१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o५:५६:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

गाउँमा हात्ती पस्न थालेपछि बाली भित्र्याउनै मुस्किल 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o५:५६:oo

झापाको पश्चिमी क्षेत्रमा पनि हात्तीको त्रास, बाली जोगाउन रातभर सुत्दैनन् स्थानीय

दमक– ३ स्थित दुम्से क्षेत्रमा देखिएको हात्ती । गाउँमा हात्ती पस्न थालेपछि बाली भित्र्याउनै मुस्किल हुने गरेको दमक– ३ का बुद्धिमान तामाङले बताए । ‘खासगरी बाली उठाउने वेलामा हात्ती आउने गरेको छ । हात्ती आएपछि रातभर जाग्राम बस्नुपर्छ । नभए त धान सबै खाइदिन्छ,’ उनले भने, ‘हात्ती गाउँ पसेपछि घर नै भत्काउने गरेको पनि छ । हात्तीका कारण ज्यान जोगाउन नै मुस्किल भयो ।’

विगतमा झापामा जंगली हात्ती प्रभावित क्षेत्र भन्नेबित्तिकै पूर्वी सीमावर्ती बस्ती बाहुनडाँगीको नाम अगाडि आउँथ्यो । तर, अहिले झापाको उत्तर–पश्चिम क्षेत्रमा पनि हात्तीले स्थानीयलाई हैरानी दिएको छ । जंगलनजिकैका पश्चिमी क्षेत्रमा दैनिकजसो हात्ती आएर स्थानीयको घर भत्काइदिनेदेखि ज्यानै लिनेसम्म भइरहेको छ । हात्ती धपाउन स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् ।

केही वर्षयता बाली पाक्ने वेलामा आउने जंगली हात्तीका कारण स्थानीयले हैरानी भोग्नुपरेको छ । झापाको पश्चिमी क्षेत्र दमक नगरपालिका– २ र ३ का स्थानीय हात्तीबाट प्रभावित छन् । दमकको उत्तरी क्षेत्रमा हम्सेदुम्से जंगल रहेका कारण दिनभर हात्ती यो जंगलमा बस्ने र रात परेपछि गाउँ पस्ने गरेका छन् । गाउँमा हात्ती पस्न थालेपछि बाली भित्र्याउनै मुस्किल हुने गरेको दमक–३ का बुद्धिमान तामाङले बताए । ‘खासगरी बाली उठाउने वेलामा हात्ती आउने गरेको छ । हात्ती आएपछि रातभर जाग्राम बस्नुपर्छ । नभए त धान सबै खाइदिन्छ,’ उनले भने, ‘हात्ती गाउँ पसेपछि घर नै भत्काउने गरेको पनि छ । हात्तीका कारण ज्यान जोगाउन नै मुस्किल भयो ।’ हात्तीबाट हुने क्षति नियन्त्रणमा सरकारी निकायले बेवास्ता गरेको उनले गुनासो गरे । 

स्थानीयले हात्ती धपाउन आगो बालेर बस्ने, साइरन बजाउनेलगायत गतिविधि गर्ने गरेका छन् । पाँच हप्तायता हात्तीको हुल गाउँमा पसेर हैरानी दिएको तामाङले बताए । कात्तिक अन्तिम सातादेखि गाउँमा दैनिक हात्ती पस्ने गरेको उनको भनाइ छ । ‘केही दिनअघि त २५ देखि २८ वटा हात्तीसम्म गाउँ छिर्‍यो । अहिले पनि दैनिक चार–पाँचवटा हात्ती गाउँ छिरिरहेको छ,’ उनले भने, ‘हात्ती आएपछि रातभर सुत्नै पाइँदैन ।’

हात्तीका कारण समस्या निम्तिएको दमक– ३ का हेमदल भण्डारीले बताए । ‘धान खेतमै छ । हात्ती आएपछि धान जोगाउन पनि रातभर खेदाउनुपर्छ,’ उनले भने, ‘खेदाउँदा–खेदाउँदै पनि बाली खाइरहेको छ । समस्या निम्तिएको छ ।’ हात्तीलाई बस्तीमा पस्न नदिन मेचीनगर, जलथल, चारआली क्षेत्रमा सोलार इलेक्ट्रिक फेन्सिङले तारबार गरिएको छ । जसले हात्तीलाई गाउँ पस्नबाट केही मात्रमा रोकेको पनि छ । तर, झापाको पश्चिमी क्षेत्रमा सोलार इलेक्ट्रिक फेन्सिङ नहुँदा हात्ती सीधै बस्तीमा छिर्ने गरेको छ ।

दमक– ३ का वडाध्यक्ष नवीन बरालका अनुसार यसपटक करिब २५ जना किसानको धान बालीमा हात्तीले क्षति पुर्‍याएको छ । हात्ती नियन्त्रणमा प्रदेश र संघ सरकारले पनि चासो देखाउनुपर्ने बताए । उनका अनुसार जंगली हात्तीले केही वर्षयता असाध्यै दुःख दिएको छ । ‘हात्ती धेरै पहिलादेखि आउँथ्यो । तर, करिब पाँच वर्षयता धेरै आउन थालेको छ । पहिला हम्सेदुम्से वन क्षेत्रमा भुटानी शरणार्थीको बाक्लो बस्ती थियो । त्यसवेला हात्ती आए पनि धेरै बस्दैन थियो,’ उनले भने, ‘भुटानी शरणार्थीको पुनर्वासपछि हात्ती जंगलमा धेरै समय बस्न थालेको छ । जसकारण गाउँमा धेरै क्षति भएको छ ।’

हात्ती खेदाउन तयारी अवस्थामा रहेका दमक– ३ का स्थानीय 

ज्यान लिँदै हात्ती
हात्तीले बालीमा मात्र क्षति पुर्‍याएको छैन, मानिसको ज्यानसमेत लिन थालेको छ । शुक्रबार मात्र हल्दिबारी–३ कोरणकाली सामुदायिक वनमा हेरालुको रूपमा काम गर्दै आएका स्थानीय ४० वर्षीय धनबहादुर बनको हात्ती आक्रमणमा परी मृत्यु भएको छ ।  शुक्रबार बिहान वनको रेखदेखका लागि गएका उनलाई जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

५ मंसिरमा भुटानी शरणार्थी ७२ वर्षीय पदमलाल तामाङको हात्ती आक्रमणबाट मृत्यु भयो । उनलाई दमक– ३ मा रहेको हम्सदुम्से वनमा दाउरा खोज्न गएका वेला हात्तीले आक्रमण गरेको थियो । हात्तीका कारण दमकको उत्तरी क्षेत्रका स्थानीयलाई मात्र होइन हम्सेदुम्से वन क्षेत्रको बाटो भएर हिँड्डुल गर्नेसमेत त्रास छ । दमकबाट वन क्षेत्र हुँदै बन्दै गरेको मदन भण्डारी राजमार्ग हुँदै इलाम चुलाचुली, माङ्सेबुङसम्म जानेलाई पनि हैरानी दिएको छ । ‘हामी त दैनिक रोजगारीदेखि उपभोग्य सामग्री खरिद गर्न दमक नै जानुपर्छ । काम गरेर फर्कँदा रात निकै पर्‍यो भने हात्तीले आक्रमण गर्ने हो कि भन्ने त्रास हुन्छ,’ इलामको चुलाचुली– ५ का खगेन्द्र दर्नालले भने, ‘बाटोमा सडक बत्ती छैन । सबैतिर अँध्यारो हुँदा कतिपटक त हात्तीसँग जम्काभेट पनि भएको छ । धन्न अहिलेसम्म आक्रमण गर्न पाएको छैन ।’

भारतबाट १७ वटा हात्ती प्रवेश गरेपछि बढ्यो त्रास
डिभिजन वन कार्यालय झापाका अनुसार ३ मंसिरमा १७ वटा हात्ती भारतबाट नेपाल प्रवेश गरेका छन् । तिनै हात्तीको समूहले दमक– ३ मा पदमलाल तामाङमाथि आक्रमण गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए । उनका अनुसार यी हात्तीहरू सुनसरीसम्म पुगेका छन् । ‘हात्तीको हन्जबाट १७ वटा भारतबाट नेपाल छिरेका हुन् । यी हात्ती मेची बगरका इलेक्ट्रिक तार भत्काउँदै यतातर्फ छिरे । तारबार पनि अहिले गतिलो छैन । गत असारमा पनि यसरी नै हात्तीको हन्जा नेपाल छिर्न खोजेका थिए । तिनीहरूलाई उतै लखेट्न सफल भयौँ,’ उनले भने, ‘यसपटक पनि लखेट्ने प्रयास गरेका थियौँ, तर सफल हुन सकेनौँ ।’ 

१७ वटा हात्तीको प्रवेशसँगै झापाका जंगलमा ३० वटाभन्दा बढी हात्तीको संख्या पुगेको उनले बताए । यसरी नेपाल प्रवेश गरेका मध्ये दशवटाभन्दा बढी हात्ती किशोर अवस्थाका उपद्रो मचाउने खालका रहेको डिभिजन प्रमुख राईले बताए । ‘१०–१५ वर्ष उमेर पुगेका हात्तीहरू समूहको अनुशासनमा नबसेपछि ग्रुपको प्रमुखले समूहबाट निकालेका हात्ती बढी छ । हात्ती दिउँसो प्रायः हिँड्दैन । तर, अनुशासनमा नबस्ने हात्ती दिउँसै हिँड्ने गर्न थालेको छ । घर फुटाएर अन्न पनि खाने गरेको छ,’ प्रमुख राईले भने, ‘यसरी उपद्रो गर्ने हात्ती १० वटा जति छन् । यिनीहरू एक्लै हिँड्छन् । यस्ता हात्तीले नोक्सान बढी गराउँछ । यी हात्तीहरू अहिले झापाका विभिन्न जंगलमा घुमिरहेका छन् ।’ यी हात्तीहरू खानाको स्वाद फेर्न पनि धान खान बस्ती पस्ने गरेको उनले बताए । ‘जंगलमा पनि हात्तीले खाने घाँसहरू छ । तर, स्वाद फेर्न धान–मकै खान बस्ती छिर्छन्,’ उनले भने, ‘उपद्रो मचाउने र अनुशासनमा नबस्ने हात्तीले त घर नै भत्काएर राखेको धानचामल खाने गरेका छन् ।’ हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि डिभिजन वन कार्यालय झापाले चाँडै कार्ययोजना बनाउने तयारी गरिरहेको प्रमुख राईले बताए । 


 

ad
ad