Skip This
श्रीमती र बुहारीको हत्या आरोपमा पक्राउ परेका श्रीमान् र ससुरा सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १३ बुधबार o९:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रीमती र बुहारीको हत्या आरोपमा पक्राउ परेका श्रीमान् र ससुरा सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार o९:३४:oo

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै वेला सिराहाको दुई छुट्टाछुट्टै ठाउँबाट दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई सार्वजनिक गरेको छ ।

सिराहा नगरपालिका- १५ सुखचैना गाउँका करिब ४० वर्षीय देवेन्द्र यादवलाई उनकी श्रीमती र कल्याणपुर नगरपालिका- ८ बडकी मझाउ टोलका ५१ वर्षीय रामअशिष दासलाई बुहारीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउपछि सार्वजनिक गरिएकाे जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहा प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार ७ मंसिरमा ३० वर्षीया श्रीमती सञ्जिताकुमारी यादवलाई बाँसको भाटा र इँटा प्रहार गरी हत्या गरेको आरोपमा यादवलाई प्रहरी चौकी खिरौना, इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त प्रहरी टोलीले माडरको बोर्डर क्षेत्रबाट मंसिर ९ गते पक्राउ गरेको थियो । मंसिर ९ गते पक्राउ परेका यादवलाई प्रहरीले  मंसिर १२ गते मात्रै सार्वजनिक गरेकाे हो ।

हत्यापछि उपचारको बहानामा शव भारतमा 
प्रहरीका अनुसार ७ मंसिरको राति करिब १० बजेतिर देवेन्द्रले श्रीमती सञ्जितालाई आफ्नै घरमा बाँसको भाटा र इँटाले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटपछि उपचार गराउँछु भन्दै भारत लगेको भन्ने छिमेकीले सूचना दिएपछि ८ मंसिरको बिहान सुखचैना पुगेको प्रहरीले थप अनुसन्धान गर्दा कुटपिटको क्रममै मृत्यु भएलगत्तै उपचार गराउने बहानामा शव भारततिर लगेको पुष्टि भएपछि भारतीय प्रहरीकाे समन्वयमा फरार रहेका देवेन्द्रको खोजतलास तीव्र पारिएकाे थियाे ।

खोजतलासका क्रममा देवेन्द्रलाई माडर क्षेत्रबाट पक्राउ गरिएकाे थियाे । पक्राउ परेका देवेन्द्रलाई प्रहरीले सोधपुछ गर्दा श्रीमतीको शव नेपाल–भारत सीमा क्षेत्रबाट करिब ३०–३५ किलोमिटर भित्र भारतको मधुवनी जिल्लाको खजोली थानाअन्तर्गत सलरा भन्ने ठाउँमा रहेको झाडीमा फालेको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।  

प्रहरीका अनुसार भारतीय प्रहरीसँग समन्वय गरी मृतक सञ्जिताको शव खोजी गर्ने क्रममा १० मंसिरको बिहान करिब ९ बजेतिर सलरा भन्ने स्थानमा फेला परेपछि घटनाको विषयमा थप अनुसन्धानसहित भारतीय प्रहरीसँगको समन्वयमा सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शव झिकाइएको थियो ।

आफ्नै श्रीमतीको हत्यामा संलग्न रहेको आरोपमा देवेन्द्रलाई ९ मंसिरदेखि लागू हुने गरी सिराहा अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको सिराहा प्रहरीले जनाएको छ ।

बन्चरो प्रहार गरी बुहारीको हत्या

यसैगरी, सिराहाको कल्याणपुर नगरपालिका- ८ बडकी मझाउ टोलका राजकिशोर दासकी श्रीमती संगीताकुमारी दासको गत २७ कात्तिकमा हत्या गरेको आरोपमा प्रहरीले मृतकका ससुरा ५१ वर्षीय रामअशिष दासलाई पक्राउपछि सार्वजनिक गरेको छ । 

प्रहरीका अनुसार छोरा मेला हेर्न गएका वेला घरायसी विवादको क्रममा बुहारीको टाउकोमा बन्चरो प्रहार गर्दा संगीताको घटनास्थलमै मृत्यु भएको थियो । बुहारीको मृत्यु भएपछि फरार रहेका आरोपी दासलाई १ मंसिरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

बुहारीको हत्यापछि लुकिछिपी बस्दै आएका दासलाई इलाका प्रहरी कार्यालय मिर्चैया र मातहतको कल्याणपुर प्रहारीको संयुक्त टोलीले खोजतलासको क्रममा १ मंसिरमा पक्राउ गरेको हो । 

सिराहा जिल्ला अदालतबाट १ मंसिरमा पक्राउ पुर्जी जारी गरिएका दासलाई त्यही दिन पक्राउ गरिएपछि मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।