१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अमेरिकी सुरक्षा परिषद्का वरिष्ठ निर्देशक काठमाडौंमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:o१:oo

अमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक एलिन लाउबाचर दुईदिने भ्रमणका क्रममा काठमाडौं आएकी छिन् । उनले बुधबार परराष्ट्रमन्त्री एनपी साउद र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेकी छिन् । 

लाउबाचरको नियमित प्रकारको भ्रमण भएको र खास विशेष एजेन्डा नरहेको कूटनीतिक स्रोतले जानकारी दिएको छ । परराष्ट्रमन्त्री साउद अघिल्लो महिना अमेरिकाको औपचारिक भ्रमणमा गएपछि नेपाल आउने उनी उच्च अमेरिकी अधिकारी हुन् । लाउबाचरले १६ कात्तिकमा अमेरिकामा परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेट गरेकी थिइन् ।

परराष्ट्रमन्त्री साउदसँगको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्धबारे छलफल भएको छ । दुई देशको सुरक्षा सम्बन्ध, मानव अधिकार, शरणार्थी, लोकतन्त्रको सुदृढीकरण, रक्षा सहायता, विकास सहायता, प्रहरीबीचको सहकार्य, साइबर सुरक्षालगायत विषयमा सहकार्यबारे छलफल भएको कूटनीतिक स्रोतले जनाएको छ । ‘दुई देशको मित्रताका विभिन्न आयामका विषयमा विचार आदानप्रदान भयो,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।

प्रधानसेनापति शर्मासँगको भेटमा नेपाली सेनालाई अमेरिकाले गर्ने सम्भावित सहयोगबारे छलफल भएको छ । अमेरिकाले नेपाली सेनाका लागि दुईवटा स्काई ट्रक दिने विगतको सहमति कार्यान्वयनबारे छलफल भएको छ । नेपालले तीन वर्षअघि नै खरिद गरेको १० हजार थान एम १६ राइफलको आपूर्ति अझै हुन सकेको छैन । नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सहकार्य अस्वीकार गरे पनि अमेरिकाले गर्दै आएको सहयोग निरन्तर रहने बताउँदै आएको छ । 

निर्देशक लाउबाचरले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी बिहीबारै स्वदेश फर्किनेछिन् । हालै अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी युएसएआइडीको एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल सिफर काठमाडौं आएका थिए । उनको भ्रमणका वेला कृषि र स्वास्थ्य क्षेत्रमा तीन अर्ब ८९ करोड रुपैयाँका परियोजना सञ्चालन शुभारम्भ भएको थियो । गत साता अमेरिकाको मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसिसी)का अधिकारी पनि काठमाडौं आएका थिए । 

ad
ad