Skip This
जलवायु परिवर्तनबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
नेपाल–दुबई बिजनेस फोरमको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड
२o८o मङ्सिर १५ शुक्रबार o६:३३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जलवायु परिवर्तनबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार o६:३३:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । कोप– २८ मा भाग लिन दुबई पुगेका प्रधानमन्त्री प्रचण्डले क्षतिपूर्तिका विषयमा पनि कुराकानी गर्ने बताएका छन् । 

स्वागतका लागि युएईस्थित नेपाली राजदूतावासमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेको असरबारे पनि विश्व समुदायको ध्यानाकर्षण गराउने जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा माग्नेका रूपमा नभएर अधिकारका रूपमा आफ्ना एजेन्डा राख्ने तयारीका साथ आफू आएको पनि जानकारी दिए । 

संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गरेको स्वागत कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले कोप– २८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको क्षतिपूर्तिको रूपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढंगबाट उठाउने जानकारी दिए । 

नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भइरहेको जानकारी दिए । विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताए । 

युएईका लागि नेपाली राजदूत क्षेत्रीले युएई र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्न सके नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप– २८)मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधबार राति संयुक्त अरब इमिरेट्स पुगेका थिए । जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा पारेको प्रभावको एजेन्डा लिएर प्रधानमन्त्री प्रचण्ड दुबई पुगेका हुन् । प्रचण्डले सम्मेलनलाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ । 

कोप– २८ सम्मेलन बिहीबार युएईको दुबईमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्ड मंसिर १५ र १६ मा ‘वल्र्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुने कार्यक्रम छ । युएई भ्रमणका वेला उनी युएईको ५२औँ एकता दिवसमा आयोजित समारोहमा सहभागी हुने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्डले जलवायु सम्मेलनकै दौरानमा उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्न लागेका छन् । ‘हिमालको आवाज : हामीलाई जलवायु संकटबाट कसले बचाउँछ ?’ शीर्षकको कार्यक्रममा सहभागी हुन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितलाई निमन्त्रणा गरिएको परराष्ट्र स्रोतले जनाएको छ ।

हिमालको एजेन्डालाई कोप सम्मेलनका वेला छलफलको प्रक्रियामा ध्यानाकर्षण गराउन नेपालले यो कार्यक्रम आयोजना गर्न लागेको हो । संयुक्त राष्ट्रसंघीय महासचिव गुटेरेसले हालसालै नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तनले हिमाल तथा हिमाली जनजीवनमा पारेको प्रभावको प्रत्यक्ष अवलोकन गरेपछि नेपालबारे अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान खिचिएको छ ।