मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १७ बिहीबार
  • Thursday, 29 February, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० मङ्सिर १९ मंगलबार ०५:५६:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : भिक्षु र प्राध्यापक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० मङ्सिर १९ मंगलबार ०५:५६:००

एक प्राध्यापक आफूलाई निकै विद्वान् ठान्थे । उनी हत्तपत्त अरूसित हार मान्दैनथे । आफू अनेक विषयको विज्ञ भएको अभिमान उनमा थियो । एकपटक कक्षामा एक छात्रले उनीसित बौद्ध दर्शनका बारेमा निकै गहन प्रश्न सोधे । उत्तर दिने क्रममा प्राध्यापक निकै अलमलिए र उनले विद्यार्थीको जिज्ञासा शान्त पार्न सकेनन् । परिणामतः उनले आफूले बौद्ध दर्शनबारे धेरै बुझ्न बाँकी नै रहेको अनुभव गरे । 

अर्को दिन उनी आफ्नो निवासबाट नजिकै रहेको एक गुम्बामा बस्ने बौद्ध भिक्षुलाई भेट्न गए । उनी पुग्दा भिक्षुले भर्खरै आफ्नो ध्यान पूरा गरेका थिए । प्राध्यापकले भिक्षुलाई आफ्नो समस्या सुनाए र आफूलाई बौद्ध दर्शनबारे ज्ञान दिन अनुरोध गरे । उनको समस्या बुझेर भिक्षुले उनलाई शान्त रहन आग्रह गर्दै सहयोगीबाट चिया मगाए । भिक्षुको आग्रहमा मौन रहनुको साटो प्राध्यापक आफ्ना बारेमा बढाइचढाइ गरेर भिक्षुलाई सुनाउन थाले । भिक्षु शान्त भई उनका कुरा सुनिरहे । प्राध्यापक अनेक कुरा सुनाइरहे । केही बेरमा भिक्षुका सहयोगीले एक चियादानीमा चिया र दुई खाली कप ल्याइदिए । भिक्षु चियादानी लिएर कपमा चिया खन्याउन थाले । तर, कप भरिइरहँदा पनि उनले चिया खन्याउन रोकेनन् । त्यो देखेर प्राध्यापकले सचेत गराउँदै भने– भन्ते, कप भरिइसक्यो । अब त्यसमा थप चिया अट्दैन । हजुर किन चिया खन्याइरहनुभएको छ ?

प्राध्यापकको कुरा सुनेपछि मुसुक्क हाँस्दै भिक्षुले भने– हो, तपाईंले एकदम ठिक भन्नुभयो । जसरी यो कप भरिइसकेपछि यसमा थप चिया अट्दैन, त्यसैगरी तपाईं पनि आफ्नो विचार र सोचले भरिनुभएको छ । तपाईंको दिमागमा नयाँ कुरा अट्ने ठाउँ छैन । त्यसैले, म तपाईंलाई कसरी बौद्ध दर्शनको ज्ञान दिन सकुँला र ? 
भिक्षुको प्रश्न सुनिसकेपछि प्राध्यापकलाई आफ्नो गल्तीको महसुस भयो । उनले भिक्षुसित क्षमा मागे ।