१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० मङ्सिर २३ शनिबार ०७:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले मात्र राष्ट्रवादी शक्ति : ओली

Read Time : > 1 मिनेट
२०८० मङ्सिर २३ शनिबार ०७:२५:००

एमाले अध्यक्ष केपी ओलीले एमाले मात्र राष्ट्रवादी शक्ति भएको बताएका छन् । झुलाघाटदेखि चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा शुक्रबार पोखराको लेखनाथस्थित तालचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेबाहेक अन्य कुनै पनि पार्टी राष्ट्रवादी नभएको दाबी गरे । 

‘एमालेबाहेक अन्य कसैले पनि देश बनाउन सक्दैन । यो कुरा पटक–पटक प्रमाणित भइसकेको छ,’ अध्यक्ष ओलीले भने, ‘यसको प्रमाण वर्तमान गठबन्धन सरकारका कामकारबाही नै हुन् ।’ उनले एमाले इतिहास बनाएको, इतिहास बनाउन नेतृत्व गरेको र संघर्षको मैदानबाट खारिएर आएको मजबुत पार्टी भएको जिकिर गरे । ‘एमाले सरकारमा रहँदा जनमुखी काम गरेर जनतामा आशाको सञ्चार गराएको थियो । तर, त्यसपछिका सरकारले जनतामा निराशा जगाउने काम मात्र गरेका छन् । राष्ट्रियताको सवालमा त झन् अहिलेको सरकारले शिर निहुराउने गरी काम गरेको छ ।’ 

सरकार र गठबन्धनमा रहेका दलले आफूले पाएको जिम्मेवारी वहन गर्न नसकेर केवल एमालेको विरोध मात्रै गरिरहेको बताए । त्यस्ता दलका पसल ०८४ को निर्वाचनबाट बन्द हुने तर्क गरेका उनले एमालेले भने एकल बहुमतको सरकार बनाउने बताए । त्यसैका लागि अहिले अभियान चलाइएको उनको भनाइ थियो । 

उनले जारी अभियानका क्रममा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गरी गुनासा र समस्या सुन्ने, आफैँले समस्या बुझ्ने काम भइरहेको भन्दै उनले ती समस्या समाधानका लागि सरकारमा एमालेको नेतृत्व आवश्यक भएको बताए । उनले अभियानका क्रममा अधिकांश जनताले गरिबीका कारण देश छाडेर रोजगारीका लागि विदेश जानुपरेको समस्या सबैभन्दा बढी सुनाएको भन्दै गरिबी हटाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने काममा एमालेको सम्पूर्ण ध्यान केन्द्रित हुने बताए । 

सम्बोधनका क्रममा साहित्यकार लेखनाथ पौडेल, लोकगायक अली मियाँ, झलकमान गन्धर्वको स्मरण गरेका ओलीले पोखराको प्राकृतिक सुन्दरताको वर्णनसमेत गरेका थिए । पोखरा पर्यटकीय राजधानीसमेत रहेको भन्दै ओलीले निर्माणका क्रममा रहेको मुग्लिन–पोखरा सडकखण्डको काममा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले ओलीलाई सारंगी उपहार दिइकी थिइन् । लगत्तै ओलीले सारंगी बजाएका थिए ।