Skip This
जाजरकोटमा पनि पठाइयो अस्थायी आवासको पहिलो किस्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८o मङ्सिर १५ शुक्रबार o९:५१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जाजरकोटमा पनि पठाइयो अस्थायी आवासको पहिलो किस्ता

Read Time : > 2 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार o९:५१:oo

शिवालय गाउँपालिकाका ३३ सय नौ लाभग्राहीका लागि रकम पठाइयो, अन्य पालिकाबाट विवरण आउनै बाँकी

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न जाजरकोटमा पनि पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरु भएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो । रुकुम पश्चिममा मंगलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरणसमेत सुरु गरिसकेका छन् । 

शेरबहादुर शाही, अध्यक्ष, शिवालय गाउँपालिका
वडाबाट आएको विवरणलाई प्रशासनमा पठाएका छौँ, यीमध्ये पनि कसैका दुईवटा घर हुन सक्छ, कोही लाभग्राही सूचीमै नपरेका पनि हुन सक्छन् । त्यसैले फेरि फाराम भर्न लगाएर वास्तविक पीडितलाई अनुदान दिन्छौँ, यसका लागि दुई–तीन दिन लाग्न सक्छ ।

शिवालय गाउँपालिकामा पहिलो दिन तीन हजार तीन सय नौ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले बताए । उनका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले आठ करोड २७ लाख २५ हजार पठाइएको छ ।

पालिकाले भने लाभग्राहीको विवरण पुनः पहिचान गरी रकम वितरण गर्ने जनाएको छ । शुक्रबारदेखि नै यो प्रक्रिया थालिने पालिका अध्यक्ष शेरबहादुर शाहीले बताए । ‘वडाबाट आएको विवरणलाई प्रशासनमा पठाएका छौँ, यीमध्ये पनि कसैका दुईवटा घर हुन सक्छ, कोही लाभग्राही सूचीमै नपरेका पनि हुन सक्छन्,’ उनले भने, ‘त्यसैले फेरि फाराम भर्न लगाएर वास्तविक पीडितलाई अनुदान दिन्छौँ, यसका लागि दुई–तीन दिन लाग्न सक्छ ।’ 

जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले अन्य स्थानीय तहबाट भने लाभग्राही विवरण प्राप्त हुन नसकेको बताए । विवरण प्राप्त भएलगत्तै स्थानीय तहमा रकम पठाइने बताए । शुक्रबारदेखि अन्य तहबाट पनि लाभग्राही विवरण आउने उनको विश्वास छ । 

जाजरकोटमा ३४ हजार चार ९८ घरमा भूकम्पले क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ । जसमध्ये नौ हजार सात सय ९४ घरमा पूर्ण र २४ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको छ । 

रुकुम पश्चिमका स्थानीय तहमा साढे २१ करोड गयो 
जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले रुकुम पश्चिमका स्थानीय तहमा भने मंगलबारदेखि नै पहिलो किस्ताको रकम पठाउन थालेको थियो । बिहीबारसम्म २१ करोड ४६ लाख २५ हजार रुपैयाँ पुगेको छ । बिहीबार मात्रै आठबिसकोट र चौरजहारी नगरपालिका तथा त्रिवेणी गाउँपालिकाका लागि १८ करोड ९२ लाख ७५ हजार पठाइएको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार सबैभन्दा बढी आठबिसकोटमा चार हजार लाभग्राहीका लागि दश करोड, चौरजहारीमा दुई हजार पाँच सय ११ लाभग्राहीका लागि ६ करोड २७ लाख ७५ हजार र त्रिवेणी गाउँपालिकामा एक हजार ६० लाभग्राहीका लागि दुई करोड ६५ लाख रकम गएको छ । 

अहिलेसम्म गएको रकम पनि आठबिसकोटमै सबैभन्दा धेरै छ । त्यहाँ चार हजार पाँच सय परिवारका लागि ११ करोड २५ लाख रुपैयाँ पठाइएको छ । त्यस्तै, चौरजहारी नगरपालिकामा दुई हजार पाँच सय ११ परिवारका लागि ६ करोड २५ लाख ७५ हजार, त्रिवेणी गाउँपालिकामा एक हजार एक सय २४ परिवारका लागि दुई करोड ८१ लाख र सानीभेरी गाउँपालिकामा चार सय ५० परिवारका लागि एक करोड १२ लाख ५० हजार पहिलो किस्ताबापत गएको बढुवालले बताए । 

तीन दिनमा जिल्लाभरमा गरेर आठ हजार पाँच सय ८५ लाभग्राहीलाई जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषबाट पहिलो किस्ता स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा गएको छ । स्थानीय तहले लाभग्राही यकिन गरेर जिल्लामा पठाइरहेका छन् भने त्यसका आधारमा जिल्लाबाट धमाधम पहिलो किस्ता स्थानीय तहमा गइरहेको छ । 

स्थानीय तहहरूले पनि कोषमा आएको रकम धमाधम वितरण गरिरहेको बताएका छन् । त्रिवेणी गाउँपालिकामा बुधबार नै ६४ परिवारलाई वितरण गरिएको थियो । अन्य पालिकाले पनि वितरण प्रक्रिया सुरु भएको जनाएका छन् । आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले शुक्रबारबाट अनुदान वितरणको काम सुरु हुने बताए । रुकुम पश्चिममा २६ हजारभन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । अस्थायी आवासका लागि सरकारले रुकुम पश्चिम र जाजरकोटका लागि ५०–५० करोड पठाएको छ ।