मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १७ बिहीबार
  • Thursday, 29 February, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० मङ्सिर १४ बिहीबार ०५:५९:००
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : क्रोधको ताप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० मङ्सिर १४ बिहीबार ०५:५९:००

आदि शंकराचार्य र मण्डन मिश्रबीच लगातार १६ दिनसम्म शास्त्रार्थ चल्यो । शास्त्रार्थमा निर्णायकको भूमिकामा थिइन् मण्डन मिश्रकी विदुषी धर्मपत्नी देवी भारती । शास्त्रार्थ चलिरहेको थियो । हारजितको फैसला हुन बाँकी नै थियो । यसैबीच कुनै विशेष अत्यावश्यक कामका कारण केही समयका लागि देवी भारतीलाई बाहिर कतै जानुपर्ने भयो । त्यसैले, बाहिर जानुअघि दुवै विद्वान्को गलामा कोमल फूलको माला लगाइदिँदै उनले भनिन्– हे विद्वान् महाशय, म अत्यावश्यक कामका लागि केही समयका लागि बाहिर जाँदै छु । त्यसैले, मेरो अनुपस्थितिमा तपाईंहरूको हारजितको फैसला यही मालाले गर्नेछ । तपाईंहरू आआफ्नो शास्त्रार्थ जारी राख्न सक्नुहुन्छ । 

यति भनेर निर्णायक देवी भारती शास्त्रार्थ स्थलबाट बाहिरिइन् । दुवै विद्वान्बीचको शास्त्रार्थ चलिरह्यो । केही समयपछि आफ्नो काम पूरा गरेर भारती फर्किइन् । उनले पालैपालो आदि शंकराचार्य र मण्डन मिश्रलाई हेरिन् र निर्णय सुनाइन् । उनले भनिन्– शास्त्रार्थ सभामा उपस्थित विद्वज्जन, यहाँ चलिरहेको यस शास्त्रार्थमा आदि शंकराचार्य विजयी हुनुभएको छ र मण्डन मिश्र पराजित हुनुभएको छ । 

निर्णायक देवी भारतीको अचानकको घोषणाले सबै दर्शक आश्चर्यमा परे– कुनै आधारविनै यी विदुषीले आफ्नै पतिलाई पराजित गर्ने गरी कसरी निर्णय सुनाइदिइन् ? यसैबीच एक विद्वान्ले निर्णायक देवी भारतीसित विनम्रतापूर्वक सोधे– हे देवी ! तपाईं त यो शास्त्रार्थको बीचमै बाहिर जानुभएको थियो । अहिले फर्किनासाथ तपाईंले केका आधारमा कसरी निर्णय सुनाउनुभयो ? 

देवी भारतीले मुसुक्क मुस्कुराउँदै जवाफ दिइन्– जब कुनै पनि विद्वान् शास्त्रार्थमा पराजित हुन लाग्छ, जब उसलाई आफ्नो हार निश्चित लाग्न थाल्छ, त्यतिखेर ऊ निकै क्रुद्ध हुन पुग्छ । उसको शरीर क्रोधको तापले भित्रभित्रै जल्न थाल्छ । यहाँ पनि मेरा पतिको माला उहाँको क्रोधको तापबाट सुकिसकेको थियो । जब कि शंकराचार्यजीको माला भने जस्ताको तस्तै थियो । यसैका आधारमा मैले यो निर्णय सुनाएकी हुँ । सबैले ताली बजाएर उनको निर्णयको समर्थन गरे ।