छ। त्यो काठेपुल पनि वेला वेला भत्किने गरेकाले समस्या हुँदै आएको छ,’ उनले भने, ‘विगत एक महिनादेखि लुमगाउँदेखि माथि छुम, तल्फी परेगाउँसम्म सवारीसाधन आउन सकेका छैनन्।’

दीर्घकालीन समस्या समाधानका लागि पक्की पुल नै आवश्यक पर्ने भए पनि आफूहरूको माग राज्यका कुनै तहले सुनुवाइ नगरेको उनको गुनासो छ। सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य वस्तु ल्याउन र उत्पादित कृषिजन्य वस्तु लैजान सहज भएको थियो।

अहिले जुम्ला सदरमुकाम खलंगादेखि दुईवटा बस र चारवटा जिप सञ्चालनमा छन्। सवारीसाधनको आवागमनसँगै यहाँका नागरिकले घण्टौँसम्म पैदल यात्रा गरेर सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता हटेको थियो। तर, काठेपुल वेला-वेला भत्किरहने गरेकाले समस्याको दीर्घकालीन समाधान भएको छैन।

‘गाउँमा सडक पुग्नु मात्र ठूलो कुरा होइन। सडक ग्राभेल गरेर यात्रा सहज गर्नु अहिलेको आवश्यकता हो,’ कालीबहादुरले भने। सडक बनेपछि व्यापारी गाउँमै स्थानीय उत्पादन खरिद गर्न पुग्ने गरेका थिए।

लुमगाउँस्थित बागजाल सामुदायिक वन समितिका अध्यक्ष कर्ण रावतका अनुसार पुल धेरै जीर्ण भइसकेको छ। मर्मत गरेर मात्रै हुने अवस्था छैन। पुल पूरै फेर्नुपर्ने स्थिति देखिएको छ। उनले भने, ‘१५ लाख जति बजेट व्यवस्थापन गरी नयाँ काठेपुल बनाउनुपर्ने हो, तर हरेक वर्ष टालटुल (मर्मत) गरेर बजेट सक्ने काम भएको छ।’ अघिल्ला वर्षहरूमा पुल बनाउन रकम हिनामिना भएपछि अहिले पुल बनाउने विषयमा समेत विवाद छ।

पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाका अनुसार तत्काल काठेपुल निर्माण तथा मर्मत गर्नका लागि पाँच लाख बजेट विनियोजन भएको छ। ‘बजेट विनियोजन गर्दा पनि लुम गाउँवासीले पुल बनाउन काठ नदिने र विवाद गर्न खोजेपछि समस्या भएको हो। यसलाई सहजीकरण गरी पुल निर्माण गर्न पहल गरिएको छ,’ उनले भनिन्।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम देवकोटाका अनुसार लुमगाउँस्थित जवा नदीमाथि पक्की पुल बनाउनका लागि साढे सात करोडको डिपिआर बनेको छ। ‘चालू आर्थिक वर्षमा एक करोड ८० लाख बजेट आएको छ। त्यो बजेट अपुग हुन्छ,’ उनले भने, ‘बजेटको स्रोत सुनिश्चितताका लागि कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयमा फाइल पुगेको छ। तर, अहिलेसम्म बजेट सुनिश्चित भएको छैन।’

ad
ad